प्रचण्डको दाबी- देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक – Nepal Press

प्रचण्डको दाबी- देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक परेको बताएका छन् ।

शनिबार बुटवलमा सञ्चचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले स्थानीय तहको चुनावमा आपसी गठबन्धन र तालमेल भनेजस्तो नभएपनि गठबन्धन दल र सरकार मिलेर चुनाव गराउनु नै ठूलो कुरा भएको जिकिर गरे । त्यस्तै प्रचण्डले स्थानीय तह चुनावको परिणाम जस्तो आएपनि देशलाई दुर्घटनाबाट बचाउन सफल भएकोले उपलब्धिमूलक मानेको धारणा राखे ।

प्रचण्डले देशलाई दुर्घटनाबाट जोगाउन गरिएको गठबन्धन आगामी चुनावमा थप बलियो हुने बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा गठबन्धनका बीचमा सन्तोषजनक परिणाम नआएपनि आगामी निर्वाचनमा गठबन्धन बलियो हुने उनले बताएका हुन् ।
पार्टीको कार्यकर्ता प्रशिक्षणका लागि शनिबार बुटवल आएका प्रचण्डले पत्रकारहरुसंग कुराकानी गर्दै स्थानीय तह निर्वाचनको परिणाम माओवादी केन्द्रका लागि सुखद नभएपनि त्यसबाट पाठ सिकेर अगाडि बढ्ने बताए । ‘गठबन्धन र तालमेल भनेजस्तो भएन तरपनि गठबन्धन र सरकार मिलेर स्थानीय तहको निर्वाचन सफल पारेर र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कामका लागि दोश्रो निर्वाचनको तयारी गरिएको हो, यसलाई सामान्यरुपले लिनुहुँदैन,’ प्रचण्डले भने ।

‘गठबन्धनले देशलाई ठूलो दुर्घटनाबाट बचाएको हो, देश बचाउनेमा गठबन्धनको भूमिका ठूलो छ तसर्थ स्थानीय तहको निर्वाचन परिणाम हेरेरभन्दा पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने हो’, सत्तारुढ दलका प्रमुख घटक माओवादीका अध्यक्ष प्रचण्डले भने ।

स्थानीय तह निर्वाचनमा भएको परिणाम लिएर प्रदेश र संघको निर्वाचनमा राम्रो नतिजा निकाल्ने प्रचण्डको भनाइ थियो ।

यसअघि प्रचण्डले लुम्विनी प्रदेशका अगुवाकार्यकर्ताहरुलाई आगामी निर्वाचनको तयारीबारे प्रशिक्षण दिएका थिए। उनीसँगै नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन बुटवल आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर