उम्मेदवार छनाेटपछि रुपन्देही कांग्रेसमा विवाद – Nepal Press

उम्मेदवार छनाेटपछि रुपन्देही कांग्रेसमा विवाद

मिश्रले भने- लोकतान्त्रिक पार्टीको अलोकतान्त्रिक अभ्यास भयो ।

रुपन्देही । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोटको विषयलाई लिएर नेपाली कांग्रेस रुपन्देहीमा विवाद उत्पन्न भएको छ । रुपन्देही क्षेत्र नम्बर ४ मा उम्मेदवारको नाम सिफारिस गर्ने विषयमा उत्पन्न विवाद सार्वजनिक रुपमै बाहिर आएको छ ।

कांग्रेस क्षेत्रीय महाधिवेशन प्रतिनिधि आशुतोष मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले काँग्रेसभित्र ‘लोकतान्त्रिक पार्टीको अलोकतान्त्रिक अभ्यास भएको आरोप लगाएका छन् ।’ प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने क्रममा रुपन्देही क्षेत्र नं. ४ बाट एकलौटीरुपमा प्रमोद यादवको नाम सिफारिस गरी आफ्नो नाम हटाएकोमा उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘म स्वयं पनि आफ्नो उम्मेदवारीको आवेदन पार्टीद्वारा जारी मापदण्डअनुसार क्षेत्रीय सभापतिलाई बुझाएको थिएँ, तर त्यसलाई फालियो र एकलौटी नामहरु सिफारिस गरियो,’ मिश्रले विज्ञप्तिमा लेखेका छन, ‘भ्रष्ट, कमजोर, लोभी र अति नै निम्नस्तरीय प्रकृतिको सिफारिसको घोर निन्दा गर्दैछु ।’ यहाँबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाका लागि कांग्रेस नेता प्रमोद यादवको एकल नाम सिफारिस गरिएको छ भने प्रदेशसभाका लागि अष्टभुजा पाठक र बसिउद्दिन खाँको नाम सिफारिस भएको छ । न्युनतम ३ जनालाई उम्मेदवार छनोटका लागि सिफारिस गर्न मिल्ने भएपनि एकलौटी रुपमा गुटबन्दी गरेर आफ्नो नामलाई छलफलमै नलगी फालिएको मिश्रको आरोप छ । ‘यस क्षेत्रमा अनौठो किसिमको गुटबन्दी छ’, उनले भने, ‘पार्टीको विधान, नियम र कानून विपरीत पहुँचको भरमा अलोकतान्त्रिक निर्णय भएको छ ।’

पार्टीको विधि र प्रक्रियामा चल्नुपर्नेमा जोड दिँदै आएका मिश्रले स्थानीय तहको निर्वाचनमा समेत गुटबन्दी र अन्तरघात भएको आरोप लगाउँदै आएका छन् । स्थानीय तह निर्वाचनमा मर्चवारी गाउँपालिकामा कांग्रेसका आधिकारिक उम्मेदवारलाई सहयोग नगरी अन्यलाई सहयोग गरेको भन्दै आरोप लगाउँदे आएका छन् ।

टिकट नपाउने भएपछि कांग्रेस त्यागेर हृदेयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेका गयाप्रसाद बरैलाई पार्टी नेताहरु प्रमोद यादव लगायतले सहयोग गरेको उनले आरोप लगाउँदै आएका छन् । स्थानीय निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवार ज्ञानप्रकाश मिश्र पराजित भएका थिए भने गयाप्रसाद बरै विजयी भएका हुन् । स्थानीय तहको निर्वाचनमा देखिएका असन्तुष्टिहरुलाई समेत काँग्रेस नेता मिश्रले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर