‘कुकुर कामी’ हटाएर कविरामले पाए नागरिकताको प्रतिलिपि – Nepal Press

‘कुकुर कामी’ हटाएर कविरामले पाए नागरिकताको प्रतिलिपि

काठमाडौं । दैलेखको भगवतीमाई गाउँपालिका –३ मेहेतोलीका कविराम कामीले ‘कुकुर कामी’ हटाएको नयाँ नागरिकताको प्रतिलिपि प्राप्त गरेका छन् ।

कविरामले नाम सच्याई पाउ भनेर निवेदन दिएको केहि दिनपछि उनलाई जिल्ला प्रशासन कार्यालय दैलेखले नागरिकताको प्रतिलिपि उपलब्ध गराएको हो ।

गृह मन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे आवश्यक प्रक्रिया पूरा गरी सबै जिल्ला प्रशासन कार्यालयलाई नाम थर सच्याउन नागरिकताको प्रतिलिपि दिन निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले त्यसै आधारमा कविरामको नाम सच्याएर प्रतिलिपि उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

२०४६ जेठ १० गतेको गाउँमा नागरिकता टोली गएको बेलामा कविरामको नाम तत्कालीन प्रधानपञ्चको सिफारिसमा ‘कुकुर कामी’ उल्लेख गरिएको थियो ।

कविरामलाई आइतबार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नयाँ नागरिकताको प्रमाणपत्र दिएका हुन् । नागरिकता प्रमाणपत्र लिन उनी वडा कार्यालयको सिफारिससहित जिल्ला प्रशासन कार्यालय दैलेख पुगेका थिए ।

३३ वर्षपछि नागरिकतामा वास्तविक नाम पाएपछि कविराम खुसी भएका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार आफ्नै नामबाट नागरिकता पाउला भन्ने आशा नगरेका कविरामले नाम सच्याएर नागरिकता पाएपछि असाध्यै खुसी भएको कविरामलाई उद्धृत गर्दै प्रजिअ प्याकुरेलले बताए ।

नागरिकतासँगै कविरामको ‘कुकुर कामी’ नाम उल्लेख भएका अन्य प्रमाणपत्र सच्याउनका लागि जिल्ला प्रशासन कार्यालयले सिफारिस पनि गरिदिने जनाइएको छ ।

‘कुकुर कामी’ भएकै कारण कविरामका २ छोराले नागरिकता र नातिले जन्म दर्तासमेत गरेका थिएनन् । प्रमुख जिल्ला अधिकारीका प्याकुरेलका अनुसार दैलेख जिल्लामा अन्य व्यक्तिका पनि यस्ता खालमा नाम भएको पाइएकाले उनीहरूले पनि नाम सच्याउनका लागि निवेदन दिए सच्याइने छ ।

त्यसका लागि जिल्ला प्रशासन कार्यालयले केहि दिन अघि नै सार्वजनिक सूचना जारी गरिसकेको छ भने सबै स्थानीय तहका जनप्रतिनिधिलाई पनि त्यस्ता नामावली संकलन गरेर सच्याउने प्रक्रिया अघि बढाउन भनिसकेको प्रजिअ प्याकुरेलले बताए ।

यस्तै ‘ठगे कामी’ लेखिएका कर्णबहादुर विकको नागरिकता पनि प्रशासनले सच्याएकाे  छ । भगवतीमाई गाउँपालिका–५ का कर्णबहादुरको नयाँ नागरिकताको प्रमाणपत्र जारी भएको छ । नामकै कारण अपमानित हुनुपरेका कर्णबहादुरले साउन २९ गते जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर