संसदमा गंगा चौधरीको गर्जनः कसलाई खुशी पार्न ल्याइएको हो राष्ट्रघाती नागरिकता ऐन ? – Nepal Press

संसदमा गंगा चौधरीको गर्जनः कसलाई खुशी पार्न ल्याइएको हो राष्ट्रघाती नागरिकता ऐन ?

काठमाडौं । सांसद गंगा चौधरीले सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता ऐनले देशलाई फिजिको बाटोमा लैजाने खतरा औंल्याएकी छन् ।

आजको संसद बैठकमा आक्रामक अभिव्यक्ति दिँदै उनले विदेशीलाई खुशी पार्न खुकुलो नागरिकता ऐन ल्याउन खोजिएको आरोप लगाइन् ।

चौधरीले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई हाताहाती नागरिकता दिने व्यवस्था गरिएकोमा तीव्र विरोध जनाएकी थिइन् ।

उनले भनिन्, ‘विवाह गरेर आएको भोलिपल्टै नेपाली नागरिकता दिइहाल्ने प्रावधान हाम्रो देशको हित विपरित छ । कसलाई खुशी पार्नका लागि यो देशलाई फिजीतिर लैजान खोजिएको हो ?

चौधरीको भनाइको सम्पादित अंशः

नागरिकतालाई हामीले हल्का विषयको रुपमा लिनु हुँदैन । हामीले सार्क मुलुकमै हेर्न सक्छौं । भारत, बंगलादेश, माल्दिभ्स, भुटान लगायत कुनै पनि सार्क मुलुकमा विदेशी महिला विवाह गरेर आउनासाथ नागरिकता दिइहाल्ने प्रावधान छैन । हाम्रो देशमा चाहीँ देशमा विवाह गरेर आउनेबित्तिकै एकै दिनमा नागरिकता दिने प्रावधान कसलाई रिझाउन ल्याइएको हो ? कसको कुर्सी जोगाउनका लागि यो देशलाई फिजितिर लगिँदैछ ?

यो नागरिकता ऐन हाम्रो देशको हित विपरित र राष्ट्रघाती छ । म अलिकित पछाडिको कुरा गर्छु । ५७ सालमा गिरिजाको पालामा राज्य व्यवस्था समितिबाट अर्थ विधयेकमा घुसाएर नागरिकता सम्वन्धी विधयेक प्रतिनिधिसभाबाट पारित गरिएको थियो । तर, त्यो विधयेक राष्ट्रिय सभाबाट फिर्ता पठाइयो ।

फेरि दोस्रोपटक प्रतनिधिसिभाबाट विधेयक पारित गरियो । त्यसपछि लालमोहरका लागि दरवार पुग्यो । तर, तत्कालीन राजा विरेन्द्रले त्यसलाई अदालतमा राय सुझाव माग्न पठाएका थिए । अनि, सर्वोच्च अदालतले ऐन खारेज गरिदिएको थियो ।

माओवादी जनयुद्धपछि भएको १२ बुँदे सम्झौताले सबै ढोका खोलिदियो । ०४७ सालयता जन्मेका सबै विदेशी नागरिकलाई नागरिकता दिने प्रावधान ल्याइयो । १२ बुँदेपछि ४७ सालपछि जन्मेका ४० लाख विदेशीहरुले नेपाली नागरिकता लिए ।

उनीहरुबाट जन्मेका कति छन्, हिसाब छैन । विदेशी नागरिकका सन्तानलाई पनि नेपालको वंशजको नागरिकता दिने गरी विधयेक ल्याइएको छ । यसले देशलाई कता पुर्याउँछ, म गृहमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु ।

के १० वर्ष जनयुद्ध यसकै लागि लडिएको थियो ? विदेशीलाई खुशी पार्नका लागि नै जनताले बलिदानी गरेका हुन् ? जनताको शासन आओस भनेर बलिदानी गरेको हो कि होइन ? सत्तासीन दलका शीर्ष नेता पालैपालो छिमेकी राष्ट्रमा किन गए ? जदौ मालिक, मेरो गठवन्धन जोगाइदे भन्न हो कि होइन ?

(संसद चौधरीले बोल्दै बोल्दै सभामुख अग्नि सापकोटाले माइक काटिदिएपछि उनले आफ्नो भनाइ टुंग्याउन पाइनन्)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर