वाम गठबन्धन नहुने एमालेको निष्कर्ष, वाम दलका नेता कार्यकर्तालाई आफूतिर तान्ने – Nepal Press

वाम गठबन्धन नहुने एमालेको निष्कर्ष, वाम दलका नेता कार्यकर्तालाई आफूतिर तान्ने

काठमाडौं । नेकपा एमालेले वाम गठबन्धनको सम्भावना नरहेको भन्दै एकढीक्का भएर चुनावको सामना गर्ने भएको छ । अब कुनै पनि गठबन्धनको नाममा पार्टीभित्र फरक-फरक धारणा आउन नहुने कुरा बैठकमा नेताहरुले उठाएका छन् ।

स्थायी कमिटीको बैठकमा घनश्याम भुसाल लगायत केही नेताले वाम गठबन्धनको पहल गर्नुपर्ने बताए पनि आफूलाई वामपन्थी भन्नेहरु कांग्रेस छाडेर फर्किने अवस्थामा नरहेकाले त्यसमा अलमलिन नहुने निष्कर्ष बैठकले निकालेको छ ।

‘प्रचण्ड र माधव नेपालहरु कांग्रेस छाड्नै नसक्नेगरी गठबन्धनमा बसेका छन् । उनीहरु एमालेकोविरुद्ध ८ दलीय गठबन्धन बनाउने भनेर हिँडेका छन् यस्तो बेला हामीले वामपन्थी गठबन्धन भन्नुको अर्थ छैन । त्यहाँभित्रका नेता कार्यकर्तालाई आफूतिर ल्याउने हो’ अधिकांश स्थायी कमिटी सदस्यको भनाइ थियो ।

बैठकमा प्रदेश १ का पूर्वमुख्यमन्त्री समेत रहेका नेता शेरधन राईले स्थानीय चुनावमा देखिएका कमजोरी दोहोरिन नदिने गरी पार्टीभित्र अध्यक्ष केपी ओलीको स्वरमा सबैको एक स्वर हुनुपर्ने बताएका थिए । उनले पार्टी पंक्तिलाई अन्योल हुने अभिव्यक्ति दिन नहुने भन्दै अध्यक्षको स्वरमा सबैको एकमत हुनुपर्ने धारणा राखेका थिए ।

बैठकमा घनश्याम भुसाल, रघुजी पन्त, हिक्मत कार्की, शेरधन राई, शेरवहादुर तामाङ लगायतका नेताहरुले धारणा राखेका थिए । गण्डकी बाहेक ६ वटा प्रदेशका इन्चार्जले त्यहाँको शक्ति सन्तुलको अवस्थाबारे रिपोर्टिङ गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारको मापदण्ड प्रस्ताव गरेको छ । सो प्रस्तावमाथि सबैको सुझाव लिएर केन्द्रीय कमिटीले पारित गर्ने गुरुङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर