‘म्यान अफ द होल’ को मृत्‍यु, नासियो एक आदिवासी समूह – Nepal Press

‘म्यान अफ द होल’ को मृत्‍यु, नासियो एक आदिवासी समूह

काठमाडौं । ब्राजिलको एक आदिवासी समूहका अन्तिम सदस्यको मृत्‍यु भएको छ । मृत्‍यु भएका ती व्यक्तिको नाम खुलाइएको छैन । तर जनावरलाई पासोमा पार्न तथा आफू लुक्न खाल्डो खन्ने भएको हुँदा उनलाई ‘म्यान अफ द होल’ भनेर चिन्ने गरिन्थ्यो ।

विगत २६ वर्षदेखि एकान्तबासमा रहेका उनको शव गत साता उनी बस्ने झुप्रो बाहिरको झोलुङ्गामा भेटिएको बीबीसीले जनाएको छ । उनी ब्राजिलको एक आदिवासी समूहका अन्तिम सदस्य थिए । सो समूहका अन्य सदस्यको सन् १९९५ मै मृत्‍यु भएको थियो ।

पशुपालन गर्ने समूहले आफ्नो क्षेत्र विस्तार गर्ने क्रममा सन् १९७० को दशकमा यो आदिवासी समुदायका अधिकांश सदस्यको हत्या गरेको मिडिया रिपोर्टमा उल्लेख छ । म्यान अफ द होलको सुरक्षा गर्न सन् १९९६ यता ब्राजिलको आदिवासी मामिला निकायले उनको निगरानी गर्दै आएको थियो । उक्त निकायले सन् २०१८ मा उनको भिडिओसमेत खिचेको थियो ।

ब्राजिलमा हाल २४० वटा आदिवासी समुदाय छन् । उनीहरुलाई गैरकानूनी खानी सञ्चालक, काठ तस्कर र उनीहरूको क्षेत्र मिच्न खोज्ने किसानहरूबाट खतरा रहेको बीबीसीले जनाएको छ । म्यान अफ द होलको मृत्‍यु भने प्राकृतिक भएको प्रारम्भिक निष्कर्ष छ । मृत्‍युको यथार्थ कारण भने पोस्टमार्टमपछि मात्र थाहा हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर