लुम्बिनीमा अनुदानका १९ विद्युतीय गाडी ३ वर्षदेखि अलपत्र, दशैंअघि संचालनको तयारी – Nepal Press

लुम्बिनीमा अनुदानका १९ विद्युतीय गाडी ३ वर्षदेखि अलपत्र, दशैंअघि संचालनको तयारी

रुपन्देही । तीन वर्षदेखि दाताले दिएर लुम्बिनीमा अलपत्र १९ विद्युतीय सवारी साधन दशैं अगाडि संचालन गर्नेगरी लुम्बिनी विकास कोषले तयारी गरेको छ ।

कोषले गठन गरेको विद्युतीय गाडी सञ्चालन कार्यदलले तोकिएको समयमै प्रतिवेदन र कार्यविधि तयार पारेर बुझाएको संयोजक एवम् लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिए ।

टोलीले आइतबार कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई विद्युतीय बस सञ्चालन सम्बन्धि प्रतिवेदन र सञ्चालन मस्यौदा कार्यविधि बुझाएर तत्काल संचालन गर्ने तयारी गरेको हो ।

करिब ३ वर्षदेखि लुम्बिनी विकास कोषलाई एशियाली विकास बैंकबाट सहयोगमा प्राप्त विद्युतीय बस कार्यविधिको अभावमा सञ्चालनमा आउन नसकेपछि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा विश्वराज पौडेल र राजु शाक्य रहेको ३ सदस्यीय टोली गठन गरिएको थियो । लुम्बिनी विकास कोषको जेठ १९ गते बसेको बैठकले तोकेको समयभित्र कार्यदलले प्रतिवेदन र कार्यविधि निर्माण गरी पेश गरेको संयोजक भट्टराईले बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनी र वृहत्तर लुम्बिनी क्षेत्रमा जाने पर्यटकहरुलाई सुविधा होस् भनेर अनुदानमा प्राप्त बस तथा भ्यानहरु एसियाली क्लिन इनर्जी फण्डको सहयोगमा वातावरणमैत्री तथा वैकल्पिक ऊर्जाको प्रयोगलाई बढाउने अभिप्रायले आएको हो ।

कार्यदलले आइतबार नै नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यलय रत्नपार्कमा प्राधिकरणका वैकल्पिक ऊर्जा विभाग, विद्युतीय बस तथा भ्यान सप्लायर कम्पनी सिमेक्स प्रालि, सौर्य ऊर्जा केन्द्र निर्माण कम्पनी इशाकासँग बैठक गरी घटस्थापनाअघि नै प्राविधि पक्षचुस्त बनाउन प्रतिबद्धता लिएको छ ।

मन्त्री श्रेष्ठलाई अध्ययन प्रतिवेदन, कार्ययोजना, आर्थिक प्रक्षेपण, अतिआवश्यक सिफारिसहरु र कार्यविधि मस्यौदासहितको २ वटा दस्तावेज बुझाइएको संयोजक भट्टराईले जानकारी दिए । प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले प्रतिवेदन अध्ययन गरी छिट्टै कोषको बैठक बसेर निर्णय गरी विद्युतीय बस तथा इ–भ्यान सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यविधि तयार भएसँगै लुम्बिनीमा अनुदानमा प्राप्त भएका विद्युतीय बस र भ्यान सञ्चालन गर्न बाटो खुल्नेछ । बस तथा भ्यानकोषको सम्पत्ति भैसकेकोले कोषले पर्यटक यातायात सेवा इकाई गठन गरी गठित इकाईबाट सञ्चालन गर्ने कार्यविधि सहितको प्रस्ताव मन्त्री श्रेष्ठलाई बुझाइएको हो । प्रतिवेदनमा विद्युतीय सार्वजनिक यातायातको भाडा दररेट, भ्यानहरुको बुकिङ प्रणाली र भाडा दर कायम गर्न प्रस्ताव गरिएको कोषाध्यक्ष भट्टराईले बताए ।

उनका अनुसार प्रस्ताव गरिएको भाडा दर यातायात व्यवस्था विभागले तोकेको प्रतिकिलोमिटर भाडाभन्दा केही प्रतिशत सस्तो हुनेछ । बस तथा भ्यानहरुको अग्रिम र नियमित बुकिङलाई डिजिटलाइज्ड गर्नुपर्नेसमेत प्रतिवेदनमा भनिएको छ । प्रस्तावमा लुम्बिनी विकास कोषको यो कार्यक्रमको ब्राण्ड नाम “धम्म यात्रा” राखिएको छ ।

धम्म यात्राले बृहत्तर लुम्बिनी क्षेत्र हुँदै दैनिक लुम्बिनी र एयरपोर्ट जोड्ने रुट अनुमतिको प्रस्ताव गरेको छ । प्रतिवेदनले इकाई गठनसँगै स्टाफहरु चालकहरु करार गर्ने प्रस्ताव गरेको छ भने ३ चरणका कार्ययोजना अघि सारेको छ । जसमा अफिसियल परीक्षण ५ दिन, घटस्थापनाबाट परीक्षण सञ्चालन २ महिनासम्म र त्यसपछि औपचारिक सञ्चालन गरी ३ वटा चरण प्रस्ताव गरेको छ ।

कोषलाई प्राप्त ५ बटा बस र १४ भ्यानहरु १२ करोडभन्दा बढी लागतका हुन् भने यसलाई चार्जिङ स्टेशन निर्माण गर्न झण्डै १४ करोड रुपैयाँको लागतमा सौर्य ऊर्जा केन्द्र निर्माण भएको छ । ६ भागमा बाँडिएको अध्ययन प्रतिवेदन ५६ पृष्ठको छ । कार्यविधि १२ पृष्ठको छ ।

प्रतिवेदनमा अध्ययनका कानुनी, प्राविधिक र आर्थिक पक्षको विश्लेषण, सञ्चालन मोडालिटी, बस र भ्यानहरुको रुट व्यवस्थापन, सञ्चालन कार्ययोजना, अनुमानित आयव्यय प्रक्षेपणसहित अनुसूचीमा प्रतिवेदनमा प्रस्तुत गरेका दावीहरुको प्रमाण राखिएको संयोजक भट्टराईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर