महोत्तरी ३ मा महन्थलाई डर, गठबन्धनमा आउँदा पनि जसपाले देला भर ? – Nepal Press

महोत्तरी ३ मा महन्थलाई डर, गठबन्धनमा आउँदा पनि जसपाले देला भर ?

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर ७४ को संसदीय निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ बाट १८ हजार बढी मतान्तरले विजयी भएका थिए । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट ठाकुर २६ हजार ८४५ मत ल्याएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीले ८ हजार ६७६ मत पाएका थिए ।

ठाकुरलाई उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम, नेपाली कांग्रेस र माओवादीले सहयोग गरेको थियो । उनी मंसिर ४ को चुनावमा पनि यही क्षेत्रबाट लड्ने तयारीमा छन् । तर, यो पटक निर्वाचन जित्न ठाकुरका लागि सहज देखिन्न ।

आफू र आफ्ना दलका शीर्ष नेताहरूको सीट सुरक्षित गर्न ठाकुर सत्ता गठबन्धनमा प्रवेश खोज्दै छन् । यो छलफलकै चरणमा छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा लोसपालाई गठबन्धनमा सहभागी गराउन सकारात्मक छन् । दुई नेताबीच यस विषयमा पटकपटक छलफल भइसकेको छ ।

ठाकुरविरुद्ध दीपेन्द्र र कृष्णाको चर्चा

यो पटक ठाकुरविरुद्ध जसपाबाट दीपेन्द्र झा र नेपाली कांग्रेसबाट कृष्णा सिंहको चर्चा छ । झा मधेस प्रदेशका मुख्य न्यायधिवक्ता हुन् । सत्ता गठबन्धनको तर्फबाट महोत्तरी ३ जसपाको भागमा पार्ने र झालाई ठाकुरविरुद्ध उतार्ने उपेन्द्र यादवको रणनीति छ । झा पनि चुनावी तयारीमा लागिसकेका छन् ।

सिंह केही महिनाअगाडि मात्र कांग्रेसमा प्रवेश गरेका हुन् । उनी लोसपाका प्रवक्ता थिए । महन्थ ठाकुरको विश्वास पात्रको रूपमा चिनिने सिंहलाई कांग्रेस सभापति देउवाले स्थानीय चुनावअघि नै पार्टी प्रवेश गराए ।

एमालेबाट अहिलेसम्म कसैको चर्चा बाहिर आएको छैन ।

महोत्तरी क्षेत्र नम्बर ३ मा एकडारा गाउँपालिका, मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका र पिपरा गाउँपालिका पर्छ । जसमध्ये मटिहानीमा मेयर-उपमेयर लोसपाले जितेको छ । बाँकी तीनै पालिकामा जसपा विजयी भएको छ । यस क्षेत्रमा जसपा हाबी भएकाले महन्थलाई छाड्ने सम्भावना न्यून छ ।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा यस क्षेत्रमा जसपा सबभन्दा बलियो देखिएको छ । पालिका प्रमुखहरूले ल्याएको मत अनुसार जसपाले २० हजार ६१ मत पाएको छ । यस्तै लोसपाले १४ हजार ८२१ मत, एमालेले ९ हजार ८१० र कांग्रेसले ६ हजार ४३३ मत पाएको छ । माओवादी, नेकपा एस र जनमत पार्टी यस क्षेत्रमा कमजोर छन् ।

स्थानीय तहको मतपरिणाम हेर्दा ठाकुरले एमालेसँग गठबन्धन गरेर जाँदा पनि सफलता हासिल गर्ने सम्भव छैन । एमाले र लोसपाको मत जोड्दा २४ हजार ६५१ हुन्छ । जबकी सत्ता गठबन्धनमा रहेका जसपा र कांग्रेसको मत मात्र जोड्दा २६ हजार ४९४ पुग्छ ।

यो क्षेत्रमा कमजोर रहेका माओवादीसँग पनि करिब साढे ३ हजार र नेकपा एससँग एक हजार बढी मत छन् । माओवादी र नेकपा एसको करिब चाढे ४ हजार मत सत्ता गठबन्धनमा जोड्दा ठाकुर झन कमजोर देखिन्छन् । सत्ता गठबन्धनमा सामेल नभए ठाकुरलाई चुनाव जित्न धौ धौ पर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर