‘सफा हेटौंडा अभियान’ को घोषणा, नगरवासीले हप्तामा दुई घण्टा श्रमदान गर्नुपर्ने – Nepal Press

‘सफा हेटौंडा अभियान’ को घोषणा, नगरवासीले हप्तामा दुई घण्टा श्रमदान गर्नुपर्ने

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडालाई सुन्दर तथा सफा बनाउने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले ‘सफा हेटौंडा अभियान’ को घोषणा गरेको छ । हरित हेटौंडाको नामबाट परिचित हेटौंडालाई थप सफा बनाउने उद्देश्यले अभियानको घोषणा भएको उपमहानगरपालिकाले जनाएको छ ।

अभियानअन्तर्गत प्रत्येक हप्ताको शनिबार स्थानीय नागरिकले कम्तिमा दुई घण्टा स्वःस्फुर्त श्रमदान गर्नुपर्नेछ । हेटौंडा उपमहानगरपालिकामा भएको सर्वपक्षीय छलफलमा नगर प्रमुख मीना लामाले अभियानलाई सफल बनाउन हेटौंडावासीलाई आग्रह गरेकी छन् ।

अभियानले हेटौंडालाई आफू पनि सुन्दर बनौं भन्ने भावनाको विकास गर्ने उनको धारणा थियो । अभियानमा सरसफाइसहित हरित हेटौंडा कार्यक्रमलाई अघि बढाउन वृक्षारोपणसमेत गरिनेछ ।

अभियानलाई थप सहज बनाउन प्रत्येक वडामा रहेको टोल विकास संस्थासँग समन्वय गरिने जनाइएको छ । अभियानको शुभारम्भ हेटौंडाको हुप्राचौर सरसफाइबाट हुने उपमहानगरपालिकाले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाले सफा तथा सुन्दर नगरको रुपमा पटक–पटक पुरस्कारसमेत पाएको छ । प्रदेश राजधानी भएपछि यहाँ सहरीकरणको वृद्धि, सवारीको चापसमेत बढेको छ । मधेस प्रदेशको आधा दर्जन बढी जिल्लाबाट उच्च शिक्षाको लागि मकवानपुर आउनेको संख्यासमेत बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर