बुटवलमा खर्च घटाउन कर्मचारीको सुविधा काटियो – Nepal Press

बुटवलमा खर्च घटाउन कर्मचारीको सुविधा काटियो

रुपन्देही । बुटवल उपमहानगरपालिका कार्यपालिकाको बैठकले खर्च घटाउनका लागि कर्मचारीका लागि दिँदै आएको सुविधा कटौती गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले नगरको खर्चमा मितव्ययिता अपनाउनका लागि कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको प्रवक्ता शिव रानाले जानकारी दिए ।

बैठकले वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत गर्दै मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघभित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरुको सम्झौता गर्ने निर्णय भएको छ ।

स्वीकृत तालिकाअनुसार साउनदेखि कात्तिकसम्म योजनाहरूको लगत स्टिमेट गर्ने, उपभोक्ता समिति गठन गर्ने र मंसिरमा सम्झौता गरेर जेठसम्म योजना सम्पन्न गर्नुपर्नेछ ।

क्रमागत योजनाहरू मंसिरसम्म सम्पन्न गर्ने र जेठभित्र योजनाहरुको सुपरिवेक्षण, अनुगमन र फरफारक गरिसक्नुपर्ने गरी तालिका स्वीकृत गरिएको छ ।

नगरभित्रका अव्यवस्थित बसोबासीको जग्गा ब्लक छुट्याउने काम सम्पन्न भएका जग्गाको नापनक्सांकन प्रक्रिया अघि बढाउने र बुटवल १५ कर्साघाटमा निर्माण हुने आधुनिक प्रविधियुक्त कृषि उपजथोक बजारसम्बन्धी आयोजना प्राथमिकता प्राप्त आयोजनाका रुपमा अघि बढाउने निर्णय गरिएको छ ।

यसैगरी लुम्बिनी बस टर्मिनलको आय ठेक्काको न्यूनतम अंक तोक्ने, आर्थिक कार्यसञ्चालन निर्देशिका २०७८ संशोधन गर्ने, वार्षिक खरिद योजना स्वीकृत गर्ने र कर्मचारी विधेयक २०७९ लोकसेवा आयोगसँग परामर्श गरी अघि बढाउने निर्णय गरेको पनि रानाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *