हरियो चुरा र मेहेन्दीको धार्मिक अर्थशास्त्र – Nepal Press

हरियो चुरा र मेहेन्दीको धार्मिक अर्थशास्त्र

कुनै बेला विवाहमा मात्र लगाइने मेहेन्दी र चुराको चलन अहिले व्यापक भएको छ । चाडपर्वको मौसममा मेहेन्दीको प्रयोग नबढ्ने त कुरै भएन । झापा घर भै हाल काठमाण्डौ बस्दै आएकी सिता भटराईले हातभरी मेहेन्दी लगाएकी छिन्। त्यति मात्र हैन उनले हातमा छमछम बज्ने हरियो चुरा पनि लगाएकी छिन् ।

हेटौडा घर भै हाल कोटेश्वर बस्दै आएकी दिपा दाहाललाई श्रावण महिनामा हरियो चुरा र हातमा मेहेन्दी लगाएर हिड्न रमाईलो लाग्छ । यो बेलामा सीता र दीपाजस्ता धेरैको हात हरियो चुरा नयाँ नयाँ डिजाईनको मेहेन्दीले रंगिएको देखिन्छ ।

काठमाण्डौको धेरै जसो पार्लर, फेन्सी पसल आदि ठाउमा हिजो आज थुप्रै युवती आफ्नो हातमा मेहेन्दी सजाउँन र हरियो चुरा लगाउँन झुम्मिएको देख्न पाईन्छ । कारण बुझ्न खोज्दा उनीहरुमध्ये अधिकांशको उत्तर प्रायः एउटै हुन्छ–श्रावण महिनामा मेहेन्दी र हरियो चुरा लगाउदा शुभ हुन्छ ।

बानेश्वर बस्दै आएकी ममता श्रेष्ठ हातमा मेहेन्दी लगाउन न्युरोड मा देखिइन् । उनी मेहेन्दी तथा हरियो चुरामा सजिन मनपराउछिन् । श्रावणमा हरियो चुरा र मेहेन्दी लगायो भने आफ्नो श्रीमानको आयू बढ्ने विश्वास छ उनलाई ।

विवाहको उमेर पुगेकाहरु भने असल जीवन साथिको कामना गर्दै हातभरि हरियो चुरा र मेहेन्दी लगाउछन् । आफूले भविष्यमा असल जीवन साथी र आफ्नो ईच्छा बमोजिम श्रीमान् पाउँ भनी पार्वतीले मेहेन्दी लगाएको उल्लेख गर्दै आफुले पनि हरियो चुरा र मेहेन्दी लगाएको काठमाण्डौकी प्राप्ती न्यौपाने बताउछिन् ।

मेहेन्दीको रंग जति गाढा बस्यो सोही अनुसार विवाहित महिलाले आफ्नो श्रीमानको माया पनि त्यतिकै पाउने र अविवाहित महिलाले धेरै माया गर्ने श्रीमान् पाउने धार्मिक आस्था पनि मेहेन्दीसँग जोडिएको पाईन्छ ।

न्युरोडको बाटो बाटोमा अहिले मेहेन्दी लगाउनेको घुइँचो देख्न सकिन्छ । न्यरोडको बाटोमा मेहेन्दी लगाईदिन बसेका मोहम्मद अचेल निकै व्यस्त छन् । अरुबेला कपडाको व्यापार गर्ने मोहम्मद अहिले मेहेन्दी लगाउन व्यस्त छन् । उनले दिनमा २५ देखि ३० जना सम्मको हातमा मेहेन्दी लगाउन भ्याउछन् ।

एक जनाको एक हातमा मेहेन्दी लगाएको ३ सय रुपैया लिन्छन् । उनीजस्तै यतिबेला न्युरोड को बजारमा थुप्रै ‘कालिगढ’ महेन्दी लगाईदिन बसेको देखिन्छ। न्यरोडको असनमा रहेको इशानी कस्मेटिक पसलमा हरियो चुरा किन्नेको भिड देख्न सकिन्छ । उनको पसलमा ४० रुपैया दर्जनदेखि ५ सय रुपैया सेट पर्ने सम्मको चुराहरु छ ।

यतिबेला उनले दिनको १०० दर्जन भन्दा बढी चुरा यहि पसलबाट विक्री हुन्छन् । न्यूरोडको हरेक पसल तथा पार्लरमा अहिले चुरा किन्ने र मेहेन्दी लगाउनेको भिड उतिकै देखिन्छ । सौन्दर्य व्युटीपार्लर कमलादीका सञ्चालक रुपा श्रेष्ठ अरु बेलामा भन्दा यो समयमा हातमा चुरा र मेहेन्दी लगाउन आउनेको भिड भएपछि अहिले निकै व्यस्त देखिन्छिन् । विशेषगरी उनकोमा अहिले विवाहित भन्दा पनि अविवाहित युवतिहरु बढी चुरा र मेहेन्दी लगाउन आउँछन् ।

उनकोमा पनि झण्डै दिनमा ५० देखि ६० जनाको हाराहारीमा चुरा र मेहेन्दी लगाउन आएको बताईन् ।यतिबेला थुप्रै फेन्सी पसलहरुमा युवतीहरु हातमा चुरा र मेहेन्दीमा सजिन झुम्मिएको देख्न पाईन्छ । श्रावणदेखि तिज सम्म हरियो चुरा तथा मेहेन्दी लगाउने चलन विगत केही वर्षदेखि बढिरहेको छ यो समयमा बजारका चुरा तथा मेहेन्दी पसललाई महिलाहरुले घेरेर राख्दछन् ।

हिन्दु शास्त्रमा ६ हजार वर्ष पहिलेदेखिनै नारी सौन्दर्य बढउन मेहेन्दी र चुरा प्रयोग हुर्दै आएको कुरा उल्लेख छ । नेपालको सन्दर्भमा भने भारतको राजस्थान हुदै तराईमा बढी प्रचलित मेहेन्दीको प्रभाव अहिले देशभर फैलिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *