प्रहरी बढुवामा देउवाकाे हस्तक्षेप : पीएसओदेखि स्वकीय सचिवका ज्वाइँसम्म लाभान्वित – Nepal Press

प्रहरी बढुवामा देउवाकाे हस्तक्षेप : पीएसओदेखि स्वकीय सचिवका ज्वाइँसम्म लाभान्वित

काठमाडौं । सुरक्षा निकायको सरुवा बढुवामा प्रधानमन्त्री शेरबहादुर देउवाको निरन्तर हस्तक्षेप देखिएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जिम्मेवारी सम्हालेयता सरुवा बढुवामा पारदर्शीता अपनाउने बताए पनि दुवै संगठनमा राजनीतिक शक्ति केन्द्रहरूको प्रभाव देखिइरहेको छ । यसैक्रममा प्रधानमन्त्री देउवाका पीएस‌ओदेखि स्वकीय सचिवका ज्वाइँसम्म बढुवामा पहिलो नम्बरमा उक्लिएर प्रत्यक्ष लाभान्वित बनेका छन् ।

नेपाल प्रहरीमा एक साताअघि भएको बढुवामा प्रधानमन्त्री देउवाका पीएसओ कोमल शाह पहिलो नम्बरमा रहेर एसपी बढुवाका लागि सिफारिस भएका थिए । उनी डीएसपीमा आफ्नो भर्ना ब्याचमध्ये २५ औँ स्थानमा थिए । प्रधानमन्त्री देउवाकै जोडबलमा शाहले २४ स्थान माथि उक्लिएर पहिलो स्थान कब्जा गरेका हुन् ।

सशस्त्र प्रहरीमा शुक्रबार साँझ वरिष्ठ उपरीक्षक (एसएसपी) का लागि निकालिएको बढुवा सिफारिसमा देउवाका स्वकीय सचिव भानु देउवाका आफ्नै बहिनी-ज्वाइँ रहेका दीपेन्द्र कुँवर ‘ख’ आफ्नो भर्ना ब्याचमध्ये पहिलो स्थानमा रहेर एसएसपीका लागि सिफारिस भएका छन् ।

एसपीमा उनको वरीयता भर्ना टोलीमध्ये १० औँ स्थानमा थियो । कुँवरकै लागि सरकारले डेढ महिना अघि सशस्त्र प्रहरी नियमावली संशोधन गरेको थियो । एसएसपीमा बढुवा हुन एसपीमा कम्तीमा ४ वर्ष काम गरेको हुनुपर्नेमा कुँवरलाई बढुवा गर्न त्यसलाई ३ वर्षमा घटाइएको थियो जसले गर्दा उनीहरू बढुवाका लागि योग्य बनाइएका थिए ।

दीपेन्द्र कुँवर ‘ख’ सहित ३४ जना २०७५ चैतमा एसपीमा बढुवा भएका थिए । एसएसपीमा दरबन्दी रिक्त भएपछि कुँवरसहित ११ जनालाई गत कात्तिकतिर कामु एसएसपी दिइएको थियो । थप तीनजनाले गत वैशाखमा कामु एसएसपीको जिम्मेवारी पाएका थिए । कामु पाएका सबै १४ जनासहित अन्य दुईजना यसपटक एसएसपीका लागि सिफारिस भएका हुन् ।

यसअघि सशस्त्र प्रहरीमा कामु एसएसपी भएको झन्डै डेढ वर्षपछि मात्र केही समयअघि उनीहरू बढुवा भएका थिए । सशस्त्रमा दरबन्दी रिक्त रहेको अवस्थामा बढुवाका लागि समय नपुगेको रहेछ भने कामु जिम्मेवारी दिएर दर्ज्यान्ही चिन्हसम्म दिइने चलन छ ।

तर, कामु जिम्मेवारी दिँदा अघिल्लो दर्जाकै वरीयताक्रम कायम रहन्छ । यसपटक एसएसपीमा सिफारिस भएका १६ जनामध्ये पहिलो नम्बरमा रहेका प्रविण कँडेलले २०५५ सालमा सेवा सुरू गरेका हुन् । दोस्रो नम्बरमा कुँवर छन् भने तेस्रो नम्बरमा रहेका विष्णुप्रसाद भट्ट एसपी रहँदा आफ्नो भर्ना ब्याचमध्ये पहिलो नम्बरमा थिए ।

कुँवरसहित हाल सिफारिस भएका भुपेन्द्र केसी, उद्धवबहादुर न्यौपाने, नरेन्द्र सेन, नीरकृष्ण अधिकारी, शंकर खनालले डीएसपीबाट एसपीमा बढुवा हुँदा नै छलाङ मारेका थिए ।

डीएसपीमा आफ्नो भर्ना ब्याचीमध्ये उनीहरू सबै ६० जनाभन्दा तल थिए । सशस्त्रमा यसअघि आईजीपी अर्यालले एआईजीमा दुईवटा दरबन्दी रिक्त रहेपनि एकजना मात्र बढुवा सिफारिस भएपछि आलोचना खेपेका थिए ।

नेपाल प्रहरीको बढुवामा ज्येष्ठता नमिच्ने बताइरहेका आईजीपी सिंह त्यसमा सफल देखिएपनि वरीयतामा भने चुकिरहेको आलोचना हुन थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर