स्कटल्यान्डसँग नेपाल ८ विकेटले पराजित, लगातारको कमजोर ब्याटिङले यात्रा कठिन – Nepal Press

स्कटल्यान्डसँग नेपाल ८ विकेटले पराजित, लगातारको कमजोर ब्याटिङले यात्रा कठिन

काठमाडौं- विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा भएको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला घरेलु टोलीसँग ८ विकेटले पराजित हुँदै नेपालले टुंग्याएको छ। आइतबार साँझ सम्पन्न खेलमा नेपालले दिएको एक सय २९ रनको लक्ष्य स्कटल्यान्डले केवल १९ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो। स्कटल्यान्डका क्यालम म्याकलियोडले ६४ रनको पाली खेले।  कायल कोएट्जरले अविजित रहँदै ४४ रन बनाए। नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट हात पारे।

त्यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको नेपाल ३५ ओभर ५ बलमा एक सय २८ रनमा समेटिएको थियो। नेपालका आसिफ शेख ४० रन जोडेर आउट भए। विनोद भण्डारीले १३ तथा देव खनाल र रोहित पौडेलले १०/१० रन बनाए। कुशल भुर्तेलले ३ र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए। सोमपाल कामी र करन केसीले ७/७ रन जोडे। सन्दीप लामिछानेले २२ रन बनाए।  आरिफ शेखले खाता खोल्न सकेनन्।

५ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरेको थियो। नेपालले तेस्रो विकेटका लागि २७ रनको साझेदारी गरेको थियो। स्कटल्यान्डका हम्जा ताहिर एक्लैले चार विकेट हात पारे।

मार्क वाटले तीन र गाभिन मैनले दुई विकेट लिए। स्कटल्यान्डमा आयोजित यस शृंखलामा चार खेल खेल्नेक्रममा नेपालले एक जित र तीन हार ब्यहोर्‍यो। नामिबियासँगका दुवै खेल हार्‍यो भने स्कटल्यान्डसँग एक जित र एक हारको नतिजा निकाल्यो।

२० खेलबाट १७ अंक भएको नेपाल तालिकाको छैटौँ स्थानमा रहेको छ। २४ खेलबाट ३४ अंक भएको स्कटल्यान्ड दोस्रो स्थानमा बलियो देखिएको छ। प्रतियोगितामा हरेक टोलीले ३६ खेल खेल्नेछन् भने शीर्ष तीन टोली सोझै विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन्। अन्तिम चार टोलीले विश्वकपको विश्वस्तरको छनोटमा पुग्न ६ टोली सहभागी हुने प्ले अफ खेल्नुपर्ने छ। त्यस प्रतियोगिताबाट शीर्ष दुई टोली छनोटमा पुग्नेछन्।

स्कटल्यान्डमा नेपालको ब्याटिङ विर्सनलायक रह्यो। नामिबियासँग पहिलो खेलमा २ सय २१ रनको लक्ष्य पछ्याउँदा एक सय ८० रनमा समेटिएको थियो भने दोस्रो खेलमा २ सय रनको लक्ष्य पछ्याउँदा एक सय ३६ रनमा अलआउट भएको थियो। प्रतियोगितामा हालसम्म ५ वटा त्रिकोणात्मक शृंखला खेलेको नेपालले योभन्दा अघिका कुनैमा पनि तीन खेल हारेको थिएन।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर