अल्फाबिटाका मालिकले नेताहरुसँग खिचेका तस्वीर भाइरल, महेश बस्नेत र बालेन्द्रको फेसबुक वार ! – Nepal Press

अल्फाबिटाका मालिकले नेताहरुसँग खिचेका तस्वीर भाइरल, महेश बस्नेत र बालेन्द्रको फेसबुक वार !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हिजो अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएसँगै सामाजिक सञ्जालमा केही तस्वीर भाइरल भए । अल्फाबिटाका सञ्चालक द्वीराज शिवाकोटीले विभिन्न दलका नेताहरुसँग खिचाएका तस्वीर सेयर गर्दै बालेन्द्रका समर्थकले उनलाई शक्तिकेन्द्रहरुसँग नजिक रहेको आरोप लगाइरहेका छन् ।

एमाले अध्यक्ष केपी ओलीसँग सिवाकोटीका परिवारले खिचाएको तस्वीर सबैभन्दा चर्चामा छ । कुनै सन्दर्भमा खिचाइएको तस्वीर अहिले दुरुपयोग गरिएको भन्दै एमाले पंतिले भने प्रतिवाद गरिरहेको छ । यही सन्दर्भमा एमाले नेता महेश बस्नेत र मेयर साहको सामाजिक सञ्जालमा जुहारी नै चलेको छ ।

बस्नेतले अल्फाबिटा कम्प्लेक्समा महानगरले डोजर चलाएको विषयमा स्टाटस लेखेका थिए । आफू र एमाले अध्यक्ष ओलीसँग सिवाकोटीले खिचाएको तस्वीर सेयर गरेका एक व्यक्तिको स्टाटसमा कमेन्ट गर्दै उनले दुईवटा अनुमान गरेका छन् ।

उनको स्टाटस यस्तो छ :
बालेन शाहले अल्फाबिटा कम्प्लेक्स , माथी डोजर किन लगाएको?
१. नक्सा पास अनुसार घर निर्माण नगरेको भएर?
२. हामीसँग नजिक भएर या फोटो लिएको कारण ?
पहिलो कारण हो भने जायज होला, नाजायज भएपनि सम्बन्धित पिडितहरुले कानूनी उपचार खोज्लान नै।
दोश्रो कारण हो भने त हामी समेत मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौ ।
कथित बुध्दिजीवी कल्याण जीहरुले बौध्दिक अराजकता नफिजाएकै राम्रो

बस्नेतको यस्तो स्टाटस आएपछि मेयर साह मौन बसेनन् । सामाजिक सञ्जालमा चर्को समर्थन पाइरहेका उनले बस्नेतलाई कडा जवाफ फर्काए । त्यसमा उनले बस्नेतको घर नक्शा पास भएको छ कि छैन भन्ने प्रश्न उठाएका छन् । बस्नेतको स्टाटसमा भन्दा साहको कमेन्टमा धेरै लाइक्स आएको छ ।

यस्तो छ बालेनको जवाफ:
तर, मेयरको यो जवाफले बस्नेत भड्किएका छन् । अर्को स्टाटस लेख्दै उनी साहमाथि आक्रामकरुपमा प्रस्तुत गरेका छन् । आफ्नो घरको नक्सा सुर्यविनायक नगरपालिकामा काजमा आउन बस्नेतको चुनौति छ ।

उनले लेखेका छन्, ‘तपाईंलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सुर्यविनायक नगरपालिकामा काजमा आउनुहोला ।’

मेयर साहलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लागेको बस्नेतको आरोप छ ।

उनले भनेका छन्, ‘हाम्रो तिर ध्वंस होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला ।’

२/४ सय फेसबुके फ्यान भए भन्दैमा नमात्तिन बस्नेतले साहलाई सुझाएका छन् ।
‘विगतमा यस्ता २/४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नैपर्ने भएको छ ।’ उनले भनेका छन् ।
हेर्नुस बस्नेतको स्टाटस ।

साह र बस्नेतको यो दोहोरीमा सामाजिक सञ्जालको चर्को समर्थन भने साहप्रति छ । बस्नेतको पछिल्लो स्टाटसमा अधिकांस आलोचनात्मक टिप्पणीहरु छन् । उनीहरुको टकरावले एमाले र काठमाडौंका मेयरबीच राजनीतिक द्वन्द्व उत्पन्न हुन सक्ने खतरा पैदा गरेको छ ।


प्रतिक्रिया

2 thoughts on “अल्फाबिटाका मालिकले नेताहरुसँग खिचेका तस्वीर भाइरल, महेश बस्नेत र बालेन्द्रको फेसबुक वार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर