‘हुने विरुवाको चिल्लो पात’ भन्दै राजेशपायलले गाए हर्क साम्पाङको स्तुतिगान, यस्तो छ लिरिक्स – Nepal Press

‘हुने विरुवाको चिल्लो पात’ भन्दै राजेशपायलले गाए हर्क साम्पाङको स्तुतिगान, यस्तो छ लिरिक्स

काठमाडौं । फेसबुकमा फजुल अभिव्यक्तिहरुका कारण तीव्र आलोचना खेपिरहेका धराने मेयर हर्क साम्पाङको प्रतिरक्षामा गीत तयार गरिएको छ । साम्पाङको स्तुति गाइएको यस गीतलाई चर्चित गायक राजेशपायल राईले स्वर दिएका छन् ।

आलोक चाम्लिङले लेखेको गीतमा मनोज साङसनले संगीत भरेका छन् । गायनमा राजेशपायललाई शशी किराँतीले साथ दिएकी छन् । स्टुडियो किङ युट्यूव च्यानलबाट आजै यो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक भएलगत्तै साम्पाङले फेसबुकबाट धन्यवाद दिइसकेका छन् ।

हर्क साम्पाङमाथि राजेशपायल र शशीले गाएको यो दोस्रो गीत हो । यसअघि ‘पाएँ हर्क साम्पाङ…’ बोलको गीत डेढ महिनाअघि सार्वजनिक गरिएको थियो ।

उक्त गीतले हालसम्म करिब २ लाख भ्यूज पाइसकेको छ । त्यसकै दोस्रो संस्करणका रुपमा ‘सलाम हर्क साम्पाङ’ अहिले ल्याइएको हो । यसमा हर्क साम्पाङलाई नेपालीको शिर, राष्ट्रको गौरव, हुने विरुवाको चिल्लो पात लगायत संज्ञा दिइएको छ ।

गीतका केही शब्द यसप्रकार छन्ः

नेपालीको शिर तिमी
तिमी हाम्रो गौरव
देशै खुशी भयो आज
देखेर तिम्रो पौरख
धरान मात्र होइन तिमीले ्
नेपाल बनाउनु छ
नेपालीको छोरा तिमी
विश्व चिनाउनु छ
जय जय गोर्खाली
जय हर्क साम्पाङ
तीन करोड नेपालीको
सदा तिमीलाई सलाम

०००

ठूला ठूला नेताहरु आउनु सर्दुखोला
हुने विरुवाको चिल्लो पात हेर्नुहोला
उनी देशका राष्टभक्त
खट्छन् दिन रात
केही सिकौं केही बुझौं
हर्क साम्पाङबाट
माटो छामी बास्ना लेउ
उसकै बास्ना आउँछ
पसिनाले भिज्दा पनि
उनकै झल्को लाउँछ
छैन उसमा केही अहंकार
छैन कुनै दम्भ
देशकै निम्ति लडिबस्छ
सास रहेसम्म

०००

नेपालीको मनमा बसी तनमा रमाइदिनु
तिमी नै हौ देशका सपुत देश बचाइदिनु
तिमी रहे देश रहन्छ, देश रहे जनता
नबिर्सनु कैले तिमीले जनताको ममता
जयजय गोर्खाली जय हर्क साम्पाङ
जयजय नेपाली जय हर्क साम्पाङ
तीन करोड नेपालीको सदा तिमीलाई सलाम

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *