पाँचदलीय गठबन्धनलाई कायम राख्ने जसपाको निर्णय – Nepal Press

पाँचदलीय गठबन्धनलाई कायम राख्ने जसपाको निर्णय

पार्टीको दुईतिहाइ आफूसँग रहेको उपेन्द्रको दाबी

काठमाडौं । विभाजित जनता समाजवादी पार्टीको संस्थापन पक्षले सत्तारुढ पाँचदलीय गठबन्धनलाई आगामी संघीय र प्रदेश चुनावसम्म निरन्तरता दिने निर्णय गरेको छ । वीरगञ्जमा सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष उपेन्द्र यादले लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई राजनीतिक स्थिरतातर्फ अगाडि बढाउन गठबन्धनको निरन्तरता आवश्यक रहेको बताए । विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई–दुईपटक संसद विघटन गरेपछि प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन आफ्नो उद्देश्यमा सफल भएको उनको विश्लेषण थियो ।

स्थानीय चुनावमा केही तीता अनुभव भए पनि मुलुकका लागि गठबन्धन अझै आवश्यक रहेको यादवले बताए । ‘आगामी निर्वाचनमा तालमेल गरेरै जाने हाम्रो निष्कर्ष छ,’ उनले भने ।

यादवले पार्टीको हितविपरीत काम गरेकाले डा. बाबुराम भट्टराईसहित ९ जनालाई कारबाही गरिएको बताए । आफूहरुसँग पार्टीको दुईतिहाइ शक्ति रहेको उनको दाबी छ ।

यादवले भने, ‘हाम्रो बैठकमा दुईतिहाइ सदस्य सहभागी भएपछि पार्टी विभाजन गर्ने उहाँको सपना चकनाचुर भएको छ ।’

उनले आफूहरुले चाहेजस्तो नागरिकता विधेयक संसदबाट पारित हुन लागेको भन्दै खुशी व्यक्त गरेका थिए । यस विधयेकमा बाबुआमाले जुनसुकै नागरिकता पाएको भए पनि छोराछोरीले वंशजकै नागरिकता पाउने व्यवस्था गरिएको यादवको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर