झलनाथ भन्छन्- एक्ले ढेडु भएर चुनाव जितिन्न, गठबन्धन अनिवार्य छ – Nepal Press

झलनाथ भन्छन्- एक्ले ढेडु भएर चुनाव जितिन्न, गठबन्धन अनिवार्य छ

'जनतासँगको मायापिरती टुटेको छैन अन्तिम पटक लड्छु'

रुपन्देही । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू अन्तिम पटक संसदीय चुनाव लड्न लागेको बताएका छन् ।

आइतबार बिहान भैरहवास्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै खनालले इलामको क्षेत्र नम्बर १ मा गठबन्धनबाट चुनाव लड्ने बताए । राष्ट्रपति हुने सहमतिमा चुनाव नलड्ने चर्चा छ नि ? भन्ने पत्रकारको जिज्ञासामा खनालले भने- ‘जनतासँगको माया पिरती टुटेको छैन, ४८ सालदेखि चुनाव लड्दै आएको छु, अब एकपटक लड्छु ।’

पाँचदलीय गठबन्धनबाटै निर्वाचनमा होमिने र जित निश्चित भएको दाबी गर्दै खनालले भने, ‘गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ । एकतामै बल हुन्छ, एक्लो ढेडुको असफलता अनिवार्य छ ।’

अहिले चुनावसम्म गठबन्धन दृढतापूर्वक अगाडि बढ्ने बताउँदै उनले पछिसम्म जान्छ या जाँदैन भने भन्न नसकिने बताए ।

उनले दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डन सृजना भएको बताउँदै तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए ।

नेता खनालले अहिले आफूहरू नेकपा माओवादी केन्द्रसँग निकटतामा रहेको बताए ।

‘मुलुकका लागि वृहत् वामपन्थी एकताको आवश्यकता थियो, त्यो भएन तर समाजवादी रुपान्तरणको शिलशिलामा एकताबद्ध हुनैपर्छ’ उनले भने ।

पूर्वप्रधानमन्त्री खनालले वामदेव गौतमले माओवादीको चुनाव चिन्ह हँसिया हथौडा लिएर निर्वाचन लड्ने कुरा सामान्य भएको बताए । ‘वामदेवजी हामीसँगै हुनुहुन्छ, चुनाव चिन्ह कुनै सिद्धान्त होइन’ उनले भने ‘हामीसँगै छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर