आइतबारदेखि एक सातासम्म मतदाता नामावली अध्यावधिक गर्ने कार्यतालिका – Nepal Press

आइतबारदेखि एक सातासम्म मतदाता नामावली अध्यावधिक गर्ने कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्ने भएको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म सङ्कलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्न लागेको हो ।

मतदाता नामावली निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा टास गरिएको आयोगका सचिव गोकर्णमणी दुवाडीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार आफ्नो विवरण भिडाई कुनै त्रुटि सच्याउनु परेमा, कुनै व्यक्तिको नाम हटाउनु परेमा, कसैको बिरुद्दमा उजुरी गर्नुपरेमा भदौ १५ गतेसम्म गरिसक्नुपर्नेछ ।

अद्यावधिक कार्यक्रम अनुसार मिति २०७९ भदौ १२ गते अर्थात आइतबारदेखि १९ गते अर्थात अर्को आइतबारसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत)को कार्यक्रम निर्वाचन कार्यालयमा सञ्चालन हुने आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषय कार्यक्रममा समावेश गरिएको छ ।

नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपछि प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि मिति २०७९ भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

२०७९ मंसिर ४ गते बिहिवार निर्वाचन हुने गरी नेपाल सरकारबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन घोषणा भएपछि निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुँदै आएको मतदाता नामावली संकलन कार्य २०७९ साउन २० गतेबाट स्थगित भइसकेको छ । आयोगले शनिबार नै एक सूचना जारी गर्दै मतदाता नामावली अध्यावधिक कार्यक्रममा सहयोग गर्नका लागि पनि सबै मतदातालाई अनुरोध गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *