वर्षमान पुनको टिप्पणी-एमाले पार्टी कर्पोरेट हाउस हो, ओली कर्पोरेटका सिईओ हुन् – Nepal Press

वर्षमान पुनको टिप्पणी-एमाले पार्टी कर्पोरेट हाउस हो, ओली कर्पोरेटका सिईओ हुन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले पार्टी नभई कर्पोरेट हाउस भएको टिप्पणी गरेका छन् ।
एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको र त्यसको सिइओ केपी ओली र अरु नेताहरु डाइरेक्टर र डेपुटी र डाइरेक्टरको भूमिकामा रहेको पुनले बताए ।

ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रमविहीन कम्पनीमा रुपान्तरण गरेको उनको भनाइ थियो । अधिकांश एमालेजन पार्टी पार्टीजस्तो नभई कर्पोरेट कम्पनी भएकोबारे जानकार भए पनि नाफाका लागि उनीहरु एमालेमै बसिरहेको उल्लेख गरे ।

‘एमाले पार्टी होइन, कर्पोरेट हाउस हो । ओली कर्पोेरेट हाउसमा सिईओ र अरु नेताहरु डाइरेक्टर, डेपुटी डाइरेक्टरजस्ता छन्’, पार्टीको बागमति प्रदेशअन्तर्गतका सबै जिल्लाका समन्वय समिति संयोजक र गाउँपालिका र नगरपालिका अध्यक्षहरुको संगठनात्मक कार्यशालालाई बुधबार साँझ राजधानीमा सम्बोधन गर्दै पुनले भने ।

एमाले विचार र सिद्धान्तमा नभई नाफा र स्वार्थका लागि चलेको आरोप उनले लगाए । ‘एमालेमा मानिसहरु बसिरहेको विचार र राजनीतिले होइन । ठूलो कार्पोरेट हाउसमा बस्दा फाइदा धेरै हुन्छ । ब्राण्ड बिक्छ, कर्पोरेटमा तलब/सुविधा बढ्छ, बोनस पाइन्छ भनेर हो’, पुनले भने, ‘कर्पोरेट हाउसमा कामदारहरु नाफाका लागि मिहेनत गर्छन्, ज्यान दिन पनि तयार हुन्छन् । एमालेका नेता कार्यकर्ता त्यस्तै भएका छन् ।’

उनले कर्पोरेट संस्कारमा हुर्किएका कारण एमाले कार्यकर्ताले केपी ओलीले दुईपटकसम्म संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्दा र व्यवस्थामाथि नै प्रहार बोल्दा पनि बोल्न नसकेको टिप्पणी उनको थियो ।

तर, माओवादी केन्द्र भने विचार, राजनीति र सिद्धान्त आधारित समाजवादी कार्यदिशा बोकेको पार्टी भएको दाबी पुनले गरे । उनले विचारलाई बोक्न सक्ने संगठन पनि आफूहरुसँग रहेको बताए ।

जनयुद्धका बेला पार्टीले सेना र संयुक्त मोर्चाको नेतृत्व गरेको भन्दै उनले आजको प्रतिस्पर्धात्मक राजनीतिमा समाजवादको आधार निर्माण गर्ने पार्टी चाहिएको बताए । ‘समाजवादको आधार निर्माणका लागि क्रान्तिकारी पार्टी चाहिन्छ । जुझारु कार्यकर्ता र जनताको समर्थन चाहिन्छ’, पुनले भने, ‘समाजको क्रान्तिकारी परिवर्तन र जनता तथा आफ्नै जीवनमा परिवर्तनका लागि पनि पार्टी चाहिने भन्दै सडकमा खबरदारी गर्ने, सदनमा जनताको आवाज बोल्न सक्ने र सरकारमा रहँदा जनताको पक्षमा काम गर्ने पार्टी चाहिएको छ ।’

पार्टीका हरेक कमिटीका अध्यक्ष वा मुख्य नेतृत्वलाई पियानो बाधकको संज्ञा दिँदै पुनले समितिको मुख्य नेता, मुख्य संगठक र मुख्य व्यवस्थापकका हैसियतले अध्यक्षहरुले पियानो बजाउँदा दुवै खुट्टा र दसवटै औंला चलाउनुपर्ने बताए । आफ्नो समितिका सदस्यहरुलाई विचारले नेतृृत्व गर्ने, भावनात्मक रुपले एकताबद्ध गर्ने र संगठनात्मक रुपले एकीकृत गर्नुका साथै जनतासँग जोडिएर जनभावनाअनुसार काम गर्ने गुण नेताहरुमा हुनुपर्ने चर्चा गरे ।

फरक प्रसंगमा पुनले गठबन्धन आवद्ध अरु दललाई बाँडेर बाँकी रहेको सिटमध्ये ६० प्रशितमा काँग्रेस र ४० प्रतिशत स्थानमा माओवादीले लिने गरी एकरदुई दिनभित्रै सिट बाँडफाँटको टुंगो लाग्ने बताए । केपी ओलीको दक्षिणपन्थी प्रवृत्ति र प्रतिगमनलाई निर्वाचनमार्फत पराजित गरिने भन्दै उनले आफूहरुले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर