सुनसरीमा एमालेको आश, गैरकांग्रेस उम्मेदवार र गठबन्धनमा अन्तर्घात – Nepal Press

सुनसरीमा एमालेको आश, गैरकांग्रेस उम्मेदवार र गठबन्धनमा अन्तर्घात

इटहरी । स्थानीय तह चुनावमा इटहरी उपमहानगरपालिकामा सबैभन्दा पहिले मेयर र उपमेयर उम्मेदवार घोषणा गर्ने नेकपा (एमाले) थियो । मेयरमा यामकुमार सुब्बा र उपमेयरमा संगीता चौधरी उठाएलगत्तै गठबन्धनले पनि उम्मेदवार सार्वजनिक गर्‍यो । मेयरमा हेमकर्ण पौडेल र उपमेयरमा केशव विस्ट ।

गठबन्धन र एमाले दुवै वृत्तमा एउटा साझा निष्कर्ष थियो- उपमेयरमा एमालेको जीत सुनिश्चित । मेयरमा प्रतिस्पर्धा । भयो पनि यस्तै उपमेयरमा भारी मतान्तरले चौधरीले जितिन् । मेयरमा हेमकर्ण पौडेल विजयी भए ।

इटहरीमा यस्तो पूर्वानुमान गर्नुको कारण उपमेयर गैरकांग्रेस भएकाले हो । नेपाली कांग्रेस एक्लैले मेयर र उपमेयरमा उम्मेदवारी दिएको भए यस्तो तर्क आउँदैन थियो । इटहरीको स्थानीय तहको चुनावी अनुमान जस्तै अनुमान अहिले सुनसरीको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा चलेको छ ।

२०७४ सालको चुनावमा दुईतिहाइ निकट सीट ल्याएको एमाले-माओवादी गठबन्धन सुनसरीमा कमजोर देखिएको थियो । सुनसरीका ४ प्रतिनिधिसभा क्षेत्रमा कांग्रेसले ३ स्थान जितेको थियो । सुनसरी क्षेत्र नम्बर १ बाट जयकुमार राईले जित्नेबाहेक वाम गठबन्धनको केही चलेन । क्षेत्र नम्बर १ मा जितेको एमालेले अहिले गठबन्धनबाट सुनसरीमा गैरकांग्रेसले टिकट पाए आफूले जित्ने सम्भावना भएको आन्तरिक रिडिङ गरेको छ ।

‘मिडिया खपतको लागि त हामी सबै क्षेत्रमा बलियो भन्छौं’, एमाले सुनसरीका एक पदाधिकारी भन्छन्, ‘हामीले जित्ने भनेको क्षेत्र नम्बर १ हो । कांग्रेससँगै लड्दा पनि बलियो भएको क्षेत्रमा जसपाका अशोक राईले टिकट पाउने कुराले झन् सजिलो छ । अन्य क्षेत्रमा पनि गैरकांग्रेसले टिकट पाएमा सजिलो हुन्छ ।’

सुनसरी २ मा नेकपा माओवादी केन्द्र वा नेकपा एकीकृत समाजवादी वा जसपामध्ये जसले टिकट पाए पनि एमालेले जित्ने आकलन गरिएको छ । ‘८० प्रतिशत अरुको मतमा चुनाव लड्दा जित्ने सम्भावना कम हुन्छ’, एमाले सुनसरीका जिल्ला नेता जीबी गजल भन्छन्, ‘त्यसैले कांग्रेससँगै प्रतिस्पर्धा हुने क्षेत्रमा एस, जसपा र माओवादी उठ्दा एमालेको जीत सुनिश्चित हुन्छ ।’

एमाले सुनसरीका नेताहरुका अनुसार सुनसरी क्षेत्र नम्बर ३ मा पनि यो पटक बलियो सम्भावना छ । ‘सुनसरी क्षेत्र नम्बर ३ मा भगवती चौधरी जित्ने धेरै सम्भावना छ’, एमाले सुनसरीका एक पदाधिकारीले भने, ‘भगवती चौधरी बलियो भएरमात्रै हैन, अहिले गच्छदार कांग्रेसमै चरम अलोकप्रिय भएकाले उनले टिकट पाएमा एमालेको जीत निश्चित छ ।’

एमाले नेताहरुले सुनसरी २ र ४ मा कांग्रेस उम्मेदवार आफैं उठेमा भने गठबन्धनलाई जित्न हम्मेहम्मे पर्ने बताउँछन् । सुनसरी ४ संघीय सरकारका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्र हो । यहाँ कांग्रेस बलियो भएको एमाले सुनसरीका नेताहरु नै बताउँछन् । कांग्रेसको अन्तरघातबाहेक यस क्षेत्रमा जित्ने सम्भावना कम भएको एमाले नेताहरुको तर्क छ ।

‘पछिल्लो चुनावी गणित हेर्दा सुनसरी एमालेको संघमा राम्रो क्षेत्र हैन’, सुनसरीका एक एमाले प्रदेश नेताले भने, ‘तर, गैरकांग्रेसले टिकट पाए एमालेलाई धेरै सजिलो हुन्छ । सीट बढ्छ ।’

सुनसरीमा इटहरी र धरान उपमहानगपालिका, इनरुवा, बराहक्षेत्र, दुहवी र रामधुनी नगरपालिका तथा कोसी, गढी, देवानगञ्ज, बर्जु, भोक्राहा नरसिंह र हरिनगर गाँउपालिका गरेर १२ स्थानीय तह छन् । जसमा रामधुनी नपा र बर्जु तथा गढी गाउँपालिकामा एमालेको नेतृत्व छ । बाँकी सबै पालिकाको प्रमुख पदमा एमाले गयल छ । धरानका स्वतन्त्र मेयर र देवानगञ्जमा जसपाका प्रमुखबाहेक सबैमा कांग्रेस नेतृत्व छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर