एक वर्षमा साढे ३ लाख पर्यटक नेपाल आए, ७७३ जनाले गरे नेपालीसँग विवाह – Nepal Press

एक वर्षमा साढे ३ लाख पर्यटक नेपाल आए, ७७३ जनाले गरे नेपालीसँग विवाह

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा साढे ३ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागका अनुसार भारतीयसहित ३ लाख ५५ हजार ६७६ जना विदेशी पछिल्लो एक वर्षमा नेपाल आएका हुन् । यो स्थल र हवाई मार्ग दुवैबाट भित्रिनेको तथ्यांक हो । यो एक वर्षमा ८ लाख ४५ हजार ४८९ जना नेपाली हवाई मार्ग भएर नेपाल भित्रिएका छन् ।

कोरोना महामारी सामान्य बन्दै गएसँगै नेपाल भित्रिने विदेशीको संख्या ह्वात्तै बढेको हो । आर्थिक वर्ष ०७७/७८ मा करिब ६९ हजार विदेशीमात्र नेपाल आएका थिए ।

गएको एक वर्षमा नेपाल भित्रिने विदेशी पर्यटकमा २ लाख १८ हजार ६८१ पुरुष र बाँकी महिला रहेका छन् । अध्यागमनको तथ्यांकअनुसार १९७ देशका नागरिक नेपाल आएका थिए ।

दक्षिण एसियामा सबैभन्दा बढी भारतीय एक लाख ४० हजार ६३९ जना नेपाल आएका थिए । १६ हजार ३५३ जना बंगलादेशी, एक हजार ३९७ श्रीलंकन, २०८ जना माल्दिभ्सका, २ हजार ४७३ जना पाकिस्तानी र ९४८ जना भूटानी नेपाल आएको तथ्यांकले देखाएको छ ।

अन्य देशमध्ये चीन, दक्षिण कोरिया, जापान, मलेसिया, इजरायल, फिलिपिन्स, सिंगापुर, थाइल्यान्डबाट धेरै नागरिक नेपाल आएका छन् ।

४ हजार ३१४ चिनियाँ, जापानी ३ हजार ८६, मलेसियन २ हजार ५४५, २ हजार ४६१ फिलिपिनो, २ हजार ९० सिंगापुरे, २ हजार ८५६ दक्षिण कोरियाली, ३ हजार २९ टर्किस र २ हजार ५२५ थाइ रहेका छन् । २ हजार ५३१ जना इजरायली पनि पछिल्लो एक वर्षमा नेपाल भित्रिएका थिए ।

युरोपियनतर्फ बेलायतबाट २४ हजार २२१, टर्कीबाट ३ हजार २९, ८ हजार ४३७ फ्रान्सेली, ८ हजार ७६३ जर्मन, ३ हजार ३०२ जना डच, ३ हजार ६५२ रुसी, ३ हजार ३८४ स्पेनिस, २ हजार ७७ स्वीस, २ हजार ४४९ पोर्चुगिज, एक हजार ९८७ जना इटालियन, एक हजार ४०९ जना डेनिस र २ हजार ९८३ जना बेल्जियन रहेका छन् ।

यसैगरी ४६ हजार ८१३ जना अमेरिकी, ६ हजार १४२ जना क्यानेडियन र १२ हजार ४०९ जना अस्ट्रेलियन नागरिक नेपाल भित्रिएको अध्यागमनको तथ्यांक छ । नेपाल भित्रिने विदेशी सुरुमा पर्यटक भिसामा आउने र यहाँ आइपुगेपछि भिसा परिवर्तन गर्ने गरेको पाइएको छ ।

पछिल्लो एक वर्षमा नेपालभित्र ५५५ जना विदेशीले स्टुडेन्ड भिसा र ७७३ जनाले म्यारिज भिसा लिएको अध्यागमन विभागले जनाएको छ । पर्यटक भिसामा नेपाल आएका विदेशीले नेपाली केटा वा केटीसँग विवाह गरेमा म्यारिज भिसा प्राप्त गरेर बस्न पाउँछन् ।

आर्थिक वर्ष ०७७/७८ मा एक हजार १७० जनाले म्यारिज भिसा र ९०० जनाले स्टुडेन्ट भिसा प्राप्त गरेका थिए ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ११ लाख ३० हजार नेपालीसहित करिब १४ लाख ६४ हजार जना नेपालबाट बाहिरिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर