बीपी र पुष्पलालको भँगेरी नाता- गिरिजा र मनमोहनका आलो महदाता – Nepal Press

बीपी र पुष्पलालको भँगेरी नाता- गिरिजा र मनमोहनका आलो महदाता

भँगेरी (रामेछाप) । साउन पहिलो साता रामेछापको प्राचीन नेवार वस्ती भँगेरीमा कम्युनिष्ट र कांग्रेसका नेताहरुको चहलपल हुनेगर्छ । कारण, नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको जन्मथलो यही भँगेरी हो भने कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेताहरुलाई राणाले जेल सारेर ल्याइएको रुट पनि यही हो ।

कांग्रेसले साउन ६ गते अर्थात आज बीपी स्मृति दिवस मनाइरहँदा भोलि अर्थात साउन ७ गते कम्युनिष्टले पुष्पलाल सम्झिने दिन हो । यी दुवैलाई समान रुपमा सम्झिने एउटा गाउँ पनि छ, त्यो हो भँगेरी ।

८ वर्षअघि हामी भँगेरी पुग्दा ८३ वर्षीय शंकरबहादुर श्रेष्ठले घर अगाडिको पुरानो घोडेटो बाटो देखाउँदै भनेका थिए- ऊ त्यहीँबाट लगेका थिए बीपी र मनमोहनलाई पिञ्जरामा हालेर । धनकुटाबाट अड्डासार गरेका । चौतारामा रोकिएका बेला हाम्रा बाउबाजेहरुले आलो मह खुवाएका ।

दुःखद संयोग भनौं हामीलाई करीब ८० वर्षअघिको त्यो दृश्य वर्णन गर्ने शंकरबहादुर श्रेष्ठको पनि तीन साताअघि ९१ वर्षको उमेरमा निधन भयो । बीपी र मनमोहन अधिकारीहरुलाई पिञ्जरामा हालेर ल्याएको देख्ने पुस्ताका अब सीमित सदस्यमात्र भँगेरीमा जीवित छन् । तीमध्येका एक आनन्दराम श्रेष्ठ हुन् ।

रामेछापको मात्र नभएर तत्कालीन ‘पूर्व २ नम्बरको गौंडा’ मानिने भँगेरी एउटा प्राचीन बस्ती हो । यो बस्तीका बुढापाकाहरु अचेल पनि भँगेरीडाँडाको पीपलमुनि बसेर गन्थनमन्थन गर्छन् ।

रामेछापको भँगेरीडाँडामा अहिले पनि प्रायः नेवारका घरमा माहुरीका घार प्रशस्तै भेटिन्छन् । ७८ वर्षअघि यही ठाउँमा अड्डासार गर्दै ल्याइएका बीपी कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीलाई मह खुवाएर पठाएको दृश्य हामीलाई सुनाउने शंकरबहादुर र कृष्णराम श्रेष्ठ अब यस संसारमा छैनन् । यो पुस्ता अब एकाध संख्यामा मात्र रहेको नेकपा एसका नेता तथा व्यवसायी रमेशबाबु श्रेष्ठ बताउँछन् ।

रामेछापको मात्र नभएर तत्कालीन ‘पूर्व २ नम्बरको गौंडा’ मानिने भँगेरी एउटा प्राचीन बस्ती हो । यो बस्तीका बुढापाकाहरु अचेल पनि भँगेरीडाँडाको पीपलमुनि बसेर गन्थनमन्थन गर्छन् । पुरानो सदरमुकाम रामेछापसँगै रहेका कारण भँगेरी विकसितमात्र होइन राजनीतिक तथा सामाजिक चेतको हिसाबले पनि उन्नत बस्ती हो । २०७१ सालमा कांग्र्रेसले विराटनगरबाट सुरु गरेको बीपी विचार यात्रा हेर्न बुढापाकाहरु यही चौतारामा जम्मा भएका थिए ।

राणाशासनको अन्तिम कालतिर बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायतका क्रान्तिकारीहरुलाई जेल सार्ने क्रममा पूर्वको मुकामबाट काठमाडौं ल्याइएको थियो । पूर्वका विभिन्न गौंडा र गढी हुँदै पूर्व १ नम्बर ओलखढुंगा र पूर्व २ नम्बर रामेछापको सिमाना साँघुटार हुँदै उनीहरुलाई भँगेरी ल्याइएको थियो ।

हुन त मनमोहन अधिकारी त्यतिबेलै कम्युनिष्ट भइसकेका थिए । तर, नेपाल कम्युनिष्ट पार्टी स्थापना भइसकेको थिएन । सबैलाई कांग्रेसकै नजरबाट हेरिन्थ्यो । विराटनगर जुटमिलको आन्दोलनबाट उनीहरु समातिएका थिए । सबैलाई नेल ठोकेर पिञ्जरामा राखिएको थियो ।

त्यतिवेला कांग्रेस भनेका कस्ता रहेछन् भनेर हेर्न झुम्मिएका बालकहरु अहिले वृद्ध भइसकेका छन् । आफ्ना दाँवलहरु धेरै बितिसकेको बताउने आनन्दराम श्रेष्ठ बीपी र मनमोहन अधिकारीहरुलाई नेल ठोकेर पिञ्जरामा राखी पश्चिम हुलाकडाँडातिर झारेको दृश्य अहिले पनि झल्झली सम्झिन्छन् ।

अग्ला कांग्रेस

‘ऊ त्यही गौंडाबाट सेतो कमिज र पाइजामा लगाएका अग्ला कांग्रेसहरुलाई प्रहरीले लिएर आएका थिए’, ९१ वर्षीय शंकरबहादुर श्रेष्ठले सम्झिँदै हामीसँग भनेका थिए, ‘कांग्रेसहरु कस्ता हुँदा रहेछन् भनेर हेर्न हामी केटाकेटीहरु जम्मा भएका थियौं ।’

भँगेरी प्राचीन नेवार बस्ती हो । यो शिक्षा र राजनीतिको चेतनाको केन्द्र पनि हो रामेछापका लागि । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र उनका दाजु महान सहिद गंगालाल श्रेष्ठ पनि यही ठाउँमा जन्मिएका थिए ।

अड्डा सार्ने क्रममा ल्याइएका कांग्रेसीहरुलाई बोक्न गाह्रो भएपछि बीचमा हिँडाएर लगिएको कुरा भरतमोहन अधिकारीले आफ्नो आत्मवृतान्तमा पनि लेखेका छन् । सायद भँगेरी पुग्दा उनीहरुलाई पिञ्जराबाट निकालिएको थियो कि ? तीन साताअघि निधन भएका शंकरबहादुरले हामीसँगको कुराकानीमा भँगेरीमा ल्याइँदा बीपी र उनका साथीहरुको खुट्टा नेल र हातमा हतकडी नदेखेको बताएका थिए ।

‘त्यसबेला कांग्रेस कस्तो लाग्यो त ?’, त्यसवेला १३ वर्षे रहेका शंकरबहादुर फ्ल्यास ब्याकमा गए, ‘ओहो, कुरै नगर्नुस् बाबु । कांग्रेस त अग्ला, गोरा र राम्रा न राम्रा पो रहेछन् । विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी र अरु दुईजना पनि थिए । सबैले कमिज र पाइजामा लाएका थिए । जुटमिलबाट समातेर ल्याएको भन्थे । हामीले खुट्टातिर पनि हेर्‍यौं, तर, नेल र हतकडीचाहिँ लाएका थिएनन्, नभाको कुरा गर्नुहुन्न ।’

बीपीले मह खाए

भँगेरी प्राचीन नेवार बस्ती हो । यो शिक्षा र राजनीतिको चेतनाको केन्द्र पनि हो रामेछापका लागि । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र उनका दाजु महान सहिद गंगालाल श्रेष्ठ पनि यही ठाउँमा जन्मिएका थिए । रामेछापमा कम्युनिष्ट पार्टीका संस्थापकमध्येका एक नारायणबाबु श्रेष्ठलाई बिर्सन सकिन्न ।

भँगेरीमा अहिले पनि स्वर्गीय नारायणबाबु श्रेष्ठको चर्चा हुन्छ । उनकै बाबु ज्ञानबहादुर श्रेष्ठले राणा शासकले ‘मोस्ट वान्टेड’ सूचीमा राखेका बीपीसहितका क्रान्तिकारीलाई आफ्नै मौरीका घारबाट मह काढेर खुवाएका रहेछन् । अहिले ज्ञानबहादुर र नारायणबाबु त छैनन् । तर, यही घरमा बसेर बुढाहरुले त्योवेलाको घटना सम्झिए ।

मह खुवाएको प्रसङ्ग सम्झँदै शंकरबहादुरले भने, ‘कांग्रेसलाई मह ख्वाउँदा बडाहाकिमले सिध्याउलान् भन्ने डर थियो । तर, बुढाले मरे पनि मरिन्छ एक बारको जुनीमा, बाहुनलाई खुवाएर मर्न पाए माथि ठाउँ पाइन्छ भन्दै मह काढेको हामीलाई याद छ । त्यतिवेला १३–१४ वर्षका हामी बुझ्ने भइसकेका थियौं ।

२००८ सालमा बीपी गृहमन्त्री भएका थिए भने २०१० सालमा मनमोहन अधिकारी नेपाल कम्युनिष्ट पार्टीको महासचिव भएका थिए ।

आफ्नै हातले काढेको बाक्लो मह बीपी, गिरिजा र मनमोहनलगायतलाई अघाउँजी खान दिएर बिदा गरेका थिए ।

आहा, त्योवेलाको मह कुरै नगर्नुस् । बुढाहरु भन्न थाले, ‘लौ हाम्रो त जिब्रोमै झुण्डिने भो यो मह भन्दै विश्वेश्वरप्रसादहरु अब जनताका दिन आउँछन्, हामी चाँडै फर्किन्छौं भनेर अर्को अड्डातिर पुसिलसँग गएका थिए, त्यसपछि कहिल्यै आएनन् । पछि त बीपी मन्त्री र मनमोहन महामन्त्री भएछन् ।’

२००८ सालमा बीपी गृहमन्त्री भएका थिए भने २०१० सालमा मनमोहन अधिकारी नेपाल कम्युनिष्ट पार्टीको महासचिव भएका थिए ।

वृत्तभत्ताले सम्झाउने मनमोहन

नारायणबाबुका छोरा रामेशबाबुले हामीलाई शंकरबहादुर, कृष्णराम र आनन्दरामहरुसँग कुराकानी गर्ने अवसर मिलाइदिएका थिए ।

शंकरबहादुरले कुरा नसिध्याउँदै कृष्णराम र आनन्दराम श्रेष्ठ अघि सरे । यो पंक्तिकारको हात समाउँदै उनले भने, ‘मनमोहन अधिकारी त बीपीका भान्दाइका छोरा क्या । पछि तिनी कम्निष्ट भए । तीनैले दिएको वृद्धभत्ता खाँदैछौं हामी अहिले । साह्रै असल नेता ।’

कृष्णराम बितिसकेका छन् भने आनन्दराम अहिले पनि मनमोहनले सुरु गरेको वृद्धभत्ता लिइरहेका छन् । उनले मनमोहन अधिकारीको गुण सम्झेर सूर्यमा भोट हाल्न छाडेका छैनन् ।

तत्कालीन नेपालमा गढी, गौंडा र गौश्वारा भनेर तीनथरि अड्डाबाट शासन चल्थ्यो । त्यसमध्ये सिन्धुली गढी, रामेछाप (भँगेरी) गौंडा र चरिकोट गौश्वारा थिए । भँगेरीसँग विरासतमात्र होइन वीरताको सम्बन्ध पनि छ ।

त्यो टोलीमा बीपी, गिरिजा र मनमोहनसँगै मातृकाप्रसाद कोइराला थिए कि भन्ने कुरा चलेको थियो रे ! तर, मातृका थिएनन् भन्ने हल्ला चल्यो । ६ जना कांग्रेसमध्ये एकजना मनमोहन चाहिँ पछि कम्युनिष्ट भएको हल्ला गाउँसम्म चलेको रहेछ ।

त्योबेला श्री ३ मोहनशमशेरको आदेशमा २९ दिन लगाएर विराटनगरबाट काठमाडौं पुर्‍याइएका ६ जना क्रान्तिकारी को-को थिए ? कोइराला परिवारका सदस्य तथा वयोवृद्ध कम्युनिष्ट नेता कमलप्रसाद कोइरालासँग हामीले सोध्यौं । अलिखित इतिहास मानिने कमल कोइरालाबाहेक यसको आधिकारिकता जान्ने हामीले कोही भेटेनौं ।

कोइरालाका अनुसार त्यसबखत विराटनगर जुटमिलबाट पक्राउ गरी विभिन्न गौंडा हुँदै सुन्दरीजलको जेलमा कोचिएका प्रायः सबै कोइराला परिवारका नातेदार रहेछन् ।

‘बीपी, गिरिजा र तारिणी तीन दाजुभाइ भइहाले, मनमोहन हाम्रा भानिजबाबुका छोरा । त्यसपछि हाम्रै नातेदार युवराज अधिकारी र गेहेन्द्रहरि शर्मा बिकु बाबु हुन् त्योबेला अड्डासार गरेर लगिएकाहरु’, कमल कोइरालाले यो पंक्तिकारसँग भने ।

संयोग नै मान्नुपर्छ साउन ६ गते बीपी स्मृति दिवस र साउन ७ गते पुष्पलाल जन्मिएको दिन । भँगेरीसँग दुवैजनाको साइनो छ । बीपीको पैतृक गाउँ दुम्जा र पुष्पालालको पैतृक थलो भँगेरीबीचको दूरी ४० किलोमिटरमात्र छ । बीपीले भँगेरीका बासिन्दाबाट आलो मह खाए । पुष्पलाल भँगेरीमा जन्मिए ।

तत्कालीन नेपालमा गढी, गौंडा र गौश्वारा भनेर तीनथरि अड्डाबाट शासन चल्थ्यो । त्यसमध्ये सिन्धुली गढी, रामेछाप (भँगेरी) गौंडा र चरिकोट गौश्वारा थिए । भँगेरीसँग विरासतमात्र होइन वीरताको सम्बन्ध पनि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *