विद्या भट्टराईलाई उपसभामुखमा प्रस्ताव गर्दै चौधरीले भनिन्- प्रमुख प्रतिपक्षसँग सद्भाव कायम गर्ने अवसर सरकारसँग छ – Nepal Press

विद्या भट्टराईलाई उपसभामुखमा प्रस्ताव गर्दै चौधरीले भनिन्- प्रमुख प्रतिपक्षसँग सद्भाव कायम गर्ने अवसर सरकारसँग छ

काठमाडौं । नेकपा एमालेकी सांसद शान्ता चौधरीले सभामुख र उपसभामुख दुवै पद एउटै पार्टीले राख्नु संसदीय प्रणालीको मूल्य–मान्यताविपरीत हुने बताएकी छन् । उनले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई उपसभामुखमा निर्वाचित गर्न आह्वान गरिन् ।

आज संसद बैठकमा बोल्दै चौधरीले कुनै पनि संसदीय व्यवस्थामा संसदभित्र मुख्य भूमिका निर्वाह गर्ने र सरकारलाई सजग गराउने जिम्मेवारी प्रतिपक्षको भएको बताइन् । नेपालको संविधानको धारा ९१ अनुसार सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने तथा फरक पार्टीको हुनुपर्छ भन्ने व्यवस्था उनले स्मरण गराइन् ।

चौधरीले भनिन्, ‘गठबन्धनको सरकार चलेको अवस्थामा गठबन्धनकै दुई घटकले सभामुख र उपसभामुख लिनु संवैधानिक र नैतिक हिसाबले अनुचित देखिन्छ । संसदीय व्यवस्थालाई अझै मर्यादित र व्यवस्थित बनाउन प्रमुख प्रतिपक्षको स्वाभाविक दाबी रहन्छ र हरेक हिसाबले उपयुक्त छ ।’

प्रतिपक्षको भूमिकालाई सशक्त र सम्मानित बनाउन यो व्यवस्था गरिएको भन्दै उनले एमाले उम्मेदवारलाई उपसभामुखमा निर्वाचित गराउन आग्रह गरिन् । उनले विद्या भट्टराई कुनै पनि मानेमा परिपक्व र योग्य उम्मेदवार भएको उल्लेख गरिन् ।

चौधरीले संसदीय प्रणालीको उच्चतम सम्मान गर्न आग्रह गर्दै प्रमुख प्रतिपक्षसँग सद्भावपूर्ण सम्बन्ध बनाउने यो ठूलो अवसर भएको उल्लेख गरिन् ।


प्रतिक्रिया

One thought on “विद्या भट्टराईलाई उपसभामुखमा प्रस्ताव गर्दै चौधरीले भनिन्- प्रमुख प्रतिपक्षसँग सद्भाव कायम गर्ने अवसर सरकारसँग छ

  1. यी भारतीय दलालहरूलाई उनीहरूकाे मालिक भारतले एमालेलाई एक्ल्याउ भन्ने आदेश दिएकाे छ । त्यसकाे पालना गर्नु यि दलालहरूकाे काम हाे । त्यसैले उपसभामुखमा एमालेलाई भाेट हाल्दैनन् । एउटा महा दलाल आदेश लिन भारत जाँदैछ । नेपाली जनताले यि दलाललाई चुनावमा नपछारेसम्म यिनीहरू र भारतलाई तह लगाउन सकिँदैन । त्यसैले चुनावमा यिनलाई पालिका पस्न निषेध गराैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर