प्रदीप ज्ञवाली भन्छन्- एमाले चोलेन्द्रको भिक्टिम हो – Nepal Press

प्रदीप ज्ञवाली भन्छन्- एमाले चोलेन्द्रको भिक्टिम हो

राज्य विचौलियाको कब्जामा, राजनीतिका नाममा वित्तीय गठबन्धनले देश चलाएको छ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एक वर्ष सुशासनको दृष्टिले विचौलियाको कब्जामा गएको र परमादेशको आडमा असंवैधानिक र गैरकानूनी काममा सरकार नै संलग्न रहेको आरोप लगाएका छन् ।

नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले सोमबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्ने संसदीय विशेष समितिको सदस्यसमेत रहेका ज्ञवालीले सत्ता गठबन्धन राजनीतिको नाममा वित्तीय गठबन्धनमा परिणत भएको बताए ।

ज्ञवालीले भने, ‘केपी ओली नेतृत्वको सरकारलाई अदालत लगाएर विस्थापित गर्नुको उद्देश्य नै समृद्धिको प्रक्रिया रोक्नु थियो । एक वर्षको कुशासनले नेपालमा खतरनाक वित्तीय गठबन्धन भइरहेको देखाउँछ । राज्य विचौलियाको कब्जामा गएको छ । गभर्नरमाथिको हमला त्यही वित्तीय गठबन्धनको चाहना अनुसार कालो धनलाई सेतो बनाउन असहयोग गरेका कारण भइरहेको छ ।’

पूर्वमन्त्री ज्ञवालीले प्रधानन्यायाधीशमाथिको महाअभियोग अलपत्र पारे सत्ता गठबन्धनले सौदाबाजी गरिरहेको भन्दै उनी गलत भए महाअभियोग छलफला ल्याएर पारित गर्नुपर्ने बताए । उनले चोलेन्द्र शमसेर जबरालाई संरक्षण गर्नुपर्ने वा बचाउ गर्नुपर्ने बाध्यता एमालेलाई नरहेको समेत प्रष्ट पारे ।

ज्ञवालीले भने, ‘हामीले चोलेन्द्र शमसेरलाई बोक्नुपर्ने कुनै आवश्यकता छैन । एमाले त चोलेन्द्रको भिक्टिम हो । कोभिड महामारी चरम अवस्थामा रहेका बेला स्वास्थ्यमन्त्री नराख भनेर आदेश जारी गरे । ५ जना मन्त्रीले सरकार चलाऊ भन्ने यस्ता आदेशबाट भिक्टि भएका हौं । तर, गठबन्धनले जुन उद्देश्यले महाअभियोग लगायो त्यो पुष्टि हुन्न । पारित गर्नका लागि ल्याएको पनि होइन ।’

अर्थमन्त्रीमाथिको छानबिन चलिरहेकाले आफूले यसबारेमा केही नबोल्ने भन्दै ज्ञवालीले सत्यतथ्य भने बाहिर ल्याइने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर