नेकपा एस सुदूरपश्चिमका संस्थापक अध्यक्षले पार्टी छाडे – Nepal Press

नेकपा एस सुदूरपश्चिमका संस्थापक अध्यक्षले पार्टी छाडे

माधव नेपालले एमाले फुटाएर पुँजीवादीलाई फाइदा पुर्‍याएको आरोप

कैलाली । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमका संस्थापक अध्यक्ष तथा पोलिटब्युरो सदस्य विक्रमबहादुर शाहीले पार्टी छाडेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफू नेकपा एसमा नरहेको प्रष्ट्याएका हुन् । करिब ६ महिनादेखि निष्क्रिय रहेका शाहीले आजदेखि कुनै पनि दलको सदस्य नरहेको जनाए ।

२०५४ सालमा वामदेव गौतमले एमाले विभाजन गरेको सन्दर्भ उल्लेख गर्दै माधव नेपालको नेतृत्वमा एमाले विभाजन गरेर कांग्रेसलगायत पश्चिमा पुँजीवादीलाई फाइदा पुर्‍याएको उनको आरोप छ । आफूलाई त्यस कुराको पछुतो र आत्मग्लानी भएको समेत उनले स्पष्ट पारेका छन् ।

‘मलाई त्यो पाटीमा रहेकोमा पछुतो छ’ उनले नेपाल प्रेसलाई भने, ‘स्थानीय तहमा पनि कांग्रेसलाई नेता बनाए । अहिले पनि कांग्रेसलाई नेता बनाउने काम भइरहेको छ ।’

स्थानीय तहको निर्वाचन भन्दा अघिबाटै रुष्ट रहेको शाही पार्टी काममा निष्क्रिय भएपछि सचिवालय बैठकले मध्यअसारमा शाहीलाई हटाएर उपाध्यक्ष हर्कबहादुर सिंहलाई अध्यक्षमा जिम्मेवारी दिएको थियो । उनको अध्यक्षतामा अहिले प्रदेश कमिटी बैठकहरू चलिरहेका छन् ।
‘केही समयअघिबाटै उहाँ अध्यक्ष हुनुहुन्न’ सिंहले नेपाल प्रेसलाई भने ‘उहाँले पार्टी छोडेको विषयमा विज्ञप्ति आउँदैछ ।’

एमालेका तत्कालीन केन्द्रीय सदस्य रहेका शाही नेकपा एकीकृत समाजवादी परित्यागपछि एमालेमै फर्किने आँकलन गरिएको छ । उनी भने यो विषय अहिले भन्न नसकिने बताउँछन् ।

‘त्यो पार्टी (एमाले) त मैले पनि बनाएको हो । एक वर्ष भयो छोडेको । के हुन्छ त्यो भोलिको कुरा हो तर, अहिले नै त्यो भएको छैन’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर