दुबई उड्न लागेका ३९ महिला मध्यरातमा रोकिए, जजिराले किन राति सार्‍यो बिहानको फ्लाइट ? – Nepal Press

दुबई उड्न लागेका ३९ महिला मध्यरातमा रोकिए, जजिराले किन राति सार्‍यो बिहानको फ्लाइट ?

काठमाडौं । कुवेत हुँदै दुबई जान लागेका ३९ नेपाली महिलालाई त्रिभुवन विमानस्थलमै रोकेर प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

ती महिला बुधबार बिहान साढे ३ बजे जजिरा एयरलाइन्सको विमानमार्फत भिजिट भिसामा कुवेत हुँदै दुबई जान लागेका थिए । विमानस्थल प्रहरी प्रमुख श्याम ज्ञवालीले कागजपत्र शंकास्पद र अपुग भएका कारण राति १२ बजे चेकजाँचका क्रममा उनीहरूलाई रोकिएको बताए ।

‘शंकास्पद देखियो त्यसैले रोकेर अनुसन्धान गरिरहेका छौँ’, डीआईजी ज्ञवालीले भने । भिजिट भिसामा खाडी पुर्‍याएर घरेलु कामदारका रूपमा लगाउने गरेको पाइएपछि विमानस्थलमा कडाई हुने गरेको छ ।

खाडीमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा जान प्रतिबन्ध छ । मानव तस्करको गिरोहले भिजिट भिसाको आवरणमा मानव तस्करी गर्ने गरेको पाइएपछि प्रहरी र अध्यागमन चनाखो हुने गरेको छ ।

मध्यरातमा कम जाँच हुने विश्वासमा तस्करी गिरोह सक्रिय भएको हुन सक्ने प्रहरीको अनुमान छ । यसअघि बिहान साढे ३ बजेकै जजिराको उडानमार्फत जान लागेको अवस्थामा गत साता ४ जना महिलालाई पनि एयरपोर्टमै रोकेर अनुसन्धान गरिएको थियो । जजिराको जहाज बिहान साढे २ बजे नेपाल आएर साढे ३ मा फर्किने गरेको छ । यसअघि बिहान साढे ६ बजे आएर साढे ७ मा फर्किन्थ्यो । तर, बिहान ७ बजेको उडान अहिले बन्द गरेको छ ।

बिहानकै साढे ३ बजेको उडानका लागि चार्टर्ड परमिट भएपनि जजिराले त्यसैमा नियमित उडान गरिरहेको छ । नागरिक उड्ड्यन प्राधिकरणका एक अधिकारीले जजिराको नाममा बिहान साढे ६ बजे आएर साढे ७ बजे फर्कने नियमित उडान तालिका र बिहानको राती साढे २ बजे आएर साढे ३ बजे फर्कने चार्टर्ड उडान तालिका रहेको बताए । यस विषयमा जजिरा एयरलाइन्सका अधिकारीलाई सम्पर्क गर्न खोज्दा उनीहरुको कल उठेन ।


प्रतिक्रिया

One thought on “दुबई उड्न लागेका ३९ महिला मध्यरातमा रोकिए, जजिराले किन राति सार्‍यो बिहानको फ्लाइट ?

  1. अक्ख्तियार ले छान्बिन गर्नु पर्छ अब , सबै एजेन्ट , टिकट एजेनण्ट , सबै बजेट एयरलाइन्स छान्बिन को दायरामा आउनु पर्छ, अब अति भो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर