श्रममन्त्री कुँवरले गरे नवनियुक्त राजदूतसँग छलफल, कामदारको सुरक्षाबारे चासो – Nepal Press

श्रममन्त्री कुँवरले गरे नवनियुक्त राजदूतसँग छलफल, कामदारको सुरक्षाबारे चासो

काठमाडौं । श्रम रोजगार तथा सामजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नवनियुक्त राजदूतसँग छलफल गरेका छन् ।

छलफलमा मन्त्री कुँवरले वैदेशिक रोजगारमा जाने नेपाली कामदारको सुरक्षाका विषयमा चासो व्यक्त गरेका छन् ।

बिहीबार मन्त्रालयमा नवनियुक्त साउदीका राजदूत नवराज सुवेदी र दक्षिण अफ्रिकका राजदूत दानबहादुर तामाङसँगको छलफलमा मन्त्री कुँवरले वैदेशिक रोजगारमा जाने नेपालीले पाउने गरेका दुःख, समस्याका विषयमा चासो व्यक्त गरेका हुन् ।

उनले दुवै राजदूतलाई नेपाली कामदारको कामको ग्यारेन्टी र सुरक्षाका विषयमा विशेष ध्यान दिन आग्रहसमेत गरे । मन्त्री कुँवरले भने, ‘नेपालबाट जाने कामदारले विदेशमा पुगेपछि भनेअनुसार काम नपाउने गुनासा धेरै सुनिन्छन् । पठाउने व्यक्ति वा कम्पनीले उनीहरुलाई ठग्ने गरेका कारण विचल्लीमा परेका घटना आइरहन्छन्, यसबारे विशेष ध्यान दिन म आग्रह गर्न चाहन्छु ।’ छलफलका क्रममा उनले कामदारलाई परेको समस्या समाधानका लागि दूतावासलाई चाहिने आवश्यक सहयोगका लागि मन्त्रालय तयार रहेको बताए ।

उनले विदेशमा नेपाली कामदारको हुने गरेको मृत्युका विषयमा समेत गम्भीर भएर बुझ्नका लागि पनि मन्त्री कुँवरले राजदुतसँग आग्रह गरे । छलफलमा बोल्दै मन्त्रालयका सचिव एकनारायण अर्यालले विदेशमा कोमामा, र अंगभंग भएर उपचार गराइरहेका नेपाली कामदारको उद्दारका लागि सरकार गम्भिर रहेको र दूतावासले सोहीअनुसार काम गर्नुपर्ने बताए । उनका अनुसार अहिले साउदीमा मात्रै २५ जना नेपाली कामदार कोमामा उपचारार्थ छन् ।

कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले गत आर्थिक वर्षमा मात्रै सबैभन्दा बढी साउदीमा एक लाख ८८ हजार ३ सय ९८ जना नेपाली रोजगारका लागि विदेशिएको बताए । साउदीमा कामदार पठाउन नेपाल र साउदी सरकारबीच श्रम सम्झौता नभए पनि विभिन्न माध्यमबाट नेपालीहरु साउदी जाने संख्या ठुलो रहेको छ ।

मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुखसमेत रहेका सहसिचव राजिव पोखरेलले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली कामदारमा वैधानिकीकरण, स्वास्थ्य, विमा, दोहोरो सम्झौता, प्रमाणिकरण, अवैधानिक रुपमा गएका कामदारको शव उद्धार, महिला कामदारको सुरक्षा र न्युनतम् पारिश्रमिकसमेत नपाउने लगायतका समस्या रहेको उल्लेख गरे ।

छलफलमा साउदीका लागि नवनियुक्त नेपाली राजदूत सुवेदीले साउदी सरकार र नेपालबीच श्रम सम्झौताका लागि पहल गर्ने बताए ।

अवैधानिक रुपमा कामदार जाँदा विभिन्न जटिलता रहेकाले दुवै सरकारबीच श्रम सम्झौता भएको खण्डमा त्यो न्युनिकरण हुँदै जाने उनको भनाई छ ।

साउदीमा समस्यामा परेका कामदारको उद्धार र राहातका लागि पहल गर्नेसमेत उनले प्रतिवद्धता जनाए । कामदारले पाउने गरेका समस्याको समाधानका लागि मन्त्रालयसँग आवश्यक सुझाव, सल्लाह र सहयोगका लागि सहकार्य गर्नेसमेत उनले बताए ।

यस्तै दक्षिण अफ्रिकका लागि नवनियुक्त राजदूत तामाङले दक्षिण अफ्रिकमा नेपाली कामदार समस्यामा परेका खबर खासै नआए पनि कामदारका विषयमा आफू सचेत रहेको बताए । उनले दक्षिण अफ्रिकासँगै केन्या, तान्जानिया, साउथ अफ्रिकामा जेल र अस्पतालमा रहेका नेपालीको उद्धारका लागि पहल गर्नेसमेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर