हाम्रोबजार डटकमको नाउँमा ‘कोठा मिलाइदिन्छु’ भन्दै ठगी धन्धा – Nepal Press

हाम्रोबजार डटकमको नाउँमा ‘कोठा मिलाइदिन्छु’ भन्दै ठगी धन्धा

काठमाडौं । एक महिनाअघि सम्राट पराजुलीलाई झम्सिखेल क्षेत्रमा कोठा आवश्यक पर्‍यो । कोठा खोज्ने झमेलाबाट उन्मुक्ति पाउन अनलाइन साइटहरु चहार्न थाले । त्यसै क्रममा हाम्रोबजार डटकममा पुगे । पराजुलीको नजर हाम्रोबजारमा हालिएको रुम हबमा पर्‍यो । प्यान नम्बर पनि राखिएको थियो ।

प्यान नम्बर देखेपछि त्यहाँ उपलब्ध नम्बर ९७४५३२५६९४ मा फोन गरे । नम्बर थियो वीना भट्टराई ढकालको । ढकालले ह्वाट्स एपमा अनलाइन फर्मको लिंक https://4or7.short.gy/AT60il पठाइन् । पराजुलीले फर्म भरे । फर्म भरेपछि एभरेस्ट बैंकको ०४५००५०१२०५११२ नम्बरको अकाउण्टमा पैसा हाल्न भनिन् । पराजुलीले कोठा देखाउने सर्तमा ५०० रुपैयाँ हालिदिए ।

तर, पैसा हालेको एक मिनेटमै ढकालको फोन अफ भयो । निरन्तर सम्पर्क गर्दा पनि फोन नउठेपछि पराजुलीले ५०० रुपैयाँ माया मारे । पराजुली भन्छन्, ‘जति फोन गरे पनि लाग्दैन । ह्वाट्सएपमा पनि ब्लक गरिन् । यसपछि फोन नै गर्न छाडे ।’

‘५०० रुपैयाँ त हो नि’ भनेर पैसाको माया मार्ने पराजुली न एक्ला पीडित हुन् न त ढकालले पराजुली एक्लैलाई ठगेकी छन् । ढकालको ‘५००’ ठगी श्रृंखला यति लामो छ कि कति मान्छेलाई ठगिसकेकी छन् भनेर यकिन तथ्यांक छैन । नेपालप्रेसको सम्पर्कमा आएका धेरैजसो पीडितहरु ढकालबाटै ठगिएका छन् ।

ढकालबाटै तीन महिनाअघि ठगिएकी एक पीडित हुन् रञ्जु साह । विद्यार्थी साह सञ्जालमा शंखमूलमा फ्ल्याट छ भन्ने विज्ञापन देखेपछि ढकालको सम्पर्कमा पुुगिन् । पराजुलीलाई जसरी नै ढकालले पैसा हाल्न भनिन् एनआईसी एसिया बैंकमा । अकाउण्ट नम्बर ०१७५७५१२१३९७७००१ पनि पठाइन् । र थप भनिन्, ‘बानेश्वरमा मेरो मान्छेले फ्ल्याट देखाइदिन्छ । त्यो चित्त बुझेन भने अर्को फ्ल्याट देखाइदिन्छ ।’

साहले भनिन्, ‘मोबाइल बैंकिङबाट भन्दा पनि अफिसमै आएर बुझाइदिन्छु ।’ तर, ढकालले आफ्नो अफिस बालाजुमा भएको र बालाजु आउन बताइन् । बानेश्वरबाट पाँच सय तिर्न बालाजु जाने झण्झट गर्नुभन्दा मोबाइल बैंकिङबाटै पठाउन सहज देखेर रञ्जुले एनआइसी बैंकमा पठाइन् । यसपछि रञ्जुले दिउँसो १ बजेतिर फ्ल्याट हेर्न जाने बताइन् । ढकालले ४ बजे भनिन् ।

तर, ४ बजे फोनमा आफू बिजी भएको बताइन् । रञ्जुलाई ब्लक गरिन् । यसपछि रञ्जुले अर्की साथीलाई त्यही नम्बरमा फोन गर्न लगाइन् । बालाजु अफिस भनेकी ढकालले रञ्जुकी साथीलाई डिल्लीबजारमा अफिस छ भनिन् । उनकी साथीलाई पनि त्यही फ्ल्याट खाली छ भनेर भनिन् ।

रञ्जु भन्छिन्, ‘मेरी साथीले पुलिसलाई खबर गर्छु भन्दा एक महिनासम्म समय हुन्छ भनी । त्यसपछि भएन भने पैसा रिटर्न हुन्छ भनेर भनी । अनि कल काटेर ब्लक गरी ।’

यसपछि रञ्जु सीआईबीमा पुगिन् । त्यहाँ ‘इमेल एड्रेस दिएर उजुरी हाल्नू’ भने । उनले नेपाल पुलिसको वेबसाइटमा उजुरी पनि हालिन् । तर, प्रत्युत्तर केही आएको छैन । रञ्जु भन्छिन्, ‘यसपछि म पनि आफ्नो काममा व्यस्त भएँ । किन त्यता लाग्नु भनेर लागिनँ ।’

ढकालबाटै पीडित नवीन अधिकारीलाई महाराजगञ्ज-बालुवाटार एरियामा कोठा चाहिएको थियो । १५-२० दिनअघि उनले हाम्रोबजार डटकममा रुम खोजे । त्यहाँ ढकालसँगै सम्पर्क भयो । ढकालले अधिकारीलाई पनि ह्वाट्स एपमा अनलाइन फर्म भर्न लिंक पठाइन् । ५०० एभरेस्ट बैंकमा हाल्न अकाउण्ट नम्बर र नाम पनि पठाइन् । कोठा हेर्न जानेवेला एकजनाको नम्बर दिन्छु भनेकी थिइन्, तर पैसा प्राप्त भएपछि ढकालले सबैतिर ब्लक ठोकिन् । अधिकारीले पनि पाँच सय त हो नि भनेर माया मारे ।

मोबाइल व्यवसायी निर्मल सिलवाल पनि तीन महिनाअघि कोठा खोज्ने क्रममा ढकालकै सम्पर्कमा पुगे । ग्वार्को, इमाडोलतिर सिलवाललाई कोठा चाहिएको थियो । अरुलाई जसरी नै ढकालले अनलाइन फर्म भर्न लगाइन् । पाँच सय मागिन् । एनआईसी एसिया बैंकको अकाउण्ट नम्बर र नाम पठाइन् ।

सिलवाल भन्छन्, ‘मलाई अर्को एक्स्ट्रा नम्बर पनि दिएको थियो । तर, पैसा पठाएपछि राम्रोसँग रेस्पोन्स गरेन । घरबेटीको नम्बर भनेर एउटा नम्बर पठाएकी थिई । त्यो नम्बरमा फोन गर्दा एक महिनाअघि नै कोठा गइसक्यो भने ।’

बसुन्धराका एस्टन दाहाल कोठा खोज्ने क्रममा एक फेसबुक ग्रुपमा पुगे । त्यहाँ पेप्सीकोला, जडिबुटीतिर कोठा चाहिएको बताए । लगत्तै एजेन्ट सम्पर्कमा आए । सम्पर्कमा आएकी एजेन्ट महिलाले पाँच सय पहिला नै मागिन् । उनले पाँच सय ई-सेवामा पठाइदिएर स्क्रिनसट भाइबरमा पठादिए । तर, यसपछि दाहालले पनि ब्लक खाए । अहिले अर्को ठाउँमा कोठा खोजेर सरिसकेका छन् ।

इन्टरनेटसम्बन्धी काम काम गर्ने अमृता थापाले रुम फाइण्डर काठमाण्डुमा कौशलटारतिर कोठा चाहिएको सूचना हालिन् । उनको सम्पर्कमा एजेन्ट आए । अनलाइन फर्म भरिन् । मानव सेवा आश्रम कार्यालयको बैंक खातामा पाँच सय हालिदिइन् । ९७४४२३२३६८ नम्बर भएको एजेन्टले घरबेटीको नम्बर पनि दिए । तर, कोठा गइसकेको जानकारी घरबेटीले दिए । यसपछि एजेन्ट भने अमृतालाई ब्लक ठोकेर बेपत्ता भए ।

घरबेटी नै तनावमा

डिल्लीबजारमा घर भएका ईश्वर डंगोललाई कोठा खोज्नेहरुको फोन कलले राम्रोसँग निदाउन पनि दिएको छैन । करिब तीन वर्षअघि एजेन्टहरुले डंगोलको फोन नम्बर लिएर गएका थिए । अहिले भने दैनिक १०–१२ कल डंगोलको फोनमा बज्ने गर्छ ।

एजेन्टहरुले कोठा खोज्नेहरुसँग पाँच सय लिएर घरबेटीलाई फोन गर्नु भनेर डंगोलको नम्बर दिन्छन् । तर, डंगोलको घरमा कोठा खाली भएको भने हुँदैन । डंगोल भन्छन्, ‘अरुबाट पाँच सय असुलेर मेरो नम्बर दिँदा रहेछन् । मलाई फोन गर्छन् । तर, कोठा खाली नै हुँदैन ।’

डंगोलका अनुसार एजेन्टहरुले पाँच सय लिएर मान्छेहरुलाई भुस बनाइरहेका छन् । डंगोललाई नै फोन गरेर कोठा बुझ्नेमध्येकी एक हुन् रेडियोकर्मी जेनिशा पाठक । गएको फागुनमा उनी कोठा खोजिरहेकी थिइन् । अनलाइनमा कोठा खाली भएको पोस्ट देखिन् ।

उक्त पोस्ट गरेका एजेन्टसँग सम्पर्क गरेर पाँच सय बुझाइन् । अनलाइनमा फर्म भरिन् । तर, त्यसपछि एजेन्टले उनलाई ब्लक ठोके । पाठक भन्छिन्, ‘पाँच सयका लागि के गर्नु भनेर ध्यानै दिइनँ । हतार पनि थियो ।’

जब ढकालबाट पीडित दशजना भेटिए…

निशा पहेलीले कलंकी साइडमा हाम्रोबजार डटकमबाट एक महिनाअघि कोठा खोजेकी थिइन् । उनले पनि एजेन्टलाई ई-सेवामा पाँच सय पठाइन् । त्यसपछि तुरुन्तै उनले ब्लक खाइन् ।

शिक्षण पेशामा सक्रिय पहेलीलाई एजेन्टले घरबेटीको नम्बर पनि दिएका थिए । उनले घरबेटीलाई फोन पनि गरिन् । घरबेटीले नै भने, ‘त्यो मान्छे ठग हो । दिनमै २०-३० मान्छेलाई ठग्छ । एक वर्षदेखि मलाई दुःख दिइरहेको छ । त्यस्तालाई कारबाही गर्नुपर्छ । म तिमीलाई सहयोग गर्छु ।’

तर, पहेलीले एजेन्टलाई फोन गर्न छाडेकी थिइन् । एक दिन अनामनगरको चिया पसलमा एकजना साथीसँग भेट भयो । उनले साथीलाई ब्रोकरले पैसा खाइदियो भनेर भनिन् । उनका साथी हाँसे । कुन नम्बर भनेर सोधे । उनले नम्बर बताइन् । नम्बर बताउँदामात्रै थाहा पाइन्, त्यहाँ चिया पसलमा भएका १० जना मान्छेलाई त्यही नम्बर भएका एजेन्टले ठगेका रहेछन् ।

पहेली भन्छिन्, ‘त्यसपछि मैले तुरुन्तै ई-सेवालाई फोन गरेँ । ई-सेवाले पैसा हालेको ३० सेकेण्डभित्रै त्यो अकाउण्टबाट अर्को बैंक खातामा ट्रान्सफर भइसक्यो भन्यो । तर, नम्बर ब्लक गर भन्दा गर्न नमिल्ने बतायो ई-सेवाले पनि ।’

हाम्रोबजार डटकममा ठगहरुको लर्को

एक साताअघि रंगकर्मी तथा मोडल इष्टु कार्की पनि ठगहरुको चंगुलमा परिन् । फ्ल्याट खोजिदिने भनेर हाम्रोबजारमा भेटिएका एजेन्टले उनको पनि पाँच सय खाइदिए । यसपछि ‘स्क्यामर’हरुबाट मान्छेहरुलाई सचेत गराउन फेसबुक लाइभमा आइन् । उनको फेसबुक लाइभमा अहिले ३० हजारभन्दा बढी लाइक आएको छ । एकहजारभन्दा बढी पीडितहरुले कमेन्ट गरेका छन् ।

प्रायः पीडितहरुले ढकालको नाम लिएका छन् । सँगै पीडितहरुले विक्रम कार्कीलगायत धेरैले ठगेको भनेर स्क्रिनसटसहित कमेन्ट गरेका छन् । आफ्नो लाइभमा आएका कमेन्टहरुले पीडितहरुको संख्या ठूलो भएको कार्की बताउँछिन् । भन्छिन्, ‘पाँच सय त हो नि भनेर छाडिदिन्छन् । तर, मेरो लाइभमै एक हजारभन्दा बढी पीडितहरु जोडिनुभएको छ । यसले के पुष्टि गर्छ भने ठगहरुले दैनिक सयौं मान्छे ठगिरहेका छन् ।’

हाम्रोबजार डटकममा कोठा खोजिदिने एजेन्टहरुकोे मात्रै बिगबिगी छैन । फ्ल्याटमेट भनेर फ्ल्याट सर्च गर्नेहरुको ताँती पनि उस्तै हुन्छ । सीमित कमाइबीचमा सहरमा गुजारा चलाइरहेकाहरु फ्ल्याटको भाडा शेयर गरेर बस्न पार्टनर खोज्छन् । कति त सही पार्टनर भेट्टाएर बसेका पनि छन् । तर, आर्थिक हिसाबले कम भार परे पनि त्यहाँ पनि ठगहरुकै बिगबिगी हुने गरेको पीडितहरुको गुनासो छ ।

फ्ल्याट शेयर गरेर बस्ने तर आफ्नो सामान केही नल्याउने, तीन महिनाको एड्भान्स बुझाउभन्दा नबुझाउने खालका मात्रै भेटिने पीडितहरुको भनाइ छ ।

अनलाइन फर्म बन्द, ढकालको फोन अफ

अहिले पीडितहरुले सामाजिक सञ्जालमा बोल्न थालेपछि ‘फर्म भर्नुस् र पाँच सय पठाउनुस्’ भन्दै अनलाइन फर्मको लिंक पठाउने ढकालको फोन अफ छ । उनको फोनमात्रै होइन, उनी भाइबर, ह्वाट्स एपमा पनि अफलाइन छिन् । यतिमात्रै होइन, उक्त अनलाइन फर्म पनि अहिले खुल्दैन ।

पीडितहरुका अनुसार अनलाइन फर्ममा कति जना सदस्य, कतिवटा कोठा, कतिदेखि कतिसम्म भाडालगायत सबै डिटेल बुझाउनुपर्छ । उक्त डिटेल फर्म भरेपछि र पाँच सय पठाइसकेपछि एजेन्टहरु ब्लक ठोकेर बेपत्ता हुने पीडितहरु बताउँछन् ।

१० जना पीडित आउनुभयो भने अनुसन्धान अगाडि बढाउँछौं : कृष्ण कोइराला

प्रवक्ता, महानगरीय अपराध महाशाखा

अहिलेसम्म त्यस्ता पीडितहरु आइसक्नुभएको छैन । तर, आउनुभयो भने ठगी गर्नेहरुविरुद्ध अनुसन्धानको प्रक्रिया अगाडि बढाउँछौं । सामाजिक सञ्जालहरुमार्फत् नै त्यस्ता ठगीको काम गरिरहेका होलान् । पीडितहरु हामीसम्म आइपुगेको खण्डमा त्यस्तो ठगी धन्धाका छिद्रहरु पहिचान गरेर ठगी गर्नेहरुलाई कानूनी दायरामा उभ्याउँछौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर