रुपन्देहीबाट सिमेन्टपछि टीएमटी छड भारत निर्यात – Nepal Press

रुपन्देहीबाट सिमेन्टपछि टीएमटी छड भारत निर्यात

रुपन्देही । श्री स्टिल्सले आजबाट टीएमटी छड भारत निर्यात गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका- ३ सेमरहवामा रहेको श्री स्टिल्स प्रालिले बुधबारदेखि भारतमा स्टिल्स निर्यात गरेको हो ।

स्वदेशी उत्पादन अन्य मुलुकमा निर्यात गर्दा सरकारले ८ प्रतिशत अनुदान दिएसँगै उद्योगले आफ्नो उत्पादन भारतमा निकासी सुरु गरेको हो । बुधबार पहिलो खेपमा एक ट्रकमा ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगञ्जको कुनसेरवामा निर्यात गरिएको छ ।

सरकारले हालैको बजेटमा ल्याएको निर्यात नीतिअनुसार उद्योगले भारत निर्यात सुरु गरेको श्री स्टिल्सका सञ्चालक राजेश अग्रवालले बताए ।

‘कहिले लोडसेडिङ, कहिले विद्युत ट्रिपिङको समस्या झेल्दै आएको उद्योगले कोरोना महामारीको पनि सामना गरेको र विभिन्न समस्यासँग जुध्दै चुनौतीको सामना गर्दै आज निर्यातको शुभारम्भ गरेका छौं, यो सफलता केवल हाम्रो र उद्योगको मात्रै होइन, रुपन्देही, लुम्बिनी प्रदेश र राष्ट्रकै सफलता हो’, उनले भने, ‘हाम्रो गुणस्तर र उत्पादनलाई कायम तथा वृद्धि गर्दै मुलुकलाई स्टिल्समा आत्मनिर्भर बनाउँदै विदेश निर्यातमा पनि वृद्धि गर्ने अभियानका साथ अगाडि बढ्नेछौं ।’

उनले नगद अनुदान घोषणा भए पनि छिटो कार्यविधि बनाउन सरकारलाई आग्रह गरे । उद्योगका कार्यकारी निर्देशक सोनेस अग्रवालले छड भारत निकासीपछि देशमा मुद्रा सञ्चिती बढ्ने बताए ।

रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले रोहिणीबाट भारतमा छड निकासी हुनु सुखद भएको बताए ।

केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप, मुरारका ग्रुप तथा उमा ग्रुपको संयुक्त लगानीमा स्थापित तथा सञ्चालित उद्योगले श्री स्टिल्स टीएमटी फलामे छड उत्पादन गर्दै आएको छ ।

वार्षिक १५ लाख मेट्रिक टन निर्यात गर्ने नेपाली उद्योगको क्षमता रहेको प्रालिका ब्राण्ड म्यानेजर दीपक शाहले बताए । उनले कम्पनीले नेपालमै पहिलो पटक भूकम्प र अग्नि, प्रतिरोधात्मक मानिने जापानी प्रविधिको स्वचालित प्लाण्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको जानकारी दिए ।

प्रतिघण्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक ८०० टन स्टिल र बिलेट उत्पादन गर्दै आएको छ । यो प्रविधि उच्च गुणस्तरयुक्त स्टिल रिवार उत्पादन क्षमता भएको जापानिज डिजाइनमा निर्मित सिक्स स्टण्ड ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्राण्ड भएको शाहले दाबी गरे ।

तीन अर्ब लगानी रहेको श्री स्टील्स मा ५०० जनाले प्रत्यक्ष रोजगार पाएको शाहले बताए ।

केही दिनअघि यहाँबाट उत्पादन भएको पाल्पा सिमेन्ट भारत निर्यात भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर