हेटौँडाको जनचेतना स्वावलम्बन सहकारीविरुद्ध ठगीको उजुरी, अध्यक्ष र कोषाध्यक्ष हिरासतमा – Nepal Press

हेटौँडाको जनचेतना स्वावलम्बन सहकारीविरुद्ध ठगीको उजुरी, अध्यक्ष र कोषाध्यक्ष हिरासतमा

हेटौँडा । सहकारी ठगीका खबर बाहिरिरहेको बेला हेटौँडाको एक सहकारीमाथि कारवाही माग गर्दै बचतकर्ताले उजुरी दिएका छन् ।

आफूले जम्मा गरेको रकम पटक-पटक फिर्ता माग्दा समेत नपाएपछि हेटौँडा उपमहानगरपालिका-२ स्थित जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारीविरुद्ध २३२ जना बचतकर्ताले मकवानपुर प्रहरीमा उजुरी दिएका हुन् । सञ्चालकहरूले ४६ लाखभन्दा बढी रकम हिनामिना गरेको बचतकर्ताको भनाइ छ ।

बचतकर्ताको उजुरीपछि सहकारी सञ्चालक समितिका अध्यक्ष धादिङ फूलखर्क घर भई हेटौँडा-८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारी र कोषाध्यक्ष हेटौँडा-८ का ३२ वर्षीय राजीव तामाङलाई प्रहरीले पक्राउ गरेको छ । हिरासतमा राखेर उनीहरूमाथि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । भदौ १ मै पक्राउ परेका दुवैजनालाई म्याद थप गरेर कारवाही प्रक्रिया अघि बढाएको कार्कीले बताए ।

यसरी भएको थियो ठगी

गत साउनमा काठमाडौं ग्वार्कोमा रहेको वेलहम्स बचत तथा ऋण सहकारी संस्थाको शाखा हेटौँडामा खुलेको थियो । सहकारीले पहिले केही दिन प्रभाव देखाउन १५ जना बजार प्रतिनिधि राखेर काम गरेको थियो । तर, काठमाडौंमा दर्ता भएको सहकारी यहाँ चलाउन नपाउने भएपछि वेलहम्सका सञ्चालक यमनारायण रजौटाले अधिकारी र तामाङसँग मिलेर हेटौँडा- १२, पदमपोखरीको जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी खरिद गरे ।

वेलहम्सको व्यावसायिक साझेदारका रूपमा जनचेतना स्वावलम्बन साकोसले नियमित बचत उठाउन थाल्यो । तर, रजौटाले आफ्ना साझेदारलाई धोखा दिँदै गत पुसमा बचतकर्ताको बचत र फर्निचरसहित ५१ लाख रूपैयाँ लिएर फरार भएपछि ठगीको घटना सार्वजनिक भएको हो । जनचेतनाका अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङले २०७९ जेठमा नै बचतकर्ताको रकम तिर्ने भन्दै चेक दिएका थिए । उनीहरूले रजौटाले आफूहरूलाई फसाएको बताएपनि सहकारीको रकम हिनामिनामा संलग्न देखिएपछि प्रहरीको रोहबरमा तीन महिनाको चेक दिइएको थियो ।

चेक साट्न जाँदा रकम नभएपछि बचतकर्ताको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । रजौटालाई भने प्रहरीले पक्राउ गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *