जुम्लामा ‘प्रकाश’को वर्ल्ड प्रिमियर : स्थानीयको प्रतिक्रिया पछि प्रदीप भन्छन्- ‘प्रकाश’ले सार्थकता पायो – Nepal Press

जुम्लामा ‘प्रकाश’को वर्ल्ड प्रिमियर : स्थानीयको प्रतिक्रिया पछि प्रदीप भन्छन्- ‘प्रकाश’ले सार्थकता पायो

काठमाडौं । चलचित्र ‘प्रकाश’को वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । जुम्लाको दुर्गम गाउँ तिर्खुमा चलचित्रको वर्ल्ड प्रिमियर सम्पन्न भएको हो ।

भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको आइतबार साँझ पातारासी गाउँपालिकाको तिर्खु गाउँमा अवस्थित ऋण मोक्ष माध्यमिक विद्यालयको परिसरमा प्रिमियर गरिएको हो ।

चलचित्र हल समेत नभएको उक्त गाउँमा प्रोजेक्टर बाट चलचित्र प्रदर्शन गरिएको हो । बिजुली समेत नभएका कारण चलचित्र टिमले प्रिमियरका लागि जेनेरेटर समेत आफैले लिएर गएको थियो । प्रिमियरमा चलचित्रका नायक प्रदीप खड्का र लेखक विकास सुबेदी सहभागी भएका थिए ।

दुबैलाई स्थानीय बासिले झाकि सहित स्थानीय संस्कार अनुसार फुलमाला र फेदा लगाएर स्वागत गरेका थिए ।

४५ दिन सम्म तिर्खु गाउँमा नै चलचित्र छायाङ्कन गरिएको हो । निर्देशक दिनेश राउतले जुम्लाको भाषा, संस्कृति, रहन सहन, रीतिरिवाजका माध्यमबाट कथा भनिएका कारण पहिलो दर्शकका रूपमा त्यहीका स्थानीय जनता माझ चलचित्रको प्रिमियर गरिएको जनाएका छन् ।

प्रिमियरमा चलचित्र हेरेका स्थानीय बासिले चलचित्रलाई निकै मन पराएको प्रतिक्रिया दिएका छन् । उनीहरूले आफ्नै भोगाई चलचित्रमा हेर्न पाएको भन्दै खुशी व्यक्त गरे । जुम्लालाई टपक्कै टिपेर चलचित्रमा देखाएको भन्दै स्थानीय बासिन्दाले चलचित्रको मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

प्रिमियर पछि एक स्थानीयले चलचित्र हेर्दै गर्दा आफ्नै भाइ–छोरा, छोरी, आमालाई नै पर्दामा देखेको जस्तो अनुभूति भएको प्रतिक्रिया दिए ।

धेरै स्थानीय बासिन्दाले आफूहरूले भोग्दै आएको वर्ग विभेद चलचित्रमा प्रष्टसँग देख्न पाइएको पनि बताएका छन् । राज्यबाट उपेक्षित हुनु परेको भन्दै उनीहरूले आफूहरूको वास्तविक जीवन शैली बुझ्न पनि चलचित्र हेरिदिन आग्रह गरेका छन् ।

प्रिमियरमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो । विद्यालय परिसरमा प्रोजेक्टर बाट चलचित्र देखाइएका कारण स्थानीयहरू भुईँमै बसेर चलचित्र हेरेका थिए ।

स्थानीयको प्रतिक्रिया पछि चलचित्रका नायक प्रदीप खड्काले ‘प्रकाश’को प्रिमियर आफ्ना लागि सम्झन योग्य क्षण भएको बताएका छन् । स्थानीयको मायाले पुकलित बनेका प्रदीप चलचित्रका प्रति प्राप्त प्रतिक्रियाले उत्साहित छन् ।

आफूले ‘प्रकाश’मा काम गर्दै गर्दा सोच्दै नसोचेको माया र प्रतिक्रिया स्थानीयबाट प्राप्त गरेको उनको भनाई छ । स्थानीयहरूले हाम्रै भाइ छोरा जस्तो देखिएका छौँ भनी दिएको प्रतिक्रियाले आफूले गरेको पात्रले सार्थकता पाएको उनको बुझाई छ ।

यता लेखक विकास सुबेदी पनि निकै उत्साहित देखिए । उनले आफूले जे सोच अनुरूप चलचित्र लेखेको हो स्थानीयले चलचित्र हेरेर सोही अनुसारको प्रतिक्रिया दिएको बताए । हाम्रो कुरा भन्ने कोही त रहेछ भनेर उहाँहरूले देखाउनु भएको आफ्नो पन नै चलचित्रको सफलता भएको उनको बुझाई छ । स्थानीय बासिन्दाले आफ्नो भोगाई दुरुस्तै पर्दामा उतारेको भन्दै प्रशंसा गरेका छन् ।

दिनेश राउत निर्देशित चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट वर्गीय विभेदको कुरा पनि उठाइएको छ । चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । विकास सुबेदीको लेखन रहेको चलचित्र यति बेलाको बहुप्रतिक्षित चलचित्र हो ।

चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

शुक्रवार बाट प्रदर्शन हुने चलचित्रले बुधवार काठमाडौं प्रिमियरको आयोजना गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर