रुपन्देहीका नगरपालिकामा मेयर-उपमेयरबीच टकराव सुरु – Nepal Press

रुपन्देहीका नगरपालिकामा मेयर-उपमेयरबीच टकराव सुरु

मेयरका एकलौटी निर्णयमा आपत्ति जनाउँदै उपमेयर

रुपन्देही । स्थानीय तह निर्वाचनको अन्तिम परिणामपछि जिम्मेवारी सम्हालेको दुई महिना पूरा नहुँदै रुपन्देहीका नगरपालिकामा मेयरले गरेका निर्णयमा उपमेयरले सार्वजनिक रुपमै असहमति जनाउन थालेका छन् ।

६ नगरपालिका रहेको रुपन्देहीमा ३ वटा नगरपालिकाका उपमेयरले आफ्नो सहमतिविना मेयरले निर्णय गरेर जबरजस्ती लाद्न खोजेको भन्दै सार्वजनिक रुपमै आपत्ति जनाएका हुन् ।

रुपन्देहीका ६ वटै नगरमा नेकपा एमालेबाट जितेका उपमेयरले मेयरका एकलौटी निर्णयमा असहमति बाहिर ल्याएका छन् । असहमति बाहिर ल्याएकी तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरी चौधरीले नगरसभा नै रोकेर आफूले अगाडि सारेका एजेण्डा पास गराएकी छन् ।

यहाँ मेयर रहेका कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले उपमेयरसँग सल्लाह नगरी नगरसभा अगाडि बढाउन खोजेका थिए । यसविरुद्ध यसअघि पनि उपमेयर भएकी चौधरीले बलियोसँग आफ्नो असहमति राखिन् र आफ्ना एजेण्डा सार्वजनिक गरिन् ।

एक्लै हिंड्न खोजेका मेयर खाणलाई उपमेयर चौधरीले सहमतिमा आउन बाध्य बनाएकी छन् । मेयर र उपमेयरको विवादले यहाँको बजेटसमेत पूर्वनिर्धारित समयमा आउन सकेन । साउन ३ गते बल्ल पास भएको छ बजेट । मेयर खाणले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई कमजोर बनाउन प्रशासनको समेत प्रयोग गरेको भन्दै बलियो प्रतिवादमा चौधरी उत्रिएकी थिइन् ।

त्यस्तै रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा करारका कर्मचारीलाई हटाउने तथा नयाँ भर्नाको विषयमा विवाद सिर्जना भएको छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा नियमविपरीत कर्मचारीलाई हटाउने र नयाँ भर्ना गरिएपछि विवाद उत्पन्न भएको विषय उपमेयरले बाहिर ल्याएकी छन् ।

नगर कार्यपालिका बैठकबाट कुनै पनि निर्णय नगराई कीर्ते गरी गोप्य रुपमा आफ्ना व्यक्तिहरुलाई भर्ना गर्न मेयर सजरुद्दिन मुसलमानले फर्जी निर्णय तयार पारेको भेटिएको छ । कार्यालयमा कार्यरत ९ जना करारका कर्मचारीलाई विनाकारण हटाएर ११ जना नयाँ कर्मचारी भर्ना गर्न लागेपछि उपप्रमुख कल्पना हरिजनले विरोध जनाइन् ।

गत असार ३० गतेको नगरसभामा यसबारे कुनै प्रस्ताव नलगेका मेयर मुसलमानले बैठकको निर्णय पुस्तिका आफैंले लुकाएर फर्जी निर्णयको प्रतिलिपि थमाउँदै निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई निर्णय कार्यान्वयन गर्न लगाएपछि घटना बाहिर आएको हो । हाल निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेकी रचना गौतमलाई निर्णय कार्यान्वयन गराउन आदेश दिँदै मेयर मुसलमान तथा बिदामा रहेका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले ९ जना कर्मचारीलाई हटाएर नयाँ ११ जनालाई यही साउन १ गतेदेखि हाजिर गराउन भनेका थिए ।

उक्त निर्णय वैधानिक नदेखिएपछि कार्यान्वयनको विषयमा आफूकहाँ जिज्ञासा आउँदा बल्ल रहस्य थाहा पाएको उपप्रमुख हरिजनले बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेयलाई बैठकको निर्णय पुस्तिका माग्दा नगर प्रमुखको अनुमतिविना हेर्न नमिल्ने जवाफ पाएको उनले बताइन् । साउन २ गते नगर प्रमुखसँग बैठक पुस्तिका माग्दा सँगै बसेर हेर्ने जवाफ दिएका उनले ३ गतेमात्रै कार्यालयमा उपस्थित भएर आफ्नै झोलाबाट निर्णय पुस्तिका निकालेको हरिजनले बताइन् ।

निर्णय पुस्तिका हेर्दा कुनै निर्णय नभएको तर, फर्जी निर्णयको प्रतिलिपि तयार पारेको भेटिएपछि सार्वजनिक रुपमै असन्तोष व्यक्त गरेको हरिजनले बताइन् । उनले उक्त निर्णय गलत भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी थिइन् ।

तर, नगर प्रमुख मुसलमानले उक्त विषय उपप्रमुखसँग सम्बन्धित नरहेको र आफू एक्लैले निर्णय गर्नसक्ने बताए । कर्मचारी हेरफेरको विषयमा आफूहरुले टिप्पणी उठाएको बताउँदै उनले त्यसका लागि नगरसभामा समेत प्रस्ताव लगेको दाबी गरे ।

त्यसैगरी सैनामैना नगरपालिकाका मेयर फणेन्द्र शर्माले गरेका निर्णयप्रति उपमेयर वीना रानाले सामाजिक सञ्जालमै आपत्ति जनाएकी छन् । ‘नगरपालिकाका निर्णय सहमतिविना आफूखुशी भएका छन्, यी मान्य हुने विषय होइन, कार्यपालिकामा नलगेका निर्णय मान्य हुनेछैनन्, एकलौटी गर्ने अधिकार कसैलाई छैन’, उपमेयर रानाले भनेकी छन् ।

सहमतिमा बजेट पास भए पनि नगरपालिकाका अन्य निर्णयमा मेयरले एकलौटी गर्न थालेको रानाको गुनासो छ । सैनामैनामा राना दोहोरिएर निर्वाचित भएका हुन् भने शर्मा नयाँ हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *