गाउँपालिका अध्यक्षमाथि प्रहरीसँग मिलेर लागुऔषध मुद्दामा दुई भारतीयलाई फसाएको आरोप – Nepal Press

गाउँपालिका अध्यक्षमाथि प्रहरीसँग मिलेर लागुऔषध मुद्दामा दुई भारतीयलाई फसाएको आरोप

रुपन्देही । पश्चिमनवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षले साझेदारी व्यापारको एक करोड ३३ लाख मुनाफा हडप्न प्रहरीसँगको मिलेमतोमा दुई भारतीयलाई लागुऔषधमा मुद्दामा फसाएको घटना बाहिरिएको छ ।

गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले भारतीय नागरिक रामा गुप्ता र जितेन्द्र पासवानलाई कवाड व्यवसायको एक करोड ३३ लाख मुनाफा नदिने उद्देश्यले लागुऔषध मुद्दामा फसाएको भन्दै उनीमाथि कारवाहीको माग गरिएको हो । स्थानीयले गाउँपालिका अध्यक्ष गुप्ता स्वयं लागुऔषाधको कारोबारी भएको र उनले मान्छे खटाएर कारोबार गर्दै आएकाले त्यस विषयमा उनीमाथि नै अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

थुनामा रहेका पीडितका परिवार, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले परासीमा पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष गुप्ताकै योजनामा भुमहीमा गुप्ता र पासवानले कवाडी व्यवसायी गर्दै आएको आरोप लगाए । उनीहरू भारतको मोतिहारी जिल्ला चिरइया थाना ग्रामका हुन् । गाउँपालिका अध्यक्ष गुप्ता पनि कवाड व्यवसायी हुन् । पछिल्लो समय उनले रामा गुप्तासँग साझेदारीमा उक्त व्यवसाय गर्दै आएका थिए । तर, नाफाको २० प्रतिशत रामा गुप्तालाई दिने सहमतिलाई बेवास्ता गर्दै रकम दिन आलटाल गर्दै आएको पत्रकार सम्मेलनमा दाबी गरियो ।

दिनुपर्ने रकम हडप्नकै लागि गाउँपालिका अध्यक्षले आर्थिक चलखेल गरेर नवलपरासी प्रहरी प्रमुख ऋषिराम कंडेललाई समेत प्रभावित गरेर भारतीयलाई लागूऔषध मुद्दामा फसाएको आरोप छ । पालिका अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

थुनामा रहेका गुप्ता र पासवान पूर्णतः निर्दोष रहेकाले तत्काल रिहाई गर्न र गाउँपालिका अध्यक्षमाथि छानबिनको माग गरिएको छ । प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरीले गरेको छानबिनको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि उनीहरूको माग छ । आर्थिक चलखेल गरेर गाउँपालिका अध्यक्ष गुप्ताका सहयोगीलाई बयान फेर्न लगाई उनैलाई मात्र दोषी देखाएर गाउँपालिका अध्यक्षलाई उन्मुक्ति दिन खोजिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

गुप्ता र पासवानलाई फसाउन गाउँपालिका अध्यक्षको निर्देशनमा उनका सहयोगी गाउँपालिकाका नगर प्रहरी (पूर्वप्रहरी) रघुनाथ धोवीले असार २२ गते रामग्राम नगरपालिका १७ पिपरहियामा चिया पसलभित्र बोलाएर आफैंले ल्याएको लागुऔषध मोटरसाइकलमा राखिदिएर पक्राउन लगाइएको रामा गुप्ताका सालो सन्जय शाहले बताए ।

‘गाउँपालिका अध्यक्षसँग १३ करोडको कारोबार गरेका थियौं, कारोबारको २० प्रतिशत नाफा हामीले पाउने सहमति थियो’, शाहले भने, ‘हामीले पाउनुपर्ने एक करोड ३३ लाख रकम नदिन अध्यक्षले धेरै समय आलटाल गरेका थिए, त्यसदिन पिपरहियामा बोलाए, पैसा दिने होला भनेर गएको भिनाजुलाई फसाउन रहेछ । यसरी अन्यायमा पारेको बेला उल्टो मुद्दा लगाएर फसाउन खोजिएको छ । ’

शाहका अनुसार भिनाजु रामा गुप्ता र पासवान मोटरसाइकल बाहिर राखेर चिया पसलभित्र बसेको बेला गाउँपालिका अध्यक्षको निर्देशनमा उनका सहयोगी धोवीले उक्त मोटरसाइकलमा लागुऔषधको झोला राखिदिए । त्यसपछि गाउँपालिका अध्यक्षले नै प्रहरीलाई सूचना दिएर पक्राउ गराएको शाहको दाबी छ ।

गाउँपालिका अध्यक्ष गुप्तासँग रामाले १२ वर्षदेखि कवाड कारोबार गर्दै आएको सन्जयले बताए । पाउनुपर्ने रकम दिन आलटाल गरेपछि कवाड दिन छाडेको र उनले धम्की दिँदै आफूलाई नै बेच्न दबाब दिँदै आएको शाहले बताए । पछिल्लो समय भुमहीस्थित बजाज मोटरसाइकल उद्योगबाट उत्पादित कवाड बिक्रीका लागि २० लाख धरौटी मागेपछि रकम नभएकाले रामाले गाउँपालिका अध्यक्षसँग २० प्रतिशत नाफा पाउने गरी साझेदारीमा कारोबार गर्दै आएको बताए ।

पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले पद र पैसाको आडमा गाउँपालिका अध्यक्षले तिर्नुपर्ने मोटो रकम नतिरेर उम्किन भारतीय नागरिकलाई फसाएको पाइएको बताए । गठबन्धनको आडमा गाउँपालिका अध्यक्षले प्रहरी प्रशासनलाई प्रभावित गरेर उम्किन खोजेको भन्दै यादवले निर्दोष भारतीयलाई तत्काल रिहा नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

‘भारतीय नागरिकको पक्षमा बोलिदिने कोही छैनन् भनेर झुटा मुद्दामा फसाउन खोजिएको छ, यस्तो अन्याय भयो भने भोलि भारतमा रहेका नेपालीमाथि यस्तै घटना दोहोरिन सक्छन् । यो घटनामा प्रहरीको भूमिका शंकास्पद छ’, यादवले भने ।

नेपाली कांग्रेस नवलपरासीका कार्यवाहक सभापति विक्रमप्रसाद यादवले गठबन्धनको आडमा गाउँपालिका अध्यक्ष गुप्तालाई बचाउन प्रहरी प्रशासनसमेत लागेको भन्दै गृहमन्त्रालयको ध्यान जानुपर्ने माग गरे । गुप्ताले आफू उम्कन प्रहरी प्रशासन र पार्टी नेतृत्वसँग चलखेल गरेको भन्दै उनको कल डिटेल अनुसन्धान गर्न माग गरेका छन् । गुप्ता र पासवान बसेको ठाउँमा २७० सेट डाइजेपाम नुर्फिन र फेनार्गन भेटिएको प्रहरीको भनाइ छ ।

निर्दोषलाई फसाएको भन्दै नवलरासीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले माथिल्लो प्रहरी निकायमा जानकारी गराएपछि प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान टोली खटाएको थियो । घटनाको अनुसन्धानपछि प्रहरी टोलीले समेत निर्दोष व्यक्ति थुनामा परेको उल्लेख गरेको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेका दुवै युवक तीन महिनादेखि प्रहरी हिरासतमा छन् ।
प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ताका सहयोगी धोबीलाई पक्राउ गरेको छ । कांग्रेस र जसपाले गाउँपालिका अध्यक्ष र जिल्ला प्रहरी प्रमुखबीच भएको फोन सम्वादको कल डिटेल अनुसन्धान गर्न पनि माग गरेका छन् ।

घटनाको चौतर्फी विरोध भएपछि गाउँपालिका अध्यक्ष गुप्ताले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर आफूलाई बचाइदिन हारगुहार गरेको स्थानीय बताउँछन् । गाउँपालिका भवन उद्घाटन गर्न गुप्ताको निम्तोमा प्रचण्ड आएका थिए ।

यसअघि गत साउन ३० गते नेपाली कांग्रेस पाल्हीनन्दन गाउँ समितिका सभापति हरिहर चौहान, जसपा गाउँ कार्य समितिका सहसंयोजक कमलेश माली, जसपाका गाउँ युवा समितिका अध्यक्ष बसन्त यादव र कांग्रेस जिल्ला समिति सदस्य चन्द्रमणि चौधरीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्दोष भारतीय नागरिकलाई मुक्त गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

पश्चिमनवलपरासीका एसपी ऋषिराम कंडेलले ५० दिनअघि यो विषयमा २ जनालाई नियन्त्रणमा लिइएको बताउँदै यसबारेमा अनुसन्धान भइरहेकाले निर्दोष कसैलाई फस्न नदिइने नेपाल प्रेसलाई बताए ।

‘पहिले २ जनालाई नियन्त्रणमा लिइयो तर यो घटनामा बदमासी गर्ने १ जनालाई पछि पक्राउ गरियो, बाँकी अनुसन्धान हुँदैछ, प्रहरीको संलग्नता अनावश्यक आरोप हो, छानविनले सबै प्रमाणित हुन्छ’, उनले भने ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी नलराज उपाध्यायले छानविन अन्तिम चरणमा पुगेको र दोषी कुनै हालतमा उम्किन नदिइने बताए ।
यसबारेमा प्रतिकृया लिन पालिका अध्यक्ष गुप्तालाई धेरैपटक सम्पर्क गरेपनि उनको मोबाइल नं ९८५७०२४२९६ मा सम्पर्क हुँदैन ।
पालिकाका प्रवक्ता कृष्णचन्द्र यादवले अध्यक्ष काठमाडौं जानुभएकाले मोवाइलमा सम्पर्क नभएको तर अन्य विषयमा जानकारी नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर