तङ्ग्रिँदै टीकापुर – Nepal Press

तङ्ग्रिँदै टीकापुर

कैलाली । सात वर्ष पहिले ९ जनाको ज्यान जाने गरि टीकापुरमा भएको एक घटनाले बिग्रेको यहाँको सामाजिक सद्भाव बिस्तारै लयमा आउन थालेको छ ।

०७२ असोज ३ गते तत्कालीन राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरेको थिए । त्यही संविधानमा आफूहरूको अधिकार सुनिश्चित गर्न भन्दै आन्दोलनमा रहेको यहाँका थारु समुदायहरू भने सात वर्ष पहिले आजको दिन कहिल्यै भुल्न सक्दैनन् ।

यहाँ कैलाली कञ्चनपुरलाई तराइका केही जिल्लामा जोडेर थारुवान/थारुहट राज्यको माग भइरहेको थियो । यता सुदूरपश्चिम विकास क्षेत्रमा रहेका सबै जिल्लालाई अखण्ड राखेर अखण्ड सुदूरपश्चिमको आवाज पनि बुलन्द भइरहेको थियो । थारु समुदायले कैलालीको टीकापुरस्थित सरकारी कार्यालयमा थारुवान प्रदेशको बोर्ड टाँस्न खोजेका थिए । त्यही क्रममा बोर्ड टाँस्न खोज्ने र रोक्नेबीच तनाव चुलियो । त्यसपछि २०७२ साल भदौ ७ गते आन्दोलन हिंसामा परिणत भयो । सरकारी कार्यालयमा थारुवानको बोर्ड टाँस्न थारु समुदायका आन्दोलनकारीहरू टीकापुर पस्न खोजेको जानकारीका आधारमा सेती अञ्चल प्रहरी कार्यालयका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेसहितको टोली सुरक्षाका लागि तैनाथ भएको थियो ।

तर सशस्त्र प्रहरीसँगको समन्वय अभावमा आन्दोलनकारीको भिडलाई प्रहरीले रोक्न सकेन । प्रहरीले रोक्न नसकेपछि उत्तेजित भिडले प्रहरीमाथि आक्रमण गरेको थियो । आक्रोशित आन्दोलनकारीले प्रहरीको टोलीमाथि तरबार, भाला र अन्य घरेलु हतियारले आक्रमण गरेका थिए ।

त्यही क्रममा एसएसपी न्यौपानेसहित आठ जना र एक जना दुधे बालकको आन्दोलनकारीले हत्या गरे । घटनाको भोलिपल्ट कर्फ्यु लागेकै बेला थारु समुदायका घरहरू खोजी खोजी आगो लगाइएको थियो । सोही दिन रेशम चौधरीले सञ्चालन गर्दे आएको फूलबारी एफएममा पनि आक्रमण भयो ।

घटनापछि केही वर्ष यहाँ थारु र पहाडी समुदायबीच सामाजिक सद्भाव खल्बलिएको थियो । तर, अहिले क्रमिक रुपमा सद्भाव बढ्दै गइरहेको छ । ‘सुरुका केही महिना र वर्षसम्म त समस्या थियो । पहाडी र थारु समुदाय दुवै आक्रोशित भएका थिए तर, अहिले सद्भाव कायम हुँदै गइरहेको छ’ नेकपा एमालेका नेता दीपक रावल भन्छन्, ‘सद्भाव बढाउनुपर्छ भन्नेमा अहिले थारु र पहाडी दुवै समुदायका नागरिकहरू लागिरहेका छन् ।’

घटना हुँदाको केही समयसम्म यहाँ दुवै समुदायका नागरिकहरू एक अर्कामा त्रसित रहेपनि अहिले त्यस्तो अवस्था नरहेको उनको बुझाइ छ ।

लामो समय यहाँ पत्रकारिता गरेका मातृका तिमिल्सेना पनि अहिले टीकापुरमा क्रमिक रुपमा सद्भाव फर्किँदै आएको बताउँछन् । तर, पुरानो घटनालाई स्मरण गराउँदै अतिवादीको खतरा भने नटरेको उनको विश्लेषण छ । अहिले सद्भाव बढी रहेको छ ।

उनी भन्छन्, ‘सबै मिलेर बस्नु पर्छ भन्ने सोच पनि बढ्न थालेको छ तर, यसैमा टेकेर राजनीति गर्ने क्रम भने पहिले भन्दा बढी देखिएको छ । अतिवादीको बाटोतर्फ लैजाने प्रयास भइरहेको छ यो चिन्ताको विषय हो ।’

टीकापुर नगरपालिकाका नगर प्रमुख राम लाल डगौरा थारु पनि अहिले पहाडी र थारु दुवै समुदायका नागरिकहरू सद्भाव फर्काउनुपर्छ भन्नमा लागिरहेको बताउँछन् ।

‘पहिले एकले अर्कालाई दोषी जस्तो गरी हेर्ने गरेको महसुस हुन्थ्यो तर, अहिले छैन’ उनी भन्छन् ‘अहिले पहाडी समुदायबाटै टिकापुर घटना राजनैतिक भएको भन्दै पक्राउ परेकाहरूको रिहाइको माग गरिरहेका छन् यो सबैभन्दा सकारात्मक पाटो हो ।’

सामाजिक सद्भावको लागि घटनाको स्मरण

आज टीकापुर घटना भएको ७ वर्ष पूरा भएको छ । आज टिकापुरमा नागरिक उन्मुक्ति पार्टीले त्यस दिनको स्मरण गर्दै सामाजिक सद्भाव फैलाउन आवश्यक रहेको जनाएको छ ।

नागरिक उन्मुक्तिले त्यस दिन ज्यान गुमाएका ९ जनालाई सहिद घोषणाको माग गर्दै सरकारले क्षतिपूर्ति दिनु पर्ने समेत जनाएको छ । उनीहरुले टीकापुर घटना राजनैतिक घटना भएको भन्दै पक्राउ परेका सबैलाई रिहाइको माग समेत गरेको गरेका छन् ।

अहिले टीकापुरमा थारु समुदायका नागरिकले मात्र होइन पहाडी समुदायका नागरिकहरूले पनि टीकापुर घटना राजनैतिक घटना भएको भन्दै उनीहरुले रेशम चौधरीको रिहाइको माग गर्न थालेका छन् ।

आज टीकापुरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधिहरूले टिकापुर घटना राजनैतिक घटना भएको बताएका थिए । कार्यक्रममा धारणा राख्ने नेकपा एकीकृत समाजवादीका रङ्ग उपाध्याय र नेकपा एमालेका धुर्व खत्री नेपाली कांग्रेसका नरेश खत्रीले टीकापुर घटनामा निर्दोषहरुलाई फसाइएको भन्दै रेशम चौधरीलाई रिहा गर्न माग गरेका थिए ।

कार्यक्रममा टीकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेर छुटेकाहरूले आफूहरूमाथि प्रहरीले अमानवीय व्यवहार गरेको समेत आरोप लगाएका थिए । टीकापुर घटनाको आरोपमा पक्राउ परेका नागरिकका परिवारले घटनाको सत्य तथ्य पत्ता लगाउन माग गरे । उनीहरुले आफ्नो परिवारका सदस्यहरुलाई बिना कारण पक्राउ गरेको भन्दै रिहाइको माग गरेका थिए ।

जिल्ला अदालत कैलालीबाट रिहा भएर उच्च अदालतले दोषी ठहर गरेका लक्ष्मण चौधरी पनि कार्यक्रममा उपस्थित थिए । उनले आफूहरू निर्दोष रहेको र फसाइएको बताए । उक्त घटनालाई राजनैतिक घटनाका रुपमा लिन सरकारसँग माग गरेका चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका थिए ।

कार्यक्रममा टीकापुर घटनाको दोषीका रुपमा डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीका पत्नी रन्जिता श्रेष्ठ चौधरीले पनि सरकार टीकापुर घटनामा गम्भीर बन्न आवश्यक रहेको बताएकी थिइन् । उनले भदौ ७ गते मात्र नभई भदौ ८ गतेको घटनामा पनि सरकार गम्भीर बन्नु पर्ने बताइन् ।

भदौ ८ गते यहाँका थारु समुदायका नागरिकहरूको घर छानीछानी जलाइएको थियो । टीकापुर घटनामा ज्यान गुमाएका राष्ट्र सेवक कर्मचारी र एक दुधे बालकलाई सरकारले सहिद घोषणा गर्नुपर्छ उनले भनेकी थिइन् टीकापुर घटना राजनैतिक हो यसलाई राजनैतिक दृष्टिकोणले हल गर्नुपर्छ ।

उनले पक्राउ परेका सबैलाई रिहा गर्न र पक्राउ नपरेकाहरुलाको मुद्दा फिर्ता लिन माग गरेकी थिइन् ।

को-को छन् कारागारमा ?

घटनाको करिब साढे ३ वर्षपछि २०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले रेशम चौधरीसहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

टीकापुर घटनामा संलग्न भएको ठहरसहित कैलाली जिल्ला अदालतले रेशम चौधरी सहित हरीनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, विरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, गंगाराम चौधरी र श्रवण चौधरीलाई जन्मकैद हुने फैसला गरेको थियो ।

श्रवण चौधरीलाई नाबालक भएकाले आधा अर्थात् १० वर्ष सजाय तोकिएको थियो ।
यस्तै, लक्ष्मण थारु, लाहुराम चौधरीलगायतका १२ जनालाई ३ वर्ष कैद तोकिएकोमा उनीहरु कैद भुक्तान गरेर छुटेका थिए ।

तर जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै उच्च अदालत दिपायलमा पुनरावेदन गरेपछि रिहा भइसकेका लक्ष्मण थारुलाई पनि जन्मकैद हुने फैसला सुनाइएको थियो ।

६ महिना कैद सजाय तोकिएका करण चौधरी पनि रिहा भएका छन् भने नुरुल अलि जागा भनिने तहाँवर अलि जागा, बिसराम चौधरी र रामनरेश चौधरीले सफाइ पाएका थिए । हालसम्म पनि फरार रहेका ३१ जनाको मुद्दा अदालतले मुलतवीमा राखेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर