बालेन पछ्याइरहेकी डीआईजी मीराको ‘अर्जुनदृष्टि’ – Nepal Press

बालेन पछ्याइरहेकी डीआईजी मीराको ‘अर्जुनदृष्टि’

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेपछि प्रहरी नायब महानिरीक्षक (डीआईजी) मीरा चौधरीले अनौपचारिक कुराकानीमा भनेकी थिइन्, ‘केही समयमा तपाईंहरु सरप्राइज हुनुहुनेछ ।’

सवारीसाधनका पछाडि लेखिने सायरी एवं गजल मेट्ने अभियान थालेर कार्यकाल सुरु गरेकी डीआईजी मीराले त्यसमा केही आलोचना पनि खेपिन् । साहित्यको मर्म बुझ्न नसकेको र सस्तो प्रचारमा आउन खोजेको आरोप उनीमाथि लाग्यो । तर, डगमगाइनन् । स्कुल बस र विद्यार्थीका सवारीसाधनमा बिहानै सुरु गरिएको मापसे चेकिङले भने उनलाई माइलेज दियो । स्कुल बस चालकहरुले मादकपदार्थ सेवन गरेर सवारी चलाउने गरेको भेटियो । सीट क्षमता र मापदण्डविपरीत चलाइराखेका स्कुल बसलाई ठाउँको ठाउँ कारबाही सुरु गरिन् ।

‘विद्यार्थी र बालबालिका बोक्ने सवारीसाधनहरुमा यस किसिमको लापरबाहीलाई सामान्य रुपमा लिन सकिँदैन’, डीआईजी चौधरी भनिन् । मापसे चेकिङलाई बिहानै अरु सवारीसाधनमा पनि विस्तार गरियो । मापसे नदेखिने तर नशामा भएको जस्तो देखिने शंकास्पद चालकहरुमाथि लागुपदार्थ सेवन गरे नगरेकोबारे पनि परीक्षण थालियो ।

‘यी त सामान्य काम हुन्’, मीराले उक्त अभियानको क्रममा भनेकी थिइन् । एकदिन बिहानै भएको मोबाइल सम्पर्कमा उनले काठमाडौंका क्लबहरु नक्सापासविनाका ठाउँमा सञ्चालन भइरहेको संकेत गरिन् । त्यसैबीचमा थाहा भयो- काठमाडौं महानगरपालिकाले नक्सा पासविपरीतका बेसमेन्टहरु खाली गर्न निर्देशन दिएको रहेछ ।

पार्किङ प्रयोजनमा नक्सापास भएका बेसमेन्ट व्यापारिक रुपमा प्रयोग भइरहेको पाइएपछि महानगर बिउँझिएको रहेछ । यसरी महानगरलाई बिउँझाउने काम डीआईजी मीराले गरेको ट्राफिक अधिकारीहरु दाबी गर्छन् । साउनको पहिलो साता निकालिएको ३५ दिने सूचनापछि काठमाडौं महानगरपालिका र उपत्यका ट्राफिक उत्साहित थियो ।

‘काठमाडौं उपत्यकाको ठूलो समस्या पार्किङ हो । सडक पेटीदेखि गाडी गुड्ने बाटोमा समेत पार्किङ हुँदा एकातर्फ सडक सौन्दर्यता बिग्रिएको छ भने अर्कोतर्फ जामको समस्या देखिएको छ । यसको लागि अन्य प्रयोजनमा प्रयोग भइरहेका बेसमेन्टहरु खाली गर्नु समाधानको उत्तम उपाय थियो’, काठमाडौं उपत्यका ट्राफिकका एक ट्राफिक अधिकृत भन्छन् ।

बेसमेन्ट खाली गर्ने योजना अघि सारेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई ट्राफिकबाट बलियो आडभरोसा पाउने विश्वास पनि दिलाइएको बताइन्छ । ३५ दिने सूचनाको म्याद सकिएलगत्तै काठमाडौं महानगरका मेयर बालेन यतिबेला डोजर लिएर अवैध संरचना भत्काउँदै हिँडिरहेका छन् । बालेनसँगै कहिले अगाडि त कहिले पछाडि देखिन्छिन् डीआईजी मीरा । निकै चनाखो मुद्रामा देखिने उनी कसैले प्रतिवाद गर्नेबित्तिकै महानगरको ‘डिफेन्स’ मा अघि सर्छिन् ।

काठमाडौं महानगरभित्रका सबै अवैध बेसमेन्ट संरचना खाली गर्नेमा दृढ देखिन्छन् बालेन र हरेक एक्सनमा बालेनसँगै उभिएर उनकाे आत्मबल बढारहेकी छन् डीआईजी मीरा । मीरा नेपाल प्रहरीको व्यवसायिक अधिकृत मानिन्छिन् । उनी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वसदस्य पनि हुन्।

उनकै ब्याचीहरु उनीजस्तो तेज दिमाग भएकी महिला प्रहरी अधिकृत नेपाल प्रहरीमा अहिलेसम्म अरु नदेखेको बताउँछन् । हुन पनि मीराले अपराध अनुसन्धानमा अग्रपंक्तिमा आउने काठमाडौं उपत्यका अनुसन्धान कार्यालय (तत्कालिन अपराध महाशाखा) देखि केन्द्रीय अनुसन्धान व्यु्रो (सीआईबी)मा रहेर काम गरेकी छन् ।

तत्कालीन अपराध महाशाखाले गरेको डन दिनेश अधिकारी ‘चरी’ को इनकाउन्टरदेखि सीआईबीले एयरपोर्ट बाहिर बरामद गरेको ३३ केजी सुनमा मीरा नै अप्रेसन कमान्डर थिइन् । उनको ब्याचबाट नेपाल प्रहरीले आगामी चैतमा नयाँ आईजीपी पाउँदैछ । उनी स्वयं आईजीपीको दावेदार हुन् ।

मीराले २०५१ चैतमा इन्सपेक्टरबाट प्रहरी सेवा सुरु गरेकी हुन् । त्यतिवेला एकसाथ भर्ना भएका चार जना महिला केही महिनाअघि एकैपटक डीआईजीमा बढुवा भएका थिए । नेपाल प्रहरीमा यति धेरै संख्यामा महिला अधिकृत एकैपटक डीआईजी बनेको यो पहिलो घटना हो । यसपटक बालेनलाई अघि सारेर मीरालाई काम गर्न सजिलो भइरहेको देखिन्छ । यसले उनलाई पनि चर्चामा आउन सघाएको छ।

नेपाल प्रेसले बिहीबार भिडियो अन्तर्वार्ताका लागि प्रस्ताव गर्दा उनले अझै केही दिन पर्खन आग्रह गरिन् । भनिन्, ‘अहिले भत्काउन थालिएका बेसमेन्टमा मोटरसाइकलहरु छिर्न थालेपछि कुराकानी गर्दा राम्रो होला कि !’


प्रतिक्रिया

One thought on “बालेन पछ्याइरहेकी डीआईजी मीराको ‘अर्जुनदृष्टि’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर