नेकपाको सचिवालय ब्युँताउने वामदेवको प्रस्ताव, प्रचण्ड-माधव पनि सकारात्मक – Nepal Press

नेकपाको सचिवालय ब्युँताउने वामदेवको प्रस्ताव, प्रचण्ड-माधव पनि सकारात्मक

काठमाडौं । नेकपा एकता अभियान सञ्चालन गरिरहेका वामदेव गौतम तत्कालीन नेकपाको ९ सदस्यीय सचिवालयका बहुमत सदस्यलाई एक ठाउँमा जुटाउने अभियानमा लागेका छन् ।

यही अभियानका क्रममा मंगलबार दोस्रोपटक प्रचण्ड र माधव नेपालसहितका ५ नेता छलफलमा जुटेका छन् । गौतम नेकपा एकीकृत समाजवादीमा रहेका आफू निकट नेताहरुमार्फत यो अभियानमा जुटेको खुलेको छ ।

उनी नेकपाको तत्कालीन सचिवालय ब्युँताउने शर्तमा नेकपा एसमा प्रवेश गर्ने तयारीमा रहेको र यसबारेमा माधव नेपालसँग पनि छलफल भइसकेको उनी निकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार वामदेव पहिला केशवलाल श्रेष्ठ र बलराम बास्कोटालाई बोलाएर आफ्नो आइडिया सुनाएका थिए ।

श्रेष्ठ नेकपा एसको उपाध्यक्ष छन् भने बास्कोटा स्थायी कमिटी सदस्य छन् । यो टिममा वामदेव पक्षबाट नेकपा एसका नेता हरि पराजुली पनि छन् । उनीहरु तीनैजना एमालेमा हुँदा वामदेवका सदावहार सहयोगी हुन् ।

दुई नेताले वामदेवको प्रस्ताव माधव नेपाललाई सुनाएपछि कुराकानी थालिएको र यसै सिलसिलामा पहिलो चरण हात्तीवन र दोस्रो चरण सिंहदरबारमा तत्कालीन नेकपाको अन्तरसंघर्षमा अध्यक्ष केपी ओलीविरुद्ध संगठित भएका पाँच सचिवालय सदस्यबीच भेटघाट भएको हो ।

भेटघाटमा प्रचण्ड र माधवनेपालसहित झलनाथ खनाल, वामदेव र नारायणकाजी श्रेष्ठ छन् । ओली पक्षमा रहेका तत्कालीन सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामवहादुर थापा बादल र विष्णु पौडेल एमालेमा छन् ।

नेकपाको सचिवालयका पाँच नेताहरु जम्मा भएर सचिवालय ब्युँताएपछि क्रमशः स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी पनि ब्युँताउन सकिने बुझाइ वामदेवको छ । उनले पाँच नेताको बैठकमा आफ्नो प्रस्ताव राखिसकेका छन् ।

वामदेवको मध्यस्थकर्तामध्येका एक नेताले भने–उहाँको आग्रहमा हामीले माधव कमरेडसँग कुरा गरेका हौं । त्यसपछि उहाँ आफैंले पनि सबै नेतासँग कुरा गर्नुभएको छ । उहाँको कुरा भनेको तत्कालीन नेकपाको सचिवालय ब्युँताउने र त्यसले नेकपा एकता संयोजन संयन्त्र बनाउँने भन्ने छ । त्यो संयोजन संयन्त्रको तर्फबाट बामदेवले नै अरुसँग पनि कुरा गर्ने भन्ने हो ।

गौतमले नेकपाको सचिवालय ब्युँताएपछि त्यो पार्टी एकता संयोजन समिति जस्तो हुने र आ-आफ्ना पार्टी सन्चालन हुने तथा आफूले त्यस संयोजन संयन्त्रको तर्फबाट केपी ओलीलाई पनि एकतामा ल्याउने प्रस्ताव राखेका छन् ।

ती नेताले भने– हामीले त तत्काल ओली कमरेड आउनु हुन्न भनेका छौं । तर बामदेवजी म ल्याउँछु भन्नु हुन्छ । उहाँ पार्टी दर्ताको प्रक्रियामा पनि हुनुहुन्छ । सचिवालय ब्युँताउने र एकता संयोजन संयन्त्र बनाउँने उनको प्रस्तावमा प्रचण्ड र माधव नेपाल लगायतका नेता सकारात्मक हुनुहुन्छ ।

 


प्रतिक्रिया

One thought on “नेकपाको सचिवालय ब्युँताउने वामदेवको प्रस्ताव, प्रचण्ड-माधव पनि सकारात्मक

  1. ओलीलाई पनि त्यहीं ल्याएर अनि पार्टी साधारण सदस्य समेतबाट निस्कासन गरी एमाले पार्टी हत्याउने उही पुरानो ……. को पेडा पसल खोल्न लागेछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर