किसानलाई सिँचाई सुविधा दिन नसक्ने जनप्रतिनिधि पानी पार्ने भन्दै बाँधिएर मन्दिर पुगे – Nepal Press

किसानलाई सिँचाई सुविधा दिन नसक्ने जनप्रतिनिधि पानी पार्ने भन्दै बाँधिएर मन्दिर पुगे

रुपन्देही । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्याएका छन् । लामो समयदेखि परेको खडेरीले आक्रान्त बनेका किसानले पानी पर्ने अन्धविश्वासमा यस्तो गरेका हुन् ।

पहिले यस्तै समस्या पर्दा गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगि पूजा गर्दा समस्या समाधान भएको स्थानीयको दावी छ ।

अहिले जनप्रतिनिधिलाई नै गाउँका अगुवा मानेर बाँधेर मन्दिर लगिएको हो । मल नपाएका किसान लामो खडेरी परेपछि झनै पीडामा छन् । स्वच्छ मनले पूजा अर्चना गरे लामो समयदेखि परेको खडेरी अन्त्य भइ भगवान खुसी भएर पानी पार्ने विश्वासमा यस्तो गरिएको स्थानीयको भनाइ छ ।

खडेरीमा परेका किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा यस्तो जुक्ति निकालेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए ।

आफूसहित पूर्वसांसद रामलखन हरिजन, गाउँपालिका उपाध्यक्ष बासमती चमार, वडानम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलगायतलाई गाउँलेले बाँधेर मन्दिर लगेको चौधरीले बताए । ‘किसानले हामीलाई बाँधेर मन्दिर लगे, अनि पूजाअर्चना गरे,’ उनले भने ।

चौधरीका अनुसार तीन दिनसम्म पूजा अर्चना गरी अन्तिम दिन गाउँका अगुवालाई बाँधेर बालबालिकासहित मन्दिरमा पूजाअर्चना गर्दा भगवान खुसी भएर पानी दिन्छन् ।

अन्तिम दिनमा महिलाले हलो जोत्ने, बालबालिकालाई हिलो पानीमा खेलाउने, अगुवालाई हिलो छ्याप्ने जस्ता परम्परा रहेको छ । २१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुंदै आएको पश्चिम नवलपरासीमा रोपाई सकेको लामो समय बितिसक्दा पनि पानी नपर्दा किसानले रोपेको धान सुक्न थालेको छ ।

किसानलाई सिँचाई सुविधा उपलब्ध गराउन नसक्ने जनप्रतिनिधि अन्धविश्वासको पछि लाग्दै आकाशे पानी पार्नका लागि आफैं बाँधिन तयार भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर