जलवायु परिवर्तनको प्रभाव : पाकिस्तानको एकतिहाइ क्षेत्र डुबानमा – Nepal Press

जलवायु परिवर्तनको प्रभाव : पाकिस्तानको एकतिहाइ क्षेत्र डुबानमा

काठमाडौं । पाकिस्तानकी जलवायु परिवर्तनमन्त्री शेरी रहमानले मनसुन बाढीका कारण हाल पाकिस्तानको एकतिहाइ क्षेत्र डुबानमा परेको बताएकी छिन् ।

पाकिस्तानमा पछिल्लो केही समयदेखि परेको वर्षा र त्यसपछिको बाढीले सडक, अस्पताल, स्कुललगायतका पूर्वाधारहरुमा ठूलो क्षति पुगेको छ । जुन महिनादेखि हालसम्म मनसुनी बाढीले ज्यान गुमाउनेको संख्या १ हजार १३६ पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा मात्र ७५ जनाको मृत्‍यु भएको छ ।

‘पाकिस्तान ठूलो समुद्र जस्तो बनेको छ । यहाँबाट पानी पम्प गरेर फाल्ने ठाउँ पनि कतै छैन । यो हामीले कल्पना गरेभन्दा ठूलो संकट हो’, शेरीलाई उध्दृत गर्दै बीबीसीले लेखेको छ । उनी थप्छिन्, ‘शाब्दिक रूपमा पाकिस्तानको एकतिहाइ क्षेत्र अहिले पानीमुनि छ । हामीले विगतमा यस्तो कहिल्यै देखेका थिएनौं ।’

सरकारी अनुमानका अनुसार हाल पाकिस्तानका ३ करोडभन्दा बढी मनसुनी बाढीका कारण प्रभावित भएका छन् । सिन्ध, बोल्चिस्थानलगायतका क्षेत्र बाढीबाट बढी प्रभावित छन् । अन्य क्षेत्रमा पनि बाढीले क्षति पुर्‍याएको छ । हालको बाढी सन् २०१० पछिको सबैभन्दा विनाशकारी हो ।

सन् २०१० मा पाकिस्तानमा बाढीको कारण २ हजारभन्दा बढीको मृत्‍यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर