चर्चामा मोहन बस्नेतको विद्रोहको धम्की, यस्तो छ सिन्धुपाल्चोकमा उनको शक्ति – Nepal Press

चर्चामा मोहन बस्नेतको विद्रोहको धम्की, यस्तो छ सिन्धुपाल्चोकमा उनको शक्ति

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कम्युनिष्टहरुसँग गठबन्धन आवश्यक नरहेको भन्दै गठबन्धन गरेर आफ्नो क्षेत्र माओवादीलाई छाडिए विद्रोह गर्ने चेतावानी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा स्थानीय चुनावमा जस्तै आउने संघ र प्रदेशको चुनावमा पनि गठबन्धन गरेर जाने पक्षमा छन् । गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाणले शनिबार आफ्नो धारणा राख्ने क्रममा बस्नेतलाई घुमाउरो जवाफ दिँदै माओवादी एक्लै चुनाव नलड्ने र उसलाई रोक्न सीट बाँडफाँट गर्दा जुनसुकै क्षेत्र पनि छाड्न तयार भएर बस्नुपर्ने बताए ।

तर, देउवा र खाण निकट केन्द्रीय सदस्य बस्नेतले सिन्धुपाल्चोकमा कम्युनिष्टहरुसँग गठबन्धन गर्न नहुने भनेर दिएको अभिव्यक्ति चर्चामा छ ।

गएको स्थानीय निर्वाचनमा बागमतीका धेरै जिल्लामा सत्तारुढ पाँचदलबीच गठबन्धन भए पनि सिन्धुपाल्चोकमा भएन । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये कांग्रेसले जुगल गाउँपालिकामा मात्रै माओवादी केन्द्रसँग गठबन्धन गर्‍यो ।

मेलम्ची नगरपालिकामा भने कांग्रेसले राप्रपासँग गठबन्धन गरेको थियो । त्योबाहेक सबै दलहरु सिंगल-सिंगल नै चुनावी प्रतिस्पर्धामा थिए । माओवादीले चौतारा, बलेफी र मेलम्चीमा मत संख्या थोरै भए पनि समाजवादीसँग गठबन्धन गरेको थियो । एमाले र माओवादीबीच सुनकोशी गाउँपालिकामा गठबन्धन भएको थियो ।

बस्नेत अभिव्यक्तिको अर्थ ?

२०७४ सालको प्रदेश र संघको निर्वाचनमा देशभर नै एमाले र माओवादी गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । सिन्धुपाल्चोकमा पनि दुई दल मिल्दा कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा थियो । चार प्रदेश र दुई संघीय निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा अघिल्लो चुनावमा एमाले र माओवादी मिल्दा पनि प्रतिनिधिसभा २ प्रदेशसभा (ख) मा कांग्रेसले जितेको थियो ।

केन्द्रीय सदस्य बस्नेतको १ नम्बर क्षेत्र हो । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल र केन्द्रीय सदस्य सरेश नेपालको समेत क्षेत्र यही हो । तिनै दलका ‘हेभीवेट’ उम्मेदवारका कारण पनि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ सधैँ चर्चामा रहने गर्दछ ।

अघिल्लो निर्वाचनमा एमाले र माओवादीका साझा उम्मेदवार अग्निप्रसाद सापकोटा ४० हजार ५०४ मत ल्याएर विजयी भएका थिए । बस्नेतले २९ हजार ७९८ मतमात्रै ल्याएका थिए ।

स्थानीय निर्वाचन २०७९ मा केन्द्रीय गठबन्धनअनुसार सिन्धुपाल्चोकमा पनि प्रमुख तीन दलबीच गठबन्धन गरेर जाने विषयमा पटक–पटक छलफल र बैठक भएको थियो । तर, कांग्रेस र माओवादीको अडानका कारण गठबन्धन हुन सकेन । माओवादीले १२ मध्ये दुवै दलले ६÷६ पालिका बाँड्नुपर्ने बताएको थियो । कांग्रेसले ६ पालिका माओवादीलाई दिन नसक्ने भनेपछि केन्द्रको नीतिविपरीत माओवादी र काग्रेस एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा गएका थिए ।

बस्नेत हौसिनुको कारण……..

सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये बस्नेतको क्षेत्र नं १ मा बाह्रबीसे नगरपालिकासहित ७ पालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको ६ वटा वडा रहेका छन् । कांग्रेस एक्लैले बाह्रबीसे, भोटेकोशी र त्रिपुरासुन्दरीमा प्रमुख/उपप्रमुख जितेको छ । सुनकोशी र बलेफीमा उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको छ । जुगलमा भने माओवादीसँगको सहकार्यमा उपाध्यक्ष जितेको छ ।

कमजोर रहेको भनिएको चौतारा साँगाचोकगढी नगरपालिकामा समेत दुई वडामा कांग्रेसले जीत हासिल गरेको छ । स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्ने हो भने कांग्रेस प्रस्ट अगाडि छ । यस आधारमा बस्नेतले टिकट पाए जित्ने देखिन्छ ।

क्षेत्र नम्बर १ को ५३ वडामध्ये काग्रेस ३२, एमाले १६ र माओवादी केन्द्रले ५ वटा जितेका छन् । वडाध्यक्षले पाएको मत हेर्दा कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ । त्यस्तै राप्रपाको २ हजार र नेकपा एसको १६५० मत छ ।

संघमा मात्रै होइन दुवै प्रदेशमा समेत कांग्रेस अगाडि नै छ । मत परिणमा हेर्दा आफूले जित्ने र गठबन्धन हुँदा माओवादीलाई छाड्नुपर्ने भएपछि बस्नेतले अन्य जिल्लामा गठबन्धन भए पनि सिन्धुपाल्चोकमा कम्युनिष्टसँग गठबन्धन नगर्ने अभिव्यक्ति दिएका हुन् ।

बस्नेत कम्युनिष्टहरुप्रति अनुदार नेताको रुपमा स्थापित छन् । आउने चुनावमा कांग्रेससँग गठबन्धन गर्दा अघिल्लो निर्वाचनमा माओवादीले जितेका सबै क्षेत्र आफूहरुले पाउनुपर्ने अडान माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति देउवासमक्ष राखेका छन् ।

त्यही कारण गठबन्धन हँुदा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बस्नेतले छाड्नुपर्ने देखिन्छ । बस्नेतलाई बरु काठमाडौंको कुनै क्षेत्रमा ल्याएर उठाउने चर्चा पनि कांग्रेस वृत्तमा चलेको छ । तर, बस्नेतले यसलाई ठाडै अस्वीकार गरिसकेका छन् ।

केन्द्रले ‘पेलेरै’ गठबन्धन गर्दा माओवादीबाट पुनः अग्निप्रसाद सापकोटा नै उम्मेदवार बन्ने निश्चित जस्तै छ । माओवादीको तर्फबाट अहिले पोलिटब्युरो सदस्य माधव सापकोटा ‘सुवोध’को संघीय चुनावमा उठ्ने चर्चा छ । यदि कांग्रेससँग गठबन्धन भयो भने सुवोधलाई ब्याक गराएर पुनः अग्नि नै उठ्नसक्ने प्रबल सम्भावना छ ।

कांग्रेससँग सहकार्य गर्न माओवादी पनि अनिच्छुक

कांग्रेस केन्द्रीय सदस्य बस्नेतले सहकार्य नगर्ने अभिव्यक्ति दिँदै गर्दा माओवादीका अधिकांश नेता–कार्यकर्ताहरु पनि कांग्रेससँग तालमेल गर्न नहुने अडानमा छन् । अन्य जिल्लामा जे-जस्तो भए पनि सिन्धुपाल्चोकमा एमाले र माओवादी मिलेर चुनावी प्रतिस्पर्धामा जानुपर्नेमा दुवै दलका धेरै नेता-कार्यकर्ताहरुको मत छ । वाम सहकार्यको सुरुवात जिल्ला समन्वय समितिको निर्वाचनमा समेत एमाले र माओवादीबीच भएको थियो । त्यतिबेला आउने चुनावमा समेत सहकार्य गरेर जाने दुवै पार्टीबीच लिखित सहमति भएको थियो ।

स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत हेर्दा माओवादी तेस्रो पोजिसनमा देखिए पनि उठ्ने उम्मेदवारमा मतको संख्या फेरबदल भने हुनसक्छ । माओवादीबाट युवा नेता माधव सापकोटालाई उम्मेदवार बनायो भने मत बढ्न सक्ने स्वयम् कांग्रेस-एमालेका नेताहरुले नै सार्वजनिक रुपमै चर्चा गर्ने गरेका छन् ।

कांग्रेस, एमाले र माओवादीका नेताहरु यसअघि नै जनतामाझ ‘टेस्टेड’ भएकाले मतदाताहरु अब नयाँ अनुहारप्रति आकर्षित हुनेछन् । कांग्रेस र एमालेबाट पुरानै अनुहार दोहोरिए भने नयाँ उम्मेदवारप्रति मतदाताहरुको आर्कषण बढ्न सक्ने आँकलन गरिएको छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ सभामुख अग्नि सापकोटाका कारणमात्र चर्चामा छैन । मोहन बस्नेतको विद्रोहको धम्कीले अझ चर्चामा छ । मोहनबहादुर बस्नेत यसपटकको स्थानीय चुनावबाट जिल्लामा अझ बलियो बनेका छन् भने कांग्रेसमा उनी निर्विकल्प देखिएका छन् । उनले कांग्रेसमा आफ्ना विरोधीलाई लगभग निमिट्यान्न पारिसकेका छन् । उनको विकल्पमा कोही उभिन सक्ने अवस्था पनि छैन ।

२०५६ र २०७० मा दुईपटक चुनाव जितेको र २०६४ तथा २०७४ दुईपटक हारेको बदला उनी यसपटक लिन चाहन्छन् । उनी कुनै हालतमा आफ्नो क्षेत्र गठबन्धनबाट माओवादीलाई नदिन केन्द्रीय कार्य समितिमै धम्कीपूर्ण शैलीमा प्रस्तुत भएका छन् । र, जिल्लामा उनी कम्युनिष्टलाई ह्याकुलाले मिचेरै जित्छु भन्नेमा ढुक्क छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर