पशुपतिशमशेर ४१ वर्षदेखि चुनावी मैदानमा निरन्तर, ‘टेस्टेड’हरु मतदातालाई हर्ष न बिस्मात – Nepal Press

पशुपतिशमशेर ४१ वर्षदेखि चुनावी मैदानमा निरन्तर, ‘टेस्टेड’हरु मतदातालाई हर्ष न बिस्मात

सिन्धुपाल्चोक । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक २ नम्बर क्षेत्रीय समितिले पशुपतिशमशेर राणाको एकल नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा पार्टी केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले नै पुनः उम्मेदवारी दिने तयारी गर्दैछन् ।

नेकपा माओवादी केन्द्रबाट पनि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सभामुख अग्निप्रसाद सापकोटा नै उम्मेदवार हुने चर्चा छ । नेकपा एमालेबाट पोलिटब्युरो सदस्य अरुण नेपाल र केन्द्रीय सदस्य सरेश नेपालमध्ये एकजना क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने निश्चित छ । सिन्धुपाल्चोक २ मा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ नै उम्मेदवार हुने तय छ ।

सिन्धुपाल्चोकमा अहिले चर्चामा आएका प्रमुख चार राजनीतिक दलका उम्मेदवारहरु जनतामाझ कुनै नयाँ र नौला होइनन् । पशुपति शमशेरलाई छाड्ने हो भने कांग्रेस केन्द्रीय सदस्य बस्नेत र सभामुख सापकोटा ३१ वर्षदेखि निरन्तर चुनावी प्रतिस्पर्धामा छन् । एमाले स्थायी कमिटी सदस्य तामाङ पनि २८ वर्षदेखि चुनावी प्रतिस्पर्धामा छन् ।

सभामुख सापकोटा पहिलोपटक २०४८ सालमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट तत्कालीन राष्ट्रिय जनमोर्चाबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । उनले त्यो बेला थोरै मत ल्याएका थिए । २०५१ र २०५६ सालमा भएको निर्वाचनताका भने सापकोटा भूमिगत थिए ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा सापकोटा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि सापकोटा सोही क्षेत्रमा विजयी भएका थिए । २०७४ सालको निर्वाचन भने उनी एमाले र माओवादी गठबन्धनबाट क्षेत्र नम्बर १ मा विजयी भएका थिए ।

हाल सभामुख रहेका सापकोटा दुईपटक मन्त्रीसमेत भइसकेका छन् । सूचना तथा सञ्चार र वनमन्त्री भइसकेका सापकोटा मंसिर ४ गते हुने निर्वाचनमा पुनः उम्मेदवार हुने चर्चा छ । सत्ता गठबन्धनबाट उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा उठ्ने बताइएको छ । तर, सापकोटाले भने आफ्नो उम्मेदवारीबारे मुख खोलेका छैनन् ।

उनलाई रोक्न माओवादीकै एउटा टीम र कांग्रेसको पूरै टीम लागिपरेको छ । सापकोटाले पुनः टिकट पाउँदा माओवादीका अरु नेताले पालो पाउने सम्भावना छैन ।

सापकोटाले गठबन्धनबाट टिकट पाएर निर्वाचन जिते पनि सिन्धुवासीमा उत्साह भने नदेखिने माओवादी नेताहरु नै बताउँछन् । देशको सर्वाेच्च पदमध्ये एक सभामुख हुँदा पनि सापकोटाले सिन्धुपाल्चोक र आफ्नो क्षेत्रको विकासमा खासै भूमिका खेल्न नसकेको उनीहरुको आरोप छ ।

कांग्रेस केन्द्रीय सदस्य बस्नेतले त केन्द्रीय समितिको बैठकमै आफ्नो क्षेत्रमा गठबन्धन गरेर कम्युनिष्टलाई दिन नहुने भनाइ राखिसकेका छन् । २०४८ सालमा पहिलो पटक संसदीय निर्वाचनमा होमिएका बस्नेत सिन्धुपाल्चोक १ को लागि कांग्रेसमा निर्विकल्प नेता हुन् ।

२०४८ सालमा एमालेका अमृतकुमार बोहरासँग पराजित बस्नेतले २०५१ मा भने टिकट पाएनन् । २०५६, २०६४, २०७० र २०७४ को निर्वाचनमा निरन्तर उम्मेदवार हुँदै आएका छन् । उनी एक पटक राज्यमन्त्री र अर्को पटक सूचना तथा सञ्चारमन्त्री भएका थिए ।

उनी सांसद हुँदा जिल्लामा केही विकास निर्माणका योजनामा बजेट विनियोजन गरे पनि ‘कामभन्दा हल्ला बढी गर्ने’ नेताको रुपमा सिन्धुपाल्चोकमा परिचित छन् । त्यसैले उनी आगामी निर्वाचनमा उम्मेदवार हुनेबारे मतदाताहरुमा न उत्साह छ न त निराशा नै ।

पार्टीबाट लगातार टिकट पाउनेमध्ये एक हुन् एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ । २०५६ सालमा तत्कालीन मालेबाट उम्मेदवार भएका तामाङ त्यसपछि २०६४, २०७० र २०७४ का पनि उम्मेदवार हुन् । २०७० र २०७४ मा उनले निर्वाचनसमेत जितेका थिए । थोरै समय भए पनि दुई पटक मन्त्री  भइसकेका उनी एमालेमा तामाङ समुदायबाट शीर्षस्थ नेता भएकाले उनले फेरि अवसर पाउने निश्चित छ ।

त्यसैले तामाङले टिकट पाए पनि नपाए पनि मतदाताहरु हर्ष न बिस्मातको अवस्था देखिन्छन् ।

एमाले पोलिटव्युरो सदस्य अरुण नेपाल २०६४ र २०७० को संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट उम्मेदवार भएका थिए । दुइटै पटक पराजय भोगेका उनी २०७४ मा गठबन्धनबाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनी अन्तिम पटक भन्दै मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार हुने योजनामा छन् ।

त्यस्तै एमाले केन्द्रीय सदस्य सरेश नेपाल २०४९ सालदेखि नै जनप्रतिनिधिको भूमिकामा क्रियाशील छन् । गाविस अध्यक्ष, जिल्ला विकास समितिको सभापति, उपसभापति हुँदै २०७४ को निर्वाचनमा उनी प्रदेशसभामा निर्वाचित भएका थिए । उनी मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ ‘इन्ट्री’ गर्ने तयारीमा छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुवास कर्माचार्य २०५१, २०५६, २०६४ र २०७० मा उम्मेदवार भए पनि एक पटकमात्रै संसद हुन पाएका छन् । यो पटक उनी गठबन्धनबाट प्रदेशसभामै भए पनि उम्मेदवार हुने कसरतमा छन् ।

४१ वर्षदेखि निरन्तर उम्मेदवार

राप्रपाका पूर्वअध्यक्ष पशुपति शमशेर जबरा २०३८ सालदेखि निरन्तर सिन्धुपाल्चोकबाट जनप्रतिनिधि भइरहेका छन् । २०३८ बैशाख २७ गते सम्पन्न राष्ट्रिय पञ्चायत सदस्यबाट जनप्रतिनिधिको यात्रा सुरु गरेका राणा बहुदलीय व्यवस्थामा भएका तीन वटा निर्वाचनमा सिन्धुपाल्चोक ३ बाट निरन्तर जितिरहे ।

संविधानसभा निर्वाचन २०६४ र २०७० मा उनले पराजय भोगे । २०७४ मा नेपाली कांग्रेससँग मिलेर निर्वाचनमा होमिए पनि राणा एमालेका शेरबहादुर तामाङसँग हारेका थिए ।

पाको उमेर भए पनि राणामा अझै राजनीतिप्रतिको मोह घटेको छैन । त्यसैले अन्तिम पटक भन्दै राणा अझै चुनावी प्रतिस्पर्धामा आउन चाहेका छन् । तर, राणालाई यस पटक पनि सिन्धुपाल्चोकमा जित्न सहज छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर