निर्वाचनपछि माओवादीसँग एकता : झलनाथ खनाल – Nepal Press

निर्वाचनपछि माओवादीसँग एकता : झलनाथ खनाल

रुपन्देही । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पाँच दलीय गठबन्धनलाई बलियो बनाएर आगामी मङ्सिरमा हुने चुनावमा जानुको विकल्प नरहेको बताएका छन् ।

एकीकृत समाजवादीले सोमबार पाल्पाको तानसेनमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खनालले पाँच दलकोबीचमा बलियो सम्बन्ध बनाएर चुनावी तयारी गर्नुपर्ने बाध्यता रहेको तर्क गरेका छन् ।

पूर्व प्रधानमन्त्री खनालले नेकपा एमालेबाट प्रवेश गरेका तानसेनका निवर्तमान नगर प्रमुख अशोककुमार शाही, उपप्रमुख लक्ष्मीदेवी पाठकलगायतलाई स्वागत गर्दै एमालेबाट अझ धेरैले विद्रोह गर्ने दाबी गरे।

विद्रोह गरेर आउने नेता कार्यकर्तालाई पार्टीले उचित जिम्मेवारी दिने बताउँदै उनले भने–‘सच्चा क्रान्तिकारीहरूको विद्रोह ढिलो चाँडो भन्ने हुँदैन त्यसले देश विकास र समृद्धिको विकासमा ठूलो महत्त्व राख्नेछ ।

नेता खनालले दुई तिहाइको सरकार हुँदा केपी ओलीले जनताको पक्षमा कामै गर्न नसकेको आरोप लगाउँदै जनताले दुई तिहाई मतसहित देश विकासको म्यान्डेड दिएको भएता पनि ओलीले त्यसलाई लत्ताएर स्वेच्छाचारी र व्यक्तिवादी भएकोले विद्रोह भएको बताए।

ओलीले उन्माद भएर दुई दुई पटक संसद् भंग गरेको, पार्टीको नीति सिद्धान्तभन्दा बाहिर काम गरेको, व्यक्तिवादी निर्णय हावी भएको कारण बाध्य भएर आफूहरूले त्यसको विरोध गरेको उनको दाबी थियो ।

नेता खनालले विचार मिल्नेसँग एकता हुनसक्ने बताउँदै वामपन्थी शक्तिहरू आफ्नै दम्भका कारण अब मिल्ने अवस्थामा नरहेको तर्क गरेका छन् ।

खनालले पाँच दलका बीचमा भएको सिट बाँडफाँडको लगभग टुङ्गो लागिसकेको र नेकपा एकीकृत समाजवादी र माओवादी पार्टीको विचार लगभग समान रहेकाले निर्वाचनपछि पार्टी एकता हुनसक्ने बताए।

‘समान विचार र दृष्टिकोण भएका पार्टीसँग हाम्रो एकता हुन्छ, अहिले माओवादीसँग विचारले हामी नजिक छौँ निर्वाचनपछि पार्टी एकता प्रक्रिया अगाडि बढ्छ’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर