अक्षरमा पढ्नुहोस्, राष्ट्रपति भण्डारीलाई भावुक बनाएको गजुरेलको ‘विधवा’ प्रहसन – Nepal Press

अक्षरमा पढ्नुहोस्, राष्ट्रपति भण्डारीलाई भावुक बनाएको गजुरेलको ‘विधवा’ प्रहसन

काठमाडौं । प्रज्ञा प्रतिष्ठानमा आयोजित छोरी कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सबैलाई भावुक बनाएको कलाकार मनोज गजुरेलको ‘विधवा’ प्रसहनलाई जस्ताको तस्तै उतारेका छौं । अक्षरमा पढ्नुहोस्, राष्ट्रपति भण्डारीलाई भावुक बनाएको प्रभावशाली कलाकार गजुरेलको प्रस्तुति :

मेरो नाम इन्द्रमाया । तर, मेरो नाम र जिन्दगीको बीचमा गहिरो खाडल छ नानी । न कुनै इन्द्रको माया पाउन सकें न त कुनै यमराजको दया हुनसक्यो । बगैंचाको फूलजस्तो मेरो जिन्दगी २९ वर्षकै उमेर खडेरीमा झरेको पातजस्तो भयो । त्यसपछि म इन्द्रमाया होइन, विधुवा आमाको रुपमा चिनिन थालें ।

नानी ! आज बिहानै मेरो छोरोले भन्यो, ‘आमा म विधुवाको कथा भन्छु, तिमी सुन्न आऊ ।’ मलाई त झनक्क रिस उठ्यो । भनें, ‘ए मेरो कथा भनेर तँ धनी हुने ? पर्दैन तँ जानु, मेरो कथा मै भन्छु भनेर यहाँ आएकी छु ।’

नानी त्यो मेरो छोरो उच्छड छ, झुक्किएर यता आउला भनेर थुनेर आएकी छु । अब के गर्नु नानी, एउटी विधुवाले भोगेको जिन्दगीको विधुवा कथा, विधुवाको मुटुभित्र गाडिएको विधुवाको पीडा एउटा कलाकारले देख्न सक्दैन, कविले लेख्न सक्दैन ।

हिँड्ने वेलामा भन्दै थियो, ‘आमै राष्ट्रपति आउने कार्यक्रम हो, बोल्न नजान्ला नि !’ पड्के मलाई सिकाउँछ । मैले बोल्न नसिकाएको भए त्यो लाटै हुन्थ्यो । राष्ट्रपतिका अगाडि बोल्न सिकाउँछ । अब एउटी महिलाले अर्की महिलालाई भनेको कुरो नबोले पनि आफैं बुझ्छ ।

फेरि राष्ट्रपति र मेरो कथा पनि उस्तै उस्तै छ । उहाँ पनि एकल, म पनि एकल । तर, हाम्रो एउटा भिन्नता छ, सातवटा टुहुरा बच्चा एक्लै हुर्काउनु भनेको संविधान बनाउनु जत्तिकै ठूलो लडाइँ हो नानी ।

बिहे गर्दा म जम्मा नौ वर्षकी थिएँ । साँच्चै भन्नुपर्दा मेरो कसरी बिहे भयो, कहिले जवान भएँ, छोराछोरी कसरी हुर्किए मलाई थाहै भएन । किनभने श्रीमानले मलाई बच्चाजस्तै माया दिएर हुर्काउनुभएको थियो । हामी केटाकेटी नै थियौं, दोहोरी खेल्थ्यौं ।

जब उहाँ जानुभो, अनिमात्रै थाहा पाएँ, श्रीमान् र श्रीमतीको सम्बन्ध कति गहिरो हुँदोरहेछ भनेर । सासूससुराका लागि एउटा छोरो मर्‍यो, दिदीबहिनीका लागि एउटा माइती मर्‍यो, छोराछोरीका लागि उनीहरुको बाउ मर्‍यो । मेरा लागि संसार मर्‍यो, साहस मर्‍यो, सारा मर्‍यो, सर्वस्व मर्‍यो । आफ्नो सर्वस्व सकिँदा पनि आफू जिउँदै रहनसक्नु सानो चमत्कार होइन नानी ।

श्रीमान् बितेपछि अभाव, एक्लोपन र असुरक्षाले तर्साइरहन्थ्यो । एकमनले भन्थ्यो, यस्तो जिन्दगी बाँचेर के काम, मर्दिन्छु बरु ! अर्को मनले सम्झाउँथ्यो, ती सातवटा लालाबालाको के अवस्था हुन्छ ? फेरि अर्को मनले भन्थ्यो, बाँच्न त कुकुरका छाउरा पनि बाँचेका छन् । मान्छेका छाउरा त जसरी पनि बाँचिहाल्छन् नि ! तर, फेरि अर्को मनले सम्झाउँथ्यो, जन्म दिनु र आमा हुनु यी दुईवटा फरक कुरा हुन् ।

म जन्मदातामात्रै थिइनँ, आमा पनि थिएँ । त्यसैले मैले चाहेर पनि मर्न सकिनँ । मरेर जाने त गइहाल्छन्, बाँच्नेलाई पनि जिउँदै मारेर जाने र’छन् । घरमूलीको मृत्युसँगै घरको छाना पनि चुहिन थाल्यो । केटाकेटीको नाना पनि च्यातिन थाल्यो । परिवारको दाना पनि बन्द भयो । समाजले मलाई घरमूलीको हैसियत दिएको भए यति धेरै दुःखको आहालमा डुब्नु पर्दैन थियो होला ।

भोक र शोकको आगोमा जल्नु पर्दा वेलावेला म बहकिँदै भन्थे, यसरी पटकपटक मर्नुभन्दा एकैपटक मर्न पाए पनि हुन्थ्यो । यस्तो वेलामा धनको भन्दा मनको साथ चाहिँदो रहेछ । सायद पूर्व जन्ममा कुनै सुकाम गरेकी थिएँ, त्यसैले होस्टे गर्न माइती आएँ । हैंसे गर्न छिमेकी आए । तँ चिता भन्न आफन्त आए, म पु¥याउँछु भन्न दैव आयो । त्यसैले त मेरो खसमले रोपेको त्यही धुपीको बोट जस्तै अहिलेसम्म ठीकै उभिनु सकेकी छु ।

हरेक विधवाको कथा फरकफरक हुन्छ । एकजना साह्रै सोझी विधवा थिइन् हाम्रो गाउँमा । बोल्न नसक्ने । गाउँकै एउटा सीधा लोग्ने मान्छेसँग बात लाउन घरभित्रै थुनिदिएछन् परिवारले, घर निकाला गर्नलाई । नखाएको विष जबरजस्ती खुवाएपछि विचरा कोसीमा फाल हानेर मरिन् । एउटी विधवालाई आफ्नो ज्यान जोगाउनुभन्दा ठूलो आफ्नो इज्जत जोगाउनु हुन्छ नानी ।

बरु बाघ-भालुबाट आफूलाई बचाउन सकिन्थ्यो । तर, मान्छे रुपी गिद्धबाट बचाउन कठिन हुन्थ्यो हामीलाई । एकदिन मैले आमालाई भनें, ‘आमा फलानाले मलाई गोठ जाँदा पनि पछ्याउँछ । घर आउँदा पनि पछ्याउँछ, म के गरु आमा ।’ आमाले त ढाडस दिनुपथ्र्यो नि, दुःख दिने गिद्धको पखेटा काटिदेऊ उड्नै नसक्ने गरी भनेर । तर, आमाले भन्नुभएन, उहाँले भन्नुभयो, ‘नानी छाडिदे, संसारको रितै यस्तै छ । फूल भएको ठाउँमा भमरा आउँछन्, सिनो भएको ठाउँमा गिद्ध आउँछन् ।’ म गिद्ध हुँ कि भमरा हुँ कि सिनो हुँ, अहिलेसम्म बुझेकी छैन ।

श्रीमानलाई बिदा गरेको त्यो दिन मलाई अझै याद छ, उता उहाँको लास जल्दै थियो । यता मेरो सिउँदो पुछिँदै थियो । लास डढेर अंगार भइसक्दा म खरानी भएर सेतो साडीमा पोको परिसकेकी थिएँ । सेतो साडीले चाडबाडमा सबैभन्दा बढी दुःख दिन्थ्यो नानी । दौंतारीहरु राताम्मे भएर नाचगान गर्दै हुन्थे, म सेतो साडीमा पोको परेर पर कुनामा रुँदै टुलुटुलु हेर्थे । कल्पना गर्नुस् त, श्रीमानले त साथ छोडे छोडे, समाजले पनि संस्कारका नाममा सेतो साडीमा बन्धक बनाइदिँदा म गाई गोठमा बाच्छासँग घन्टौं रोएकी छु मान्छेको विश्वास नलागेर ।

एकपटक श्राद्धको वेला बालाई सोधें, ‘बा मैले सेतो साडी नलाउँदा मिल्दैन ?’ बाले भन्नुभो, ‘तेरै सुरक्षाका लागि हो नानी ।’

बाले कुन सुरक्षाको कुरा गर्नुभएको हो, मैले अहिलेसम्म बुझेकी छैन । किनभने मानव रुपी गिद्धहरुलाई न सेतो साडीले रोक्दोरहेछ न त खाली सिउँदोले छेक्दोरहेछ । एक्लै भेटे मलाई खान सक्थे, छोरीहरुलाई एक्लै भेटे छोरीहरुलाई खान सक्थे । छोरा नहुर्किउञ्जेल, छोरी घर नजाउञ्जेल मैले सधैं त्रसित र असुरक्षित महसुस गरिरहें । साँच्चै भन्ने हो भने यो सिन्दूर पुछ्ने र चुरा फुटाउने चलन मलाई पटक्कै मन पर्दैन । किन थाहा छ ? यो त श्रीमानकाे चिनो हो । हौसला हो, आँट हो, साहस हो, आशीर्वाद हो । अहिले रातो साडीमा सजिएका नेपाली छोरी देख्दा मलाई कम्ता खुशी लाग्दैन । तर, विस्मात् एउटै छ, अलि छिटो जन्मिन पाएको भए म पनि यस्तै साडीमा सजिन्थेँ होला । अहिले त मलाई मेरो जिन्दगी भनेकै यस्तै उराठ लाग्न थालेको छ । म यसो गमेर ल्याउँथे, यदि म मरेकी भए मेरी श्रीमानले जुँगादाह्री काट्थे कि काट्दैन थिए होलान् । सेतो दौरा सुरुवाल लाएर एक वर्ष बरखी बार्थे कि बार्दैन थिए होला ?

श्रीमान मरेपछि श्रीमतीको खाने, लाउने, बाँच्ने सबै तरीका बदलिन्छ । तर, श्रीमती मर्दा पुरुष जस्ताको तस्तै हुन्छ । नियम–कानून र चलन सबैका लागि बराबरी होइन र ? विधवा हुनु, त्यसमाथि गरीब विधवा हुनु, यो पनि कुनै युद्ध लडेभन्दा सानो युद्ध होइन नानी ।

आज मलाई सम्झना छ, बिहानको नौ बजेतिर मैले कहिल्यै कुनै पनि छोरीलाई घरमा बस्न दिइनँ । कसैलाई घाँस काट्न पठाएँ । कसैलाई बाख्रा चराउन पठाएँ । किन थाहा छ ? अरुका छोरी स्कुल गएको नदेखून् भनेर । हामी पनि पढ्छौं नभनून् भनेर । त्यो चरम गरीबीका बीच म कुन हैसियतले उनीहरुलाई पढाउन सक्थें । आमा हुँ, नपढाउन पनि कसरी सक्थें । चाहेर पनि मेरी छोरीहरुलाई सावाँ अक्षर चिनाउन सकिनँ, सबैभन्दा ठूलो विस्मात यही छ ।

छोराहरुलाई त पढाइस् नि भन्नुहोला, पढाएँ भन्नु कि पढाइनँ भन्नु । त्यो पनि थाहा भएन । स्कुल जान्थे । अघि बिहानमात्रै छोरोले भन्यो, ‘आमै एउटा कुरा भनुँ ?’ ‘भन् न त काले’ भनें । छोराले भन्यो, ‘मैले उहिल्यै एक कक्षामा पढ्दा किताब किन्न नसकेर सात दिन स्कुलबाट निकालिएको तिमीलाई आजमात्रै भन्दैछु आमा । तिमीलाई टेन्सन हुन्छ भनेर ।’

६० वर्षको छोरोले ५० वर्षपछि यो कुरा सुनाउँदा खाटा बसिसकेको मेरो घाउ एकपटक चसक्क दुख्यो । एकदिन गाउँमा कसैको सामान हरायो । चोरिएको पनि हुनसक्थ्यो, लुकाएको पनि हुनसक्थ्यो । शंका मेरो छोरामाथि लाग्यो । पञ्चायत राखियो । सामान चोरिएको थिएन, भेटियो । तर, छोरामाथि चोरको दाग कहिल्यै मेटिएन । शंका, आक्षेप र आरोपको भारी गरिब, टुहरा र विधवामाथि मात्रै किन लगाइन्छ ? सायद उनीहरुका बाबु, मेरा लोग्ने भएका भए यस्तो दुस्साहस कसैले गर्दैन थियो होला । अनि मलाई लाग्छ वेलावेला, थपनामै भए पनि लोग्ने चाहिँ चाहिन्छ ।

आज छोराछोरी हुर्किए । गरिखाने भए । संघर्षको त्यो पहाडको कहालीलाग्दो उकालो कटेर मलाई अहिले आनन्दको चौतारीमा राखेका छन् नानीले । कहालीलाग्दो विगतबाट आनन्दपूर्ण जिन्दगी भोगेर आएकी छु । अहिले मलाई लाग्छ, सन्तान र सत्य अंगालेर बस्ने महिला कहिले विधवा हुँदैन, सधैं सदुवा रहन्छ ।

आज दुनियाका छोरीहरुले पिलेन उडाए रे भन्ने सुन्दा खुशी लाग्छ । तर, गरीब हुनु र साख सन्तानको जिम्मेवारी लिनु अनि परिवारको साथ नहुनु, तिनीहरुलाई गरिखान बनाउने सक्नु यो कुनै पिलेन उडाएर बसाएभन्दा कम क्रान्तिकारी काम होइन नानी । त्यो साहस एउटी विधवालाई कहाँबाट आयो होला ? त्यो साहस त्यही श्रीमानले माथिबाट पठाएको प्रेम र आशीर्वादको शक्तिबाट प्राप्त भएको हो । मान्छेहरु भाग्यका कुरा गर्छन् । तर, मेरो नजरमा संसारको सबैभन्दा भाग्यमानी मान्छे त्यो हो जसको सिउँदो पुछिएको छैन । जसको पोते चुँडाइएको छैन, श्रीमान हुँदा पनि नहुँदा पनि रातो साडीमा सजिन्छिन्, भगवानको विधानका कहीँ छैन लेखेको, विधुवाले रातो लाउन पाउँदिनस् भनेर ।

अहिले त श्रीमान् मरेजस्तो लाग्दैन । चोला फेरेजस्तो लाग्छ । छोराछोरी, नातिनातिना, पनातिपनातिना छन् । तिनका बोलीमा, व्यवहारमा, कर्ममा मेरा श्रीमान्को झल्को देख्छु । श्रीमान गुमाएका एकल दिदीबहिनीहरुलाई पनि जीवनको उत्तरार्द्धमा मेरोजस्तै खुशी र सुख मिलोस्, धन्यवाद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर