धार्मिक पर्यटनको प्रचार गर्न ६० किलोमिटर सामूहिक साइकलयात्रा – Nepal Press

धार्मिक पर्यटनको प्रचार गर्न ६० किलोमिटर सामूहिक साइकलयात्रा

रुपन्देही । रुपन्देहीका धार्मिक पर्यटकीयस्थलको साइकलमार्फत प्रचारप्रसार अभियानका लागि बिजी बेकर्स बुटवल कोरा २०२२ आयोजना गरिएको छ । रुपन्देहीका विभिन्न क्षेत्रमा रहेका पर्यटन क्षेत्रमा पर्ने ६० किलोमिटर यात्रा उनीहरुले यो अभियानमा गरेका छन् ।

कार्यक्रमको प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराइले शुभारम्भ गर्दै साहसिक खेल साईक्लिङको सम्भावना प्रदेशमा बताए ।

साइक्लिङ प्रत्यक्ष रुपमा मानवीय स्वास्थ्य र पर्यटनसंग जोडिएको भन्दै यसतर्फ सरकारको विशेष कार्यक्रम र योजनाहरु बनाउने उनले प्रतिवद्धता जनाए । कोरा मार्फत धार्मिक, ऐतिहासिक, पुरातात्वविक स्थलहरुको प्रचारप्रसारसंगै वातावरण जोगाउने अभियानलाई सचेतना जगाउने रुपमा लैजान उनको आग्रह थियो ।

बुटवल युनाइटेड साइक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले रुपन्देहीका ह्याप्पी साइक्लिङ क्लब, तिनाउ साइक्लिङ क्लब, बुटवल साइक्लिङ ग्रुप, साइकल साथी सैनामैनाका साथै नवलपरासी जिल्ला साइक्लिङ संघको सहकार्यमा कार्यक्रम आयोजना गरिएको बताए । साइकिलेहरुको लागि दशैंको रुपमा कोरा पर्व भएको भन्दै यसबाट प्रत्येक वर्ष धार्मिकस्थलहरुको प्रचारसंगै सामाजिक सन्देश बिस्तार गर्ने अभियानका रुपमा लैजाने उनले बताए ।

दैनिक जीवनमा साइकलको बढीभन्दा बढी प्रयोग गर्नसके यसबाट मानिसको स्वस्थ्य र पर्यावरण जोगाउन योगदान दिने रुपन्देही जिल्ला साइक्लिङ संघका उपाध्यक्ष अभिषेक भारीले बताए ।कोराको मूल मर्मअनुसार सामाजिक क्षेत्रमा योगदान गर्दै आएको भेषराज गैरेले बताए । कोरा कार्यक्रम केवल साइकल इभेन्टमात्र नभई यो साइकिलेहरुका लागि ठूलो पर्व भएको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए ।

रुपन्देही जिल्ला साइक्लिङ संघका सदस्य तथा बुटवल साइक्लिङ क्लबका सदस्य स्वस्तिक श्रेष्ठले कोराको महत्व र कार्यक्रमबारे प्रकाश पार्दै कोरा बुटवलको संस्कृति बनेको दाबी गरे ।

साइकलमार्फत पर्यटन प्रवद्र्धनसंगै पर्यावरण जोगाउने पवित्र अभियानमा यस क्षेत्रका साइकिलेहरु लागेको उनले बताए । बुटवलको कालिका मानव ज्ञान माविबाट शुरु भएकोे कोरा २०२२ को यात्रा मिलनचोक, भाटभटेनी सुपर मार्केट, हिलपार्क, सिद्धेश्वरी मावि, शिवनगर सामुदायिक वन, लडियाबास, मिलनचोक, पाल्पाली टोल, भलुही, देवदह मेडिकल कलेज, भुपुसैनिक, शिवपुर, ४ नम्बर, मणिग्राम, गोरकट्टा, फर्साटिकर, कपरकट्टी ताल (मिनी फेवाताल), नरेनापुर मन्दिर, उजेलापुर, मुक्तिनाथ धाम नयाँगाउँ, बेल्बास चोक, लायन्स आँखा अस्पताल, जलबिनायक मन्दिर, दुर्गा मन्दिर पुल्चोक, गोलपार्क, ट्राफिक चोक हुँदै पुनः कालिका मावि पुगेर समापन भएको सञ्चार संयोजक स्वस्तिक श्रेष्ठले बताए ।

विश्वभर नै कोरा साइक्लिङ गरिदै आएको भन्दै उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर धेरै कार्यक्रमहरु गरिदै आएको बताए ।
यो वर्ष कोरामा रुपन्देहीका ४ र नवलपरासी जिल्ला साइक्लिङ संघसहित १ सय ५० बढी साइक्लिष्टहरु सहभागी भएको र कार्यक्रममा सहभागी सबै साइकिलेहरुलाई कोरा केन्द्रबाट उपलब्ध भएको मेडल र स्काफ वितरण गरिएको कार्यक्रमका संयोजक रबिलाल सुवेदीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *