‘प्रकाश’ भित्रको अन्धकार – Nepal Press
समीक्षा

‘प्रकाश’ भित्रको अन्धकार

काठमाडौं । प्रकाश अर्थात उज्यालो । तर, नामतिर नजानुस् । अहिले ‘टक अफ दि टाउन’ बनेको चलचित्र ‘प्रकाश’ भित्र उज्यालो दुर्लभ छ । अन्धकार व्याप्त छ ।

रिलिजअगावै यसको फरक विषयवस्तुलाई लिएर चर्चामा थियो, प्रकाश । तर, हलहरुलाई नगद थुपार्ने ढुकुटीमात्रै बनाइरहेका प्रदर्शकहरुले यो आर्ट मुभीलाई कुनै महत्व दिएनन् । उनीहरुलाई साउथ इन्डियन फिल्म ‘लाइगर’ प्यारो भयो, जसले भारतमै ‘झूर’ दर्जा पाइरहेको छ ।

भनिन्छ, बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । प्रकाशको हकमा यही उखान चरितार्थ भयो । हलवालाहरुको पेलानविरुद्ध प्रकाशका मुख्य अभिनेता प्रदीप खड्काले मुख खोले । मुखमात्र खोलेनन्, उनी गर्जिए । उनको गर्जनको कम्पन मिडियादेखि हलसम्म पुग्यो । फलस्वरुप, हल सञ्चालकहरु शनिबार शो थप्न बाध्य भए ।

थपिएका शोलाई चलचित्रले पूर्ण सदुपयोग पनि गरेको छ । शुक्रबार दर्शकको खडेरी लागेको फिल्मले शनिबार उच्च व्यापार गर्‍यो । काठमाडौंका ७-८ वटा मल्टिप्लेक्स हाउसफुल भए । राजधानीबाहिरको व्यापार पनि केही अकासिएको छ । निर्माता-निर्देशकको अनुहारमा अलिकति मुस्कान फर्केको हुनुपर्छ ।

खैर, अब लागौं ‘समीक्षा’ तिर । सुरुमै भन्दा राम्रो होला, यो चलचित्र मनोरञ्जनका लागि होइन । चिन्तन-मननका लागि हो । खासमा ‘चलचित्र’ भन्दा बढी यो एउटा धारिलो तरवार हो, जसले देशका नीति निर्माता र राजनीतिकर्मीहरुमाथि शक्तिशाली प्रहार गरेको छ । जो यस देशको शासनसत्तामा छन्, उनीहरुले मुख छोपेर भए पनि हेर्नैपर्ने चलचित्र हो यो । फिल्म हेरेर फर्किएपछि मस्तिष्कमा राख्लान् वा नराख्लान् ? तर, फिल्म हेरुञ्जेल आफूहरुले गरिरहेको राजनीतिलाई पक्कै धिकार्नेछन् ।

प्रकाशमा के छ ? माथि नै भनियो, केवल अन्धकार छ । फुटकर उज्याला किरणहरु नदेखिने होइनन् । तर, त्यसको महसुस हुनै नपाइ अर्को अँध्यारोले ढाकिहाल्छ । विरक्ति नै विरक्तिमा चलचित्र सकिन्छ । यो आम दर्शकलाई मनोरञ्जन दिन बनेको चलचित्र होइन । एउटा मुस्तन्ड हिरोले सयौं ‘गुण्डा’को जत्थालाई एक्लैले पिटेर सोत्तर पार्ने हावादारी साउथ इन्डियन फिल्ममा इन्जोइ गरिरहेका नेपाली दर्शक ‘प्रकाश’ बाट बोर हुन सक्छन् । प्रकाशको ‘हिरो’ सँग त्यस्तो अद्भूत शक्ति छैन ।

कथित व्यवसायिक चलचित्रका गुणहरु केही पनि प्रकाशमा भेट्नुहुन्न । यसमा नायकनायिका रुखको वरिपरि घुमेर नाच्दैनन् । चलचित्रमा न गीत छ न त नायकनायिका छन् । यसभित्र सबै कलाकारमात्रै छन् । उनीहरुले अभिनय गर्छन् । तर, अभिनय जस्तो लाग्दैन । लवज, भेषभुषा र बडी ल्याङ्वेजले यस चलचित्रका कलाकारहरु वास्तविक जीवनमा शहरिया नै हुन् भन्ने विश्वास गर्न कठिन हुन्छ ।

नेपालको सबैभन्दा दुर्गम क्षेत्रका रुपमा चिनिन्छ कर्णाली । कर्णालीभित्रको पनि कर्णाली हो जुम्ला । यही जुम्लाको एउटा विकट बस्तीमा कठिन जीवनयापन गरिरहेका आमा–छोराको कथा उनिएको छ चलचित्रमा । राजनीतिकर्मी श्रीमान बेपत्ता भएपछि एउटी आमाले छोरालाई ‘शिक्षक’ बनाउन गरेको संघर्ष नै चलचित्रको कथासार हो ।
चलचित्रको मुख्य पात्र प्रकाशले ‘खुला’ मा फारम भरेर लिखित परीक्षामा नाम निकाल्छ । तर, उसको खुशी धेरै टिक्दैन । किन, कसरी ? यसका लागि चलचित्र नै हेर्नुपर्ने हुन्छ ।

भनिरहनु नपर्ला, चलचित्रको कथा मौलिक छ । पटकथामा पनि यो चाहिँ मिलेन भनेर खोट लगाउने ठाउँहरु छैनन् । कथावस्तुपछि चलचित्रको सशक्त पक्ष भनेको निर्देशन हो । ‘प्रसाद’ पछि निर्देशक दिनेश राउतले अर्को एउटा मास्टरपिस दिएका छन् । हरेक हिसाबले ‘अर्गानिक’ छ प्रकाश । यसको सबैभन्दा ठूलो श्रेय उनैलाई जान्छ ।

कर्णालीको जनजीवनलाई टपक्कै टिपेका छन् निर्देशक राउतले । सायद राम्रैसँग अध्ययन–अन्वेषण गरेको हुनुपर्छ । चलचित्रमा कर्णालीको माटोको सुगन्ध भेटिन्छ । दृश्यहरु आनन्ददायी छन् । देशको दूरदराजसम्म झांगिएको राजनीतिक सामाजिक बेथितिहरुलाई चलचित्रले उजागर गरिदिएको छ ।

अभियनतर्फ सबै कलाकारहरु आ-आफ्नो ठाउँमा सफल देखिन्छन् । निर्देशकको मेहनत कलाकारहरुको अभिनयमा झल्किएको छ । कमर्सियल फिल्महरुमा रोमान्टिक हिरोको छवि बनाएका अभिनेता प्रदीप खड्काका निम्ति प्रकाश एउटा च्यालेन्ज थियो । उनी यो च्यालेन्जमा पास भएका छन् । सबैभन्दा महत्वपूर्ण, प्रदीपले कतै पनि ‘ओभर ट्राइ’ गरेका छैनन् । सबै दृश्यमा उनी सहज देखिएका छन् । यद्यपि कतै पनि ‘वाउ’ भन्ने खालको अभिनय चैं छैन । जे होस्, उनका लागि यो एउटा माइलस्टोन चलचित्र हो ।

प्रदीपकी आमाको भूमिकामा छिन् दीया मास्के । ग्रामीण र दुःखी चरित्र दीयाका निम्ति नौलो होइन । प्रकाशमा पनि उनले आफ्नो भूमिकामा ज्यान भरेकी छन् । रियालिटी शो ‘हिमालयन रोडिज’ मा नानाथरि गाली गरेर प्रतियोगीलाई थर्काउने ‘जज’ यिनै हुन् भन्ने पत्याउनै मुस्किल पर्छ । सुनगाभाकी ‘लेज्बियन’ सुन्दरी प्रकाशमा ‘दुःखी आमा’ को अवतारमा उस्तै सफल छिन् ।

अन्य कलाकारहरुमा प्रकाश घिमिरे, पवित्रा खड्का, राजन खतिवडा, रेनु योगीलगायत सबैले आआफ्नो भूमिकालाई न्याय गरेका छन् । डेब्यू आर्टिस्ट रेनुको भूमिका अलिकति बढाइएको भए उत्तम हुन्थ्यो भन्ने लाग्छ ।

उठाइएका दुई मुद्दा

चलचित्रमा उठान गर्न खोजिएका मुख्य दुई मुद्दा छन् । पहिलो, शिक्षा क्षेत्रको राजनीतीकरण र भ्रष्टाचार, जुन दूरदराजसम्म व्याप्त छ । दोस्रो, सरकारी सेवामा जातीय आरक्षणको गलत नीति, जसले उपल्लो जातका नाममा गरिबहरुलाई उपेक्षा गर्छ ।

पहिलो मुद्दालाई सशक्त ढंगले नै उठाइएको छ । राजनीतिक कार्यक्रममा आफ्ना विद्यार्थी सहभागी गराउन नमान्दा हेडमास्टर विद्यालयबाटै खेदिन्छन् । शिक्षकमा नाम निकालिदिने आश्वासन दिएर एउटा भ्रष्टले गरिबको ९० हजार चप्काउँछ । सरकारबाट केही रकम क्षतिपूर्ति लिनकै निम्ति एउटा छोरा आफ्नो वेपत्ता बुवाको किरिया गर्न बाध्य हुन्छ । यी सबै घटनाक्रम यथार्थपरक छन् ।

दोस्रो मुद्दालाई चाहिँ चलचित्रले त्यति बलियोसँग वकालत गर्न सकेको छैन । कर्णालीको विपन्न परिवारमा जन्मेको तर कथित उच्च जातको युवालाई सरकारी सेवामा प्रवेश कति दुरुह छ भन्ने देखाउन खोजिएको छ । सम्भवतः कुनै पनि नेपाली चलचित्रले पहिलोपटक यसरी जातीय आरक्षणमाथि प्रश्न उठाएको हो ।

तर, एउटा ‘जेन्यून’ प्रश्न उठाइरहँदा लेखक र निर्देशक निकै डराएको भान हुन्छ । उनीहरुले भन्न चाहेको कुरा खुलेर भन्न सकेका छैनन् । देखाउन खोजेको कुरा राम्ररी देखाउन सकेका छैनन् । फलतः जातीय आरक्षणसम्बन्धी मुद्दा प्रभावकारी बन्न सकेको छैन ।

दुःखको ओभरडोज

पक्कै पनि चलचित्र कमजोरीमुक्त भने छैन । निर्माण पक्षले मनन गर्नुपर्ने पहिलो कुरा यो हो कि दर्शकहरु टिकट काटेर हलमा पसिसकेपछि पक्कै पनि केही मनोरञ्जनको आशा गर्छन् । तनावैतनावको जिन्दगीमा एकछिन मुड फ्रेस गरौं न त भनेर हल पुग्ने दर्शकहरुलाई चलचित्रले अन्यायमा पारेको छ ।

यस्ता दर्शकलाई टार्गेट गरिएको फिल्म त होइन । तर, चलचित्रको मुख्य थिमबाट विचलित नभइकन पनि मनोरञ्जनात्मक दृश्यहरु समावेश गर्न सकिने गुञ्जायस थियो । प्रकाश र राधाबीच अव्यक्त प्रेम झल्काउने र दर्शकलाई काउकुती लगाउने दृश्यहरु थप्न सकिन्थ्यो ।

चलचित्रमा सफ्ट ह्यूमर पनि भेटिन्छ । तर, एकदमै अपर्याप्त । दुःख र पीडाको भने ओभरडोज छ । अन्यायमा परेका पात्रहरुले चलचित्रभरि कहिल्यै न्याय पाउँदैनन् । जब अलिकति ‘खुशी’ का झिल्काहरु देखापर्छन्, फेरि अर्को दुःखले घेरिहाल्छ ।

सबैभन्दा ठूलो ब्लन्डर चाहिँ क्लाइमेक्समा भएको छ । खासमा चलचित्रभित्र क्लाइमेक्स नै छैन । जब ‘क्लाइम्लेक्स’ सुरु भएको ठानेर दर्शक आङ तताउँछन्, हठात् चलचित्र नै सकिन्छ । सकिएकै हो त ? भनेर दर्शक नै अलमलमा पर्ने अवस्था छ ।

परम्परागत मसला चलचित्रमा जस्तो गलत गर्नेहरुले अन्त्यमा सजाय पाएर ‘ह्याप्पी इन्डिङ’ हुने अपेक्षा यस चलचित्रमा गरिएको होइन । तर, जुन तरिकाले चलचित्र सिध्याइएको छ, मानौं सुटिङ गर्दागर्दै बजेट सकिएर प्याकअप गरिएको थियो । चलचित्र नै अधूरो जस्तो लाग्छ । निर्माता-निर्देशकले चाँडै पार्ट टु ल्याउनेबारे सोचून् ।

चलचित्रको कमजोरी त नभनाैं, एउटा ‘समस्या’ चाहिँ भाषा पनि हो । कर्णालीका जनताले बोल्ने स्थानीय लवजलाई टपक्क टिपिरहँदा दर्शक भने धेरै ठाउँमा अल्मलिन्छन् । ८० प्रतिशत भाषा बुझिन्छ, २० प्रतिशतमा अनुमान लगाउनुपर्छ । सायद शुद्ध नेपालीमा ‘सबटाइटल’ पनि राखिदिएको भए सजिलो हुन सक्थ्यो ।

जे होस्, सिरियस अडियन्सका लागि हेर्नलायक फिल्म हो प्रकाश । एक निमेषका लागि भए पनि यसले सबैलाई सोच्न बाध्य बनाउँछ । यसमा देशको माटो बोलेको छ । काठमाडौंको चारभञ्ज्याङ नकटेकाहरुलाई त यो चलचित्रका दृश्यहरु नेपालकै हुन् र ? भने जस्तो भान हुनसक्ला । कर्णाली र काठमाडौंबीचको दूरी रामै्रसँग यसले उजागर गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा भाग लिएर अवार्ड जित्न सक्ने क्षमता राख्ने चलचित्र हो प्रकाश । साथै, यस वर्षको ओस्कार अवार्डका निम्ति नेपालबाट मनोनयनमा परे आश्चर्य नहोला ।


प्रतिक्रिया

One thought on “‘प्रकाश’ भित्रको अन्धकार

  1. हेर्ने अवसर नपाए पनि यो बिश्लेषणले गर्दा हेर्नका लागि उत्प्रेरित बनाएको छ । हेर्नकालागी उत्सुक म भने लामो समय कुर्नु पर्ने स्थिती भने देखिन्छ किनकी म जुम्लाको पात्र भएर होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *