नेपालको संसदीय राजनीतिमा इतिहास बनेका यी चार पार्टी – Nepal Press

नेपालको संसदीय राजनीतिमा इतिहास बनेका यी चार पार्टी

इटहरी । नेपालमा कुनै पार्टी कमजोर भएको छ वा संसदीय व्यवस्थामा कमजोर भएर नामेट हुन लागेको अर्थ दिनुछ भने भन्ने चलन छ- यो पार्टी अब प्रजा परिषद हुन्छ । यहाँ जोडिएको प्रजा परिषदको विम्बको अर्थ छ । नेपालको पहिलो राजनीतिक दल भएर पनि प्रजा परिषदले आफ्नो अस्तित्व रक्षा गर्न सकेन । त्यही नकसेको विम्बको रुपमा प्रजा परिषदको नाम धेरैले लिने गर्छन् ।

तर, नेपालमा संसदीय व्यवस्थामा कुनै बेला बलियो उपस्थिति जनाए पनि नामेट भएका दलहरुको सूचीमा प्रजा परिषदमात्रै एक्लो उदाहरण होइन । अरु पनि केही स्थापित पार्टीहरु छन् । जुन संसदमा आउन सकेका छैनन् वा अस्तित्वमै छैनन् । यी हुन् नेपालको संसदमा कुनै बेला दमदार भएर पनि हाल गुमनाम दलहरुः

१) राष्ट्रिय गोरखा परिषद

नेपालको प्रथम आम निर्वाचनमा नेपाली कांग्रेसले कुल १०९ क्षेत्रमा ७४ सीट ल्याएर दुईतिहाई जनमत बटुलेको थियो । पहिलो संसदमा १९ सीटसहित राष्ट्रिय गोरखा परिषद प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको थियो । गोरखा परिषदका निर्वाचित १९ सांसद निम्न छन् :

१) नरबहादुर थापा

२) गुणनिधि शर्मा

३) सुरेन्द्रनाथ उपाध्याय

४) तीर्थमान लामा

५) हर्षजीत लामा

६) मृगेन्द्रशमशेर राणा

७) विष्णुप्रसाद उप्रेती

८) बेनीबहादुर कार्की

९) दुर्गानन्दप्रसाद

१०) मुनिलाल थारु

११) ताराप्रसाद उपाध्याय

१२) इन्द्रसिंह रावल

१३) हरिदत्त पाध्या

१४) विश्वनाथ सुवेदी

१५) कोमलबहादुर कुँवर

१६) ललितबहादुर घले

१७) भरतशमशेर जबरा

१८) देववीर पाण्डे र

१९) भीमबहादुर कार्की ।

पहिलो संसदीय चुनावमा प्रमुख प्रतिपक्षी दलको रुपमा सानदार इन्ट्री गरेको राष्ट्रिय गोरखा परिषदले २०४८ को चुनावमा कुनै अस्तित्व देखाउन सकेन । किनभने २०१७ सालको महेन्द्रको कदमपछि जेलबाट निस्केर कोलकाता पुगेका विपक्षी दलका नेता भरतशमशेरले नेपाली कांग्रेसका कार्यवाहक सभापति सुवर्णशमशेरसँग सल्लाह गरेर नेपाली कांग्रेससँग गोरखा परिषद विलय गराएका थिए ।

कांग्रेसमा विलयपछि कांग्रेसको राजनीतिमा परिषदका सांसद तथा नेताहरु जम्न सकेनन् ।

२) संयुक्त प्रजातन्त्र पार्टी

२०१५ सालको चुनावमा ठूलो हल्ला बटुलेको पार्टी हो संयुक्त प्रजातन्त्र पार्टी । त्यसका अध्यक्ष थिए डा. केआई सिंह । अमेरिकी अखबारले समेत चर्चा गरेका सिंहले चुनावमा हारे । तर, उनको पार्टीबाट लोचनशमशेर थापा, त्रिवेणी कुर्मी, काशीप्रसाद श्रीवास्तव, वासुदेव तिवारी र धीरबहादुर गुरुङ सांसद भएका थिए ।

नेपाली कांग्रेसको राजनीति गरेका सिंहले दिल्ली सम्झौतामा विमति जनाएका थिए । सिंहदरबार विद्रोह गराउने नाममा पनि उनी चिनिन्छन् । उनै सिंहको पार्टी अहिले संसदीय अस्तित्वमा छैन ।

३) नेपाल प्रजा परिषद

नेपालको प्रजातान्त्रिक आन्दोलनमा सबैभन्दा पहिले संघर्ष गर्ने दल प्रजा परिषद हो । राणाले फाँसी दिएका चार सहिद दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री सबै प्रजा परिषदकै नेता-कार्यकर्ता थिए । गणेशमान सिंह जस्ता कांग्रेसका हस्तीसमेत प्रजा परिषदबाटै राजनीतिमा जोडिएका थिए ।

२०१५ सालको चुनावमा प्रजा परिषदको तीन सीट आएको थियो । संस्थापक अध्यक्ष टंकप्रसाद आचार्यले हारेको चुनावमा जीतबहादुर कार्की, तस्तार राय र शेख इद्रिसले जितेका थिए । पछि इद्रिस नेपाली कांग्रेस प्रवेश गरे । नेपालको पहिलो पार्टी र पहिलो संसदमा उस्थिति जनाएको प्रजा परिषदको अस्तित्व अहिले नेपालको राष्ट्रिय राजनीतिमा छैन ।

४) नेपाल सद्भावना पार्टी

२०४६ सालको जनआन्दोलनपछि नेपाली राजनीतिमा तराईको एक बलियो दलको रुपमा आएको पार्टी थियो नेपाल सद्भावना पार्टी । सद्भावना पार्टीले २०४८ सालको चुनावमा केही सीट जितेको थियो । जित्नेहरुमा गजेन्द्रनारायण सिंह, हृदयेश त्रिपाठी, त्रियुगीनारायण चौधरी, सन्तप्रसाद चौधरी, श्यामसुन्दर गुप्ता र मिर्जा दिलसाद वेग थिए ।

२०५१ सालको चुनावमा पनि सद्भावनाले संसदमा उपस्थिति जनाएको थियो । २०५१ मा चुनाव जित्नेहरुमा गजेन्द्रनारायण सिंह, अनिश अन्सारी र हृदयेश त्रिपाठी थिए । २०५६ सालमा पनि सद्भावनाबाट मृगेन्द्रकुमार सिंह, बद्रीप्रसाद मण्डल, राजेन्द्र महतो, हृदयेश त्रिपाठी र यज्ञजीत शाह निर्वाचित भएका थिए ।

२०६४ सालको पहिलो संविधानसभा चुनावमा सद्भावनाबाट महेशप्रसाद यादव र राजेन्द्र महतो विजयी भएका थिए । २०७० सालको संविधानसभा चुनावमा पनि सद्भावना पार्टीको उपस्थिति थियो । सञ्जयकुमार शाह २०७० मा एक्ला प्रत्यक्ष निर्वाचित सांसद भए । यो चुनावपछि प्रत्यक्ष र समानुपातिक चुनावमार्फत संसदमा सद्भावनाको उपस्थिति भएन । अहिले यसका नेताहरु विभिन्न दलमा आबद्ध छन् । तर, सद्भावनाको अस्तित्व संसदमा छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर