नेपाल नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत – Nepal Press

नेपाल नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत

काठमाडौं । प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । सदनले गत शुक्रमबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसंगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताए ।

सङ्घको स्थापनाकालदेखि नै गैरआवासीय नेपाली सङ्घले प्रवासी नेपालीहरूसँग रहेको सीप, स्रोत र पूँजी नेपालको हित र उन्नतिमा परिचालन गर्न जोड दिँदै आएको स्मरण गरे । उनले भने,‘विधेयक कार्यान्वयनमा आएपछि दोस्रो पुस्ता समेत नेपालसँग कसिलो गरेर जोडिने छन् ।’

यसैगरी सङ्घका अर्का अध्यक्ष रविना थापाले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गरिन् । ‘हामी गैरआवासीय नेपाली(एनआरएन)हरूले मातृभूमिका लागि गर्नुपर्ने धेरै बाँकी छ । आशा गर्दछु सम्पूर्ण हामी गैरआवासीय नेपालीहरू एक भई जन्मभूमिका लागि जुट्ने छौँ’, उनले भनिन् ।

सङ्घका उपाध्यक्ष डा .हेमराज शर्माले यो विधयेकले गैरआवासीय नेपाली नागरिकले पाउने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे उल्लेख नगरेको बताए ।

‘यी अधिकारको परिभाषा अर्को विधयेक( गैरआवासीय नेपालीसम्बन्धी विधयेक)मा आउने छ । दोहोरो नागरिकताको प्रावधान नभएका देशमा बस्ने नेपालीहरूलाई ‘गैरआवासीय नेपाली परिचयपत्र’को व्यवस्था हुनेछ । त्यसैले गैरआवासीय सङ्घले परिचयपत्र र नागरिकता पाउने व्यक्तिहरूको समान अधिकार दिलाउनका लागि लबिङ गर्नुपर्ने देखिन्छ’, उनले भने ।

सङ्घका अर्का उपाध्यक्ष नारायण आचार्यले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गरे । उनले अब मातृभूमिको ऋण तिर्न सबै गैरआवासीय नेपालीहरू एकजुट हुनुपर्ने बताए।

सङ्घका महासचिव डा केशव पौडेलले समस्त गैरआवासीय नेपालीले लामो समयदेखि प्रतिक्षा गरिररहेकामा पहिलो सफलतास्वरूप गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता भएको बताए । ‘सम्पूर्ण एनआरएनहरूलाई हार्दिक बधाई छ । यो संसारभरि रहेका हामी नेपाली र हाम्रा सन्ततिलाई मातृभूमि नेपालसँग जोड्नका लागि कोसेढुङ्गा सावित हुने विश्वास छ’, उनले भने ।

उक्त विधेयकअनुसार विदेशमा रहेका कुनै पनि नेपालीका बाबु–आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् ।


प्रतिक्रिया

One thought on “नेपाल नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत

  1. सायद यो ब्यबस्था पहिले नै लागू भैदिएको भए गोपाल भुटानी जस्ता नेपाली फिल्मी इतिहास मा त्यति धेरै योगदान गर्नु भएका स्रंस्ता बिना नागरिताको मर्नु पर्ने थिएन। मर्ने बेला सम्म पनि नेपाली नागरिक भएर मर्छु भन्ने उहाँको सपना नेपाल पूरा गर्न सकेन ।यस्तै कैयौं गैरआवासिय नेपालिहरु छन जसले नेपाली नागरिता पाउन बाट बन्चित छन् अब नेपाली नागरिक बन्ने उनिहरुका सपना पूरा हुने भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *