दुई कृष्णको संयोग- पञ्चायतपछिको साताैं चुनावका आठौं प्रत्याशी – Nepal Press
आम चुनाव-२०७९

दुई कृष्णको संयोग- पञ्चायतपछिको साताैं चुनावका आठौं प्रत्याशी

काठमाडौं । राजनीति गर्ने व्यक्ति कतिपटकसम्म निर्वाचन लड्न चाहन्छ ? बढीमा दुई पटक, तीन पटक वा पाँच पटक ! नेपालको संविधानले स्थानीय तहमा बाहेक अन्य पदमा यति पटकमात्र चुनाव लड्न पाउने भनेर तोकेको छैन ।

स्थानीय चुनावको सवालमा राखिएको प्रावधान प्रतिनिधिसभाको हकमा पनि राखिएको भए नेपालका अधिकांश नेताहरु आउने चुनावका लागि उम्मेदवार बन्नै अयोग्य हुने थिए ।

जीवित नेताहरुमध्ये राप्रपाका पशुपति शमशेर जबरा सबैभन्दा बढी चुनाव लड्नेमा पर्छन् । किनभने उनले पञ्चायतकालमै तीनवटा चुनाव जितेका थिए । ८१ वर्षीय राणाको नाम यसपटकको चुनावको लागि पनि सिफारिस भइसकेको छ । यो उनको बहुदलकालपछिको सातौं चुनाव हो भने पञ्चायतकालदेखिको हेर्दा दशौं हो ।

अधिकांश शीर्ष नेताहरुले पञ्चायतपछिका ६ वटा आम निर्वाचन भिडिसकेका छन् । आगामी मंसिर ४ मा हुने सातौं निर्वाचनको तयारीमा देश जुट्दा दुई कृष्ण- कृष्णप्रसाद सिटौला र कृष्णगोपाल श्रेष्ठ भने आठौं पटक निर्वाचनमा प्रतिस्पर्धा गर्ने मुडमा छन् ।

पञ्चायतपछि हालसम्म ६ वटामात्रै आम निर्वाचन भएको छ । सातौं चुनावको मिति आगामी मंसिर ४ लाई तोकिएको छ । यी दुई कृष्णलाई भने सातौं आम निर्वाचनमा आठौं पटक प्रत्यक्ष लड्ने अवसर मिलेको छ । यस्तो मौका विरलैलाई जुर्छ । यी दुईकाे अर्काे समानता- दुवै नेता तीन वटा निर्वाचनमा विजयी भएका छन्, भने चार निर्वाचनमा पराजित भएका छन् ।

चार हारपछि सफल, कृष्णगोपाल

नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठ २०४८ को आम निर्वाचनमा उम्मेदवार थिएनन् । तर पनि उनी बहुदलपछि सबैभन्दा धेरैपटक चुनाव लड्ने नेतामा पर्छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारी २०४८ को निर्वाचनमा काठमाडौं १ र ५ बाट निर्वाचित भएका थिए । काठमाडौं १ मा उनले नेपाली कांग्रेसका सभापति तथा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र ५ मा हरिबोल भट्टराईलाई पराजित गरेका थिए । कुनै एक निर्वाचन क्षेत्र छाड्नुपर्ने भएपछि भण्डारीले ५ नम्बर छाडे । त्यहाँ भएको उपनिर्वाचनमा श्रेष्ठले पहिलोपटक निर्वाचन लड्ने मौका पाए ।

उपचुनाव जितेर कृष्णगोपाल पहिलोपटक संसदमा छिरेको ३० वर्षपछि उनी आठौं प्रतिस्पर्धाको तयारीमा छन् ।

२०४८ मा कांग्रेसले बहुमत पाए पनि त्यसलाई जोगाउन नसक्दा २०५१ मा मध्यावधि निर्वाचन भएको थियो । मध्यावधि निर्वाचनको समयमा काठमाडौंमा ७ वटा निर्वाचन क्षेत्र थियो । श्रेष्ठ ७ नम्बरबाटै उम्मेदवार बने । उनी कांग्रेसका दामोदर गौतमलाई पराजित गर्न सफल भए ।

त्यसपछि २०५६ मा भएको आम निर्वाचनमा कृष्णगोपाल कांग्रेसका तीर्थराम डंगोलसँग पराजित भए । २०६४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ बाट उम्मेदवार बनेका श्रेष्ठ कांग्रेसकै ध्यानगोविन्द रञ्जितसँग पराजित भएका थिए । २०६४ को संविधासभा निर्वाचनमा नेकपा माओवादी केन्द्र पहिलो पार्टी बनेको थियो ।

२०७० को निर्वाचनमा दुई पटक निर्वाचन लड्ने मौका पाएका श्रेष्ठ दुइटै निर्वाचनमा पराजित भएका थिए । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचन श्रेष्ठले काठमाडौं ९ बाटै लडेका थिए । फेरि पनि जित्न सकेनन् । उनी पुनः कांग्रेसका ध्यानगोविन्द रञ्जितसँगै पराजित भए ।

सोही समयमा काठमाडौं क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचन भयो । फेरि कृष्णगोपालले उठ्ने पालो पाए । तर, फेरि सफलता हात लागेन । उनी कांग्रेसकै दीपक कुँइकेलसँग पराजित भए । काठमाडौं २ मा विजयी एमालेका माधव नेपालले रौतहट १ पनि जितेका थिए । दुईमध्ये छोड्नुपर्दा उनी काठमाडौं २ बाट हट्दा उपनिर्वाचन भएको थियो ।

२०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धन बनेको थियो । गठबन्धनका साझा उम्मेदवार श्रेष्ठ यस पटक काठमाडौं ९ मा कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई पराजित गर्न सफल भए । त्यसपछि ओली क्याबिनेटमा उनी केही समय मन्त्रीसमेत बने । मन्त्री भएको वेला एक शैक्षिक कार्यक्रममा उनले दिएको अभिव्यक्ति (ओली फुटबलको पेले हो । कोही माइकालाल आए पनि हराउन सक्दैन) निकै चर्चित बनेको थियो ।

उनी आगामी आम निर्वाचनमा उम्मेदवार बन्ने दौडमा छन् । एमालेले टिकट दिएमा श्रेष्ठ पञ्चायतपछि हुन लागेको सातौँ आम चुनावमा ८ पटक उम्मेदवार बन्ने नेता बन्नेछन् ।

कृष्णप्रसादः कहिले हार, कहिले जीत

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अहिले सीट बाँडफाँट गर्ने गठबन्धनको कार्यदलका संयोजक हुन् । उनी टिकट बाँड्ने ठाउँमा समेत छन् । सातौं आम निर्वाचनको तयारी भइरहँदा आठौं पटक उम्मेदवार बन्ने लाइनमा रहेका नेता पनि हुन् उनी । पञ्चायतपछिको पहिलो आम निर्वाचन २०४८ सालबाट उनले निर्वाचनमा प्रतिस्पर्धा गर्न सुरु गरेका थिए ।

उक्त निर्वाचनमा उनी नेकपा एमालेका द्रोण आचार्य क्षेत्रीसँग पराजित भएका थिए । राष्ट्रिय पञ्चायत सदस्यसमेत जितेका क्षेत्री लोकप्रिय नेताका रुपमा परिचित थिए । निर्वाचनमा ५ हजार मतान्तरले विजयी भए पनि क्षेत्रीले पूरा कार्यकाल काम भने गर्न पाएनन् । उनको क्यान्सरबाट निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको थियो ।

उपनिर्वाचनमा सिटौला कांग्रेसबाट पुनः उम्मेदवार बनेका थिए । उनले एमालेका लीला उदासीलाई पराजित गरेका थिए । उपनिर्वाचन भिडेका उदासी र सिटौला दुवै वकिल पनि हुन् ।

सिटौला २०५१ को मध्यावधि निर्वाचनमा पनि कांग्रेसबाटै उम्मेदवार बनेका थिए । उनी त्यति वेला एमालेका पुष्प पोखरेलसँग पराजित भए । २०५६ को निर्वाचनमा उनले एमालेकै नारायण राजवंशीलाई पराजित गरेका थिए ।

उनी गिरिजाप्रसाद कोइरालाको सरकारमा केही समय मन्त्री पनि बने । कोइरालाको क्याबिनेटमा सिटौला गृहमन्त्री बनेका थिए । तर, उनको कार्यकाल विवादरहित रहन सकेन ।

गृहमन्त्री भएको बेला भएको सुडान घोटालामा उनको नाम जोडिएको थियो । नेपाल प्रहरीको इतिहासमा सुडान घोटाला भनेर संयुक्त राष्ट्रसंघको मिसनअन्तर्गत सुडानको डार्फरमा खटिएका नेपाल प्रहरीका लागि आवश्यक विभिन्न बन्दोबस्तीका सामानहरूको खरिदमा अनियमितता भएको, अनिवार्य कानूनी प्रक्रिया नपुर्‍याएको, गुणस्तरहीन, म्याद नाघेको र अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गरेको घटनालाई चिनिन्छ ।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा सिटौलाले झापा ३ बाट निर्वाचन लडे । उनी माओवादी नेतृ धर्मशीला चापागाईंसँग पराजित भएका थिए ।

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनले राप्रपाका राजेन्द्र लिङ्देनलाई पराजित गरेका थिए । २०७४ सालको निर्वाचनमा भने सिटौला आफैले अघिल्लोपटक हराएका लिङ्देनसँग पराजित भएका थिए । झापा ३ मा वाम गठबन्धनले लिङ्देनलाई साथ दिएपछि सिटौला पराजित हुन पुगेका थिए ।

आगामी मंसिर ४ को निर्वाचनमा सिटौलाले प्रतिस्पर्धा गर्ने सुरसार गरेका छन् । तर, कुन क्षेत्रबाट लड्ने भन्ने एकिन छैन । अहिले सत्तामा रहेका दलहरु गठबन्धन गरेर निर्वाचनमा होमिए पनि झापा ३ मा उनलाई सहज छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर