भदौ २२ भित्र प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्न एमालेको निर्देशन (भिडिओ) – Nepal Press

भदौ २२ भित्र प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्न एमालेको निर्देशन (भिडिओ)

काठमाडौं । नेकपा एमालेले भदौ २२ गतेभित्र प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ । केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले बन्दसूचीमा पेस गरिने उम्मेदवारको नाम सिफारिस गर्न भनेको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समानुपातिकको नाम सिफारिस गर्दा अवसरको न्यायोजित वितरण, सन्तुलन र समावेशी ढंगले पठाउनुपर्ने जानकारी दिए ।

जिल्लाले पठाउने निर्णय अन्तिम नभएकाले केन्द्रबाट हेरफेर हुने जानकारीसमेत दिए । त्यस्तै प्रत्यक्षतर्फका उम्मेदवारको सिफारिस गर्दा कम्तीमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्नुपर्ने निर्णय गरेको छ ।

उम्मेदवारको नाम सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटीबाट सिफारिस गर्ने र जिल्ला तथा प्रदेश कमिटीले आवश्यक राय सुझावसहित केन्द्रमा सिफारिस गर्नुपर्ने गुरुङले बताए । उनले सिफारिसमा परेका व्यक्तिले उम्मेदवार बनेको जसरी प्रस्तुत हुन नपाइने भन्दै तलबाट सिफारिस भएका नाम केन्द्रबाट हेरफेर पनि हुन सक्ने बताए ।

गुरुङले समानुपातिकमा एकपटक अवसर पाइसकेकालाई आमरुपमा फेरि नदोहोर्‍याइने बताए । स्थानीय तहका जनप्रतिनिधिलाई पनि राजीनामा गराएर प्रतिनिधिसभा तथा प्रदेशसभाको सदस्यमा उम्मेदवार नबनाइने भन्दै उनले अरु पार्टीबाट प्रवेश गरेकाहरुको हकमा विशेष निर्णय लिनु उपयुक्त हुने सुझाव आएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर