विपन्नताको बाटो हिँडेर सम्पन्नताको गन्तव्य भेटिँदैन – Nepal Press

विपन्नताको बाटो हिँडेर सम्पन्नताको गन्तव्य भेटिँदैन

बीउविनाको फल सायद प्रकृतिको परिकल्पनामा छैन । कुनै पनि परिणाम प्रक्रियाको उपज हो । नेपालमा पछिल्लो समय समृद्धिको बहस बाक्लै हुने गरेको छ । समृद्धिको प्रत्यक्ष सरोकार व्यक्तिको सम्पन्नता वा विपन्नतासँग जोडिएको हुन्छ । यदि सम्पन्न हुनु वा विपन्न हुनु परिणाम हो भने त्यसको पनि प्रक्रिया वा कारण अवश्य हुन्छ । अर्थात सम्पन्न र विपन्नको बीउ हाम्रै समाजमा छ । कुनै पनि व्यक्ति किन विपन्न हुन्छ ? वा कुनै पनि राष्ट्र कसरी सम्पन्न हुन्छ ? यी दुवै प्रश्नको जवाफ नखोजेसम्म समृद्धिको बहस पूर्ण हुन सक्दैन ।

विश्वका झण्डै एकतिहाइ देश र ती देशमा बसोबास गर्ने मानिस तुलनात्मक रुपमा सम्पन्न छन् भने करिब २० प्रतिशत अर्ध-विकसित र करिब ५० प्रतिशत देश र ती देशमा बस्ने मानिस मानसिक र आर्थिक दुबै हिसाबले तुलनात्मक रुपमा गरिब छन् । नेपाल पनि आजका मितिसम्म गरिब देशभित्र पर्दछ । केही समृद्ध देश र मानिस, केही गरिब यस्तो किन भयो होला ? गरिबीको कारण खोज्न अन्त जानै पर्दैन, नेपाललाई हेरे पुग्छ । किनकि आज विश्वमा जति पनि गरिब नागरिक र देश छन्, ती सबैमा प्रायः समान विशेषता छन् र जति पनि समृद्ध नागरिक र देश छन्, उनीहरुमा पनि लगभग समान नै विशेषता देखिन्छ । त्यसकारण एकको गरिबी र समृद्धिको कारण बुझ्दा समान अवस्था भएका समग्र मानिस र देशको अवस्था बुझ्न सकिन्छ ।

गरिबीको कुरा गर्दा नेपालकै कुरा गरौं । नेपालमा सर्वसाधारण मानिस ट्याम्पुमा झुन्डिएर यात्रा गर्न अभिशप्त छन् । कतिपय कलिला बालबालिकाले भोको पेट सडकमा रात बिताउँछन् । सानासाना नानीहरु बाँच्न रुमाल थापेर सारंगीमा विरहका गीत गाउँदै हिँड्छन् । कतिपय सुत्केरी दूधेबालक काखमा लिएर मठमन्दिरको पेटीमा भीख माग्छन् वा पिठ्युँमा बच्चा बोकेर खोलाका किनारमा गिटी कुटेर बच्चा र आफ्नो प्राण धान्छन् । गरिबले उपचार नपाएर अल्पायुमै ज्यान गुमाउँछन् । यी सबै कुरा मानिस र देश गरिब हुँदाकै फल हुन् । रुढीवाद, भ्रष्टाचार, कालोबजारी, बेरुजु, खर्बौंको आयात, ढिलासुस्ती, निजी स्वार्थ, प्रक्रियाउन्मुख प्रणाली, नकारात्मकता, निराशा, गुजाराको मानसिकता, असमानता, राजनीतिक अस्थिरता, परिवर्तनविरोधी मोटो स्वर आदि व्यक्ति वा देशलाई गरिब बनाउने बीउ हुन् ।

बीउ नबदलेसम्म फलमा परिवर्तन आउँदैन । हामी फलमा परिवर्तन चाहन्छौं । तर, बीउ बदल्न चाहँदैनौं । यो नै हाम्रो निरन्तर विपन्नताको कारण हो ।

समृद्धि वा सम्पन्नको बीउ वैज्ञानिक ज्ञान र चेतना, सकारात्मक र आशावादिता हो । केही गरौं भन्ने हुटहुटी, सुशासन, अग्रगमन, राष्ट्रिय उत्पादन वृद्धि र निर्यात, परिणाम केन्द्रित प्रणाली र कार्यसम्पादन, सामूहिक स्वार्थ, वैज्ञानिक सोचबाट निर्देशित सापेक्ष, सकारात्मक सोच र व्यवहार, सामाजिक न्याय र समानताको सुनिश्चितता, राजनीतिक स्थिरता, परिवर्तनकारी नागरिक र अग्रगामी राज्य आदि हुन् । अग्रगामी अर्थात् वैज्ञानिक ज्ञान, चेतना र प्रयोग हुँदा सफल र पश्चगामी अर्थात् अवैज्ञानिक ज्ञान, चेतना र प्रयोगले असफल हुने कुरा प्राकृतिक सत्य हो ।

त्यसकारण फल परिवर्तन गर्न पहिले बीउ परिवर्तन गर्नुपर्ने हुन्छ । बीउ परिवर्तन गर्न पहिले ज्ञान र चेतनामा परिवर्तन अपरिहार्य हुन्छ । परन्तु यति सत्य हो कि बीउ नबदलेसम्म फलमा परिवर्तन आउँदैन । हामी फलमा परिवर्तन चाहन्छौं । तर, बीउ बदल्न चाहँदैनौं । यो नै हाम्रो निरन्तर विपन्नताको कारण हो ।

हामीले किन रुढीवादलाई तोड्न सकेनौं वा वैज्ञानिकतालाई पक्रिएनौं ? सम्पन्नका लागि व्यक्ति होस् वा देश अग्रगामी अर्थात् वैज्ञानिक सोचलाई पक्रेरमात्र हुँदैन दह्रोसँग पक्रिन सक्नुपर्दछ । असफलता वा गरिबीको कारण राशिफल, ज्योतिष वा धामीझाँक्रीबाट खोज्ने हैन, वैज्ञानिक विधि र प्रयोगबाट खोज्ने हो । तर, जुन ज्ञान र चेतनाले हामीलाई गरिब वा विपन्न बनायो, त्यसैमाथि सधैं विश्वास गर्‍यौं । सबैभन्दा धेरै धामीझाँक्री, माता, ज्योतिष, राशिफल र भाग्यवादमा विश्वास गर्नेहरुले असफल वा विपन्न देखिन्छन् । कर्म वा विज्ञानमा विश्वास गर्नेहरुले छिटो सफलता वा सम्पन्नता हासिल गरेका हुन्छन् । अन्धविश्वासले कहिल्यै पनि सफलता सिर्जना गर्दैन । अन्धविश्वासी कर्मले समस्याको समाधान गर्नुको सट्टा हालत अझै दयनीय बनाउँदै लैजान्छ । अन्ततः उनीहरु जीवनबाट हार खान्छन् । त्यस्ता मानिस जीवन गुजार्न मादकपदार्थ वा लागूऔषधको सहारा लिन पुग्छन् ।

हामीले कहिल्यै आफूले आफ्नै चेतना र ज्ञानको अडिट गरेका छौं ? म र मेरो देश किन गरिब भयो, कहिल्यै आफूले आफैंलाई प्रश्न गरेका छौं, छैनौं । प्रश्न गरेको भए हामी गरिब थियौं । तर, गरिब नै रहिरहने थिएनौं ।

मानिस यो सबै गलत काम किन गर्छन् ? किनकि हाम्रो मस्तिष्क काल्पनिक, भ्रमपूर्ण, अन्धविश्वासी ज्ञान र निजी स्वार्थले भरिएको छ । यस्तो मस्तिष्कले परिवर्तन रुचाउँदैन । यस्तो मस्तिष्क विज्ञानप्रति असहिष्णु हुन्छ । यस्तो मस्तिष्कले नयाँ कुरालाई सीधै खारेज गर्दछ । तर, बाल्यकालमै परिवारले सिकाएको र समाजमा सुनेको/देखेको अप्रमाणित, अवैज्ञानिक र हास्यास्पद मान्यतालाई नै यस्तो मस्तिष्कले जायज मान्दछ । यस्तो मस्तिष्क लोकमै नभएको अलौकिक शक्तिको दास हुन्छ ।

अग्रगमनविरोधी मस्तिष्कहरुको उपज नै गरिबी हो । यस्तो मस्तिष्कलाई रोग लागेको पनि थाहा हुन्छ । दुखाईपोलाई पनि अनुभूति हुन्छ । तर, दबाई खान (रुपान्तरण) हुन अस्वीकार गर्दछ । यस्तो मस्तिष्कले विज्ञान अथवा प्रमाणित कुरालाई अनदेखा गर्छ । तर, शास्त्रमा भनिएका र परिवार-समाजबाट सिकेका कुरालाई नै अन्तिम सत्य ठान्दछ । हामीले कहिल्यै आफूले आफ्नै चेतना र ज्ञानको अडिट गरेका छौं ? म र मेरो देश किन गरिब भयो, कहिल्यै आफूले आफैंलाई प्रश्न गरेका छौं, छैनौं । प्रश्न गरेको भए हामी गरिब थियौं । तर, गरिब नै रहिरहने थिएनौं ।

बाटो र दिशा बदल्नु भनेको व्यक्तिको हकमा आजसम्म बोकेर हिँडेको चेतना र ज्ञान बदल्ने कुरा हो । आफ्नो बुझाइ र प्रयोग बदल्ने भनेको हो । राज्यको तहमा नीति, प्रणाली, कार्यशैली र तौरतरिका बदल्ने कुरा हो ।

अतः हामी यो निष्कर्षमा पुग्न थप विलम्ब गर्नुहुँदैन कि अन्धविश्वासमा आधारित ज्ञान, चेतना र जीपन पद्धती नै हाम्रो गरिबीको प्रमुख कारण हो । नेपालको सापेक्षतामा भन्दा व्यक्ति वा देशको सम्पन्नताका लागि धार्मिकबाट वैज्ञानिक संस्कारमा रुपान्तरण अनिवार्य छ । व्यक्ति वा देश, समृद्ध हुन धार्मिक ज्ञान र प्रयोगबाट माथि उठी विज्ञानलाई दह्रोसँग पक्रिनै पर्दछ । यसलाई सीधासीधीभन्दा आफू हिँडेको बाटो र दिशामै गन्तव्य निहित हुने भएकाले कि समृद्धि वा सम्पन्नताको चाहना राख्नुभएन कि त समृद्धिको नयाँ गन्तव्यका लागि बाटो र दिशा बदल्न तयार हुनुपर्दछ । बाटो र दिशा बदल्नु भनेको व्यक्तिको हकमा आजसम्म बोकेर हिँडेको चेतना र ज्ञान बदल्ने कुरा हो । आफ्नो बुझाइ र प्रयोग बदल्ने भनेको हो । राज्यको तहमा नीति, प्रणाली, कार्यशैली र तौरतरिका बदल्ने कुरा हो ।

हरेक मानिसलाई थाहा छ, पुरानै बाटो र दिशामा हिँडेर नयाँ गन्तव्य प्राप्त गर्न सकिँदैन । अतः हामी सबैले सोचौं, मनन गरौं, आफूले आफैंलाई अडिट गरौं । आफ्नो चेतना, ज्ञान र प्रयोगको परीक्षण गरौं । आजसम्म यसरी सोचिएन, अब सोचौं । आजसम्म यो गरिएन, अब गरौं । यो भनेकै बाटो र दिशा बदल्ने कुरा हो । मलाई दुनियाँले सुन्नेगरी चिच्याएर भन्न मन लागेको छ, बाटो र दिशा बदलौं । बाटो बदलेमात्र विपन्नबाट सम्पन्न वा गरिबीबाट समृद्धि हासिल गर्न सक्छौं ।

प्रतिक्रिया

One thought on “विपन्नताको बाटो हिँडेर सम्पन्नताको गन्तव्य भेटिँदैन

Leave a Reply

Your email address will not be published.