सिरहा १ : प्रदीप गिरीको उत्तराधिकारी बन्न कांग्रेसमा दौडधुप, अरु दलबाट क-कसको दाबी ? – Nepal Press
आम चुनाव-२०७९

सिरहा १ : प्रदीप गिरीको उत्तराधिकारी बन्न कांग्रेसमा दौडधुप, अरु दलबाट क-कसको दाबी ?

जनकपुरधाम । सिरहा क्षेत्र नम्बर १ को संसदीय चुनावमा निर्वाचित कांग्रेस नेता प्रदीप गिरीको निधनसँगै मंसिर ४ को निर्वाचनका लागि यहाँबाट उम्मेदवारका आकांक्षीको एकपछि अर्को चर्चा बढेको छ ।

बिहीबार दिवंगत नेता गिरीकी भाइबुहारी सरिता गिरीले उम्मेदवारी घोषणा गरिन् । एक महिनाअघि मात्र सद्‍भावना पार्टी प्रवेश गरेकी उनले अचानक पार्टी परित्याग गर्दै बुधबार स्वतन्त्र भएको घोषणा गरेकी थिइन् । त्यसको २४ घण्टा नबित्दै गिरीले सिरहा १ बाट चुनाव लड्ने घोषणा गरिन् ।

सुरूको उनको अभिव्यक्ति प्रदीप गिरीको उत्तराधिकारी बन्न खोजेको देखिएपनि अर्को फेसबुक स्टाटसमा उनले विरासत वा उत्तराधिकारीको राजनीति नगर्ने प्रष्टीकरण दिएकी छन् ।

सरिताले कुन पार्टीबाट लड्ने खुलाएकी छैनन् । तर, उनी कांग्रेसबाट चुनाव लड्न इच्छुक रहेको स्रोतले बताएको छ । कांग्रेसबाट अन्य नेता नै आकांक्षी भएकाले सरिताले यहाँ टिकट पाउन मुश्किल रहेको कांग्रेसका एक नेता बताउँछन् ।

कांग्रेसबाट यस क्षेत्रमा केन्द्रीय सदस्य पद्मनारायण चौधरी र नेता सुनिल महतोको नाम पहिलेदेखि चर्चामा थियो । अहिले चित्रलेखा यादव पनि मिसिएकी छन् ।

७४ मा चौधरीलाई मनाएर प्रदीप गिरी चुनाव लडेका थिए । उनकै आग्रहमा पार्टीले चौधरीलाई समानुपातिक सांसद बनायो । चौधरी पनि पटक-पटक यस क्षेत्रबाटै निर्वाचित भइसकेका व्यक्ति हुन् ।

विगतमा कांग्रेसले नै जितेका कारण सत्ता गठबन्धनको सीट बाँडफाँटमा कांग्रेसकै भाग पर्ने र आफूले टिकट पाउनेमा ढुक्क देखिएका चौधरी प्रमुख सचेतक चित्रलेखा यादवको चर्चाले झस्किएका छस्किएका छन् ।

विगतमा सिरहा क्षेत्र नम्बर २ बाट यादव सांसद बनेकी थिइन् । पछि क्षेत्र हेरफेर भयो । शिक्षामन्त्री भइसकेकी यादव पछिल्लो दुई पटक समानुपातिकबाट सांसद बनिन् । यसपटक सिरहा २ बाटै दाबी गरिरहेकी उनी ७४ मा त्यहाँ माओवादी विजयी भएकाले सीट बाँडफाँटमा उक्त क्षेत्र माओवादीको पर्ने सम्भावना देखेपछि १ मा दाबी पेस गरेकी हुन् ।

उद्योग वाणिज्य संघ लहानका पूर्वअध्यक्ष सुनिल महतो पनि कांग्रेसबाट टिकटको दौडमा छन् । क्षेत्रमा पकड जमाएका उनको केन्द्रमा भने पहुँच बलियो छैन । चौधरी र चित्रलेखा रेसमा भएकाले महतो चेपुवामा परेका छन् ।

चौधरी र चित्रलेखाबीच टिकटका लागि टकराव सुरू भइसकेको छ । टिकट भने चित्रलेखा पाउने सम्भावना बढी छ । स्थानीय एक नेताका अनुसार चौधरी र चित्रलेखा दुवै पार्टी सभापति शेरबहादुर देउवा समूहकै हुन् । तर, कांग्रेसको जिल्ला अधिवेशनमा संस्थापनसमूहका रामचन्द्र यादवलाई सभापतिमा हराउन चौधरी लागे । चित्रलेखा रामचन्द्रको पक्षमा उभिएकी थिइन् । त्यसैले जिल्ला नेतृत्व पनि चित्रलेखाकै पक्षमा उभिएको छ ।

नेकपा एसबाट पूर्वमन्त्री यादवको दाबी

नेकपा एकीकृत समाजवादीले पनि सिरहा १ दाबी गर्दै पूर्वमन्त्री रामचन्द्र यादवलाई उम्मेदवार नै निर्णय नै गरिसक्यो । पार्टीका प्रदेश अध्यक्षसमेत रहेका उनी एमालेबाट पटक-पटक सांसद बनिसकेका छन् । यादव यस क्षेत्रका प्रभावशाली नेता मानिन्छन् ।

यस्तै नेकपा एमालेबाट गंगाप्रसाद यादव र जनता समाजवादी पार्टी (जसपा) बाट राजलाल यादवको नाम चर्चामा छ । ७४ मा प्रदीप गिरीको निकटम प्रतिद्वन्द्वी बनेका थिए गंगाप्रसाद । उनलाई नै पुनः चुनावी मैदानमा उतार्ने एमालेका नेताहरू बताउँछन् ।

पहिलो संविधानसभामा निर्वाचित जसपाका राजलाल विनाविभागीय मन्त्री बनेका थिए । उनी दोस्रो संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) बाट र ७४ मा तत्कालिन संघीय समाजवादी फोरम (अहिलेको जसपा) बाट लडेका थिए । तर, पराजित भए । यो पटक पनि उनले दाबेदारी प्रस्तुत गरेका छन् ।

७४ को निर्वाचनमा कांग्रेसबाट विजयी गिरीले (हाल मृत्यु) २३ हजार ९५१ मत ल्याएर विजयी भएका थिए । उनको निकटम प्रतिद्वन्दी वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका गंगाप्रसाद यादवले २१ हजार ३७१ मत पाएका थिए ।

गिरीलाई अनौपचारिक रूपमा तत्कालीन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्ना नेताकार्यकर्ताबाट सहयोग गर्न लगाएका थिए । यद्यपि फोरमका उम्मेदवार राजलाल यादवले १३ हजार ३५१ मत ल्याएका थिए ।

वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा यो क्षेत्रमा पर्ने लहान नगरपालिकामा कांग्रेस, भगवानपुर गाउँपालिकामा एमाले, सखुवानन्कारकट्टी गाउँपालिकामा नेकपा एस र लक्ष्मीपुर पतारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

अहिलेको अवस्था हेर्दा कांग्रेस, जसपा, नेकपा एमाले र नेकपा एस अलग-अलग उम्मेदवार खडा गर्दा कडा प्रतिस्पर्धा हुनेछ । माओवादी र जनमत पार्टी कमजोर छ । तर, सत्ता गठबन्धनले साझा उम्मेदवार दिन सक्यो भने एमालेलाई चुनौती देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर